site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वैदेशिक सहायतामा दोहोरो चरित्र दलहरूबाट अन्त्य हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा हुँदा एउटा, बाहिर हुँदा अर्को नीति हुने दोहोरो चरित्र राजनीतिक दलबाट अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले गरेको नेपालमा वैदेशिक लगानीको अवस्थाबारेको छलफलमा महामन्त्री थापाले कांग्रेसले सरकारमा हुँदा र बाहिर हुँदा समान धारणा राख्दै आएको बताए ।

“वैदेशिक नीति र सहायताका सवालमा हामीले लिएका नीति वा अडान कांग्रेस सरकारमा हुँदा होस् वा बाहिर हुँदा होस् हाम्रो नीति बदलिएको छैन,” थापाले भने, “सरकारमा हुँदा एउटा बाहिर हुँदा अर्को धारणा राख्दैनौँ, अरु पार्टीहरूलाई पनि यसमा प्रस्ट हुन आग्रह गर्छौँ ।”

उनले दाताहरूका आफ्ना स्वार्थ हुने भन्दै ती स्वार्थ नेपालको राष्ट्रिय स्वार्थसँग नबाँझिने गरी ग्रहण गर्नुपर्ने बताए । उनले नेपाललाई चाहिएको लगानी एउटै एजेन्टबाट लिनु पनि नहुने बताए । “डोनरहरूका पनि आफ्ना स्वार्थ हुन्छन् । तर, हाम्रो देशको अहिलेको स्वार्थ हो छोटो समयमा बढीभन्दा बढी लगानी भित्र्याउने र छिटोभन्दा छिटो परिणाम दिने, त्यो स्वार्थसँग मिल्ने गरी सहयोग लिने हो,” थापाले भने, “हामीलाई स्रोत र साधन चाहिएको छ । त्यो स्रोतसाधन एउटा मात्र ठाउँबाट लिएर हुँदैन ।”

उनले प्रा. डा. गोविन्दराज पोखरेल नेतृत्वको आर्थिक नीति तथा यो जना विभागले गरेको छलफलले थप छलफल माग गरेको भन्दै वैदेशिक सहायताको पारदर्शीता र यसको उपयोगिताबारे थप छलफल हुने बताए ।

“ऋण लिएर घिउ खानु हुँदैन भनेजस्तै हाम्रो अपेक्षा के थियो, उद्देश्य प्राप्त गर्न सकेउ वा सकेनौँ भनेर छलफल आवश्यक हुन्छ,” थापाले भने, “अदृश्य रूपमा आइरहेको सहयोगका विषयमा पनि प्रस्टता आवश्यक हुन्छ भन्ने छ । यसमा हामी प्रष्ट हुनै पर्छ ।”

उनले राजनीतिक लाभका लागि बहसहरू बरालिँदा देशको विकास र लगानी भित्र्याउने कुरा पछि परेको भन्दै त्यस्तो हुन नदिन साझा सहमति र स्पष्ट नीति बनाउनेपर्ने उनको धारण थियो । “हिजो जुनखालको अनुदान आएको थियो, आज छैन । तर, नयाँ आएका छन्,” थापाले भने, “हामी सरकारमा रहेका र बाहिर रहेका दलहरूलाई पनि बसेर खुल्ला रूपमा छलफल गरौँ ।”

उनले ०७६ सालमा ल्याइएको अन्तराष्ट्रिय/वैदेशिक सहायता नीति रहेको भन्दै सरकारमा हुनेले पनि त्यो नीति मान्ने र सरकार बाहिर हुनेले पनि मान्ने बनाउनुपर्ने बताए । “त्यो नीति बनाउँदा हामी सरकारमा थिएनौँ । त्यसमा बरु संसद्मा जमेर छलफल गरौँ, तर सरकारमा हुँदा र बाहिर हुँदा फरक मुद्दामा उभिन बन्द गरौँ,” थापाले भने, “साझा प्रतिबद्धता भएन भने सरकारमा हुने दल डराउँछ । राजनीतिक दलले वैदेशिक सहायताबाट प्राप्त गर्ने उपलब्धिभन्दा राजनीतिक क्षति ज्यादा हुन्छ भने त्यसबाट हात झिक्ने जोखिम हुन्छ ।”

उनले कर्मचारी प्रशासनमा पनि निर्णय गर्दा विवादित हुने र छानबिनमा तानिने हुँदा जोखिम नमोल्ने बरु निर्णय नगर्ने प्रवृति देखिएको भन्दै नीतिगत प्रष्टताले त्यस्तो अवस्था रोक्नुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro