site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फेरि भैरहवा उडान भर्दै अन्तर्राष्ट्रिय विमान कम्पनी

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा)मा भिजिबिलिटी समस्याका कारण उडान रोकेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले फेरि उडान सुरु गरेका छन् । भैरहवामा यसअघि कात्तिकमा उडान सुरु गरेका कम्पनीले भिजिबिलिटी कम भएको कारण देखाउँदै उडान रोकेका थिए ।

फ्लाई दुबईले १३ जनवरी (पुस २९) बाट उडान सुरु गरेको छ । फ्लाई दुबईले डिसेम्बर १५ देखि उडान रोकेको थियो । फ्लाई दुबईले पुस २९ देखि दैनिक एक उडान सुरु गरेको नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । 

उनका अनुसार, फ्लाई दुबईले १३ तारिकबाट दैनिक एक फ्लाइट गरिरहेको छ । ३१ जनवरीबाट जजिराले पनि सुरु गर्दै छ । फेब्रुवरी १ देखि थाई एयर एसियाले हप्ताको तीनवटा फ्लाइट गर्ने तयारी छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १० घन्टा बन्द गरी विमान कम्पनीलाई भैरहवा विमानस्थलमा उडान गर्न क्यानले सर्कुलर गरेको थियो । कात्तिक २३ गतेदेखि विमानस्थल बेलुका १० देखि बिहान ८ बजेसम्म बन्द गरेर स्तरोन्नतिका काम भइरहेको छ । त्रिविबाट ३० प्रतिशत उडान कटौती भएपछि जजिरा, थाई एयर एसिया, कतार एयरवेज, फ्लाई दुबई र नेपाल एयरलाइन्सले भैरहवा विमानस्थलबाट उडान सुरु गरेका थिए ।

कतार एयरवेजले १५ दिन उडानपछि भैरहवामा निरन्तरता दिएन । अन्य कम्पनीले उडान गरे पनि पुसको सुरुवातसँगै भिजिबिलिटीको कारण देखाउँदै रोकेका थिए ।

थाई एयर एसियाले पूर्ण रूपमा उडान नरोकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । “थाई एयर एसियाले पूर्ण रूपमा उडान रोकेको थिएन । फ्रिक्वेन्सी केही कम गरेको थियो । २/३ हप्तामा एउटा गर्दै आइरहेको थियो । कतारले फ्लाइट नै झिकेको हो । जजिरा र फ्लाई दुबईले रोकेका थिए, फ्लाई दुबई त सुरु भयो, जजिरा तयारीमा छ,” उनले भने । 
कतार एयरवेजले भैरहवाबाट पुनः उडान गर्ने विषयमा कुनै प्रतिक्रिया नदिएको सूचना अधिकारी भूल बताउँछन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले मंसिरसम्म तयार पारेको तथ्यांकअनुसार स्तरोन्नतिको काम ३४ प्रतिशत सकिएको छ । ट्याक्सी वे, पार्किङ एप्रोन र ह्यांगर निर्माणका काम समग्रमा मंसिरसम्म ३४.३३ प्रतिशत काम सकिएको छ ।
मन्त्रालयका अनुसार, पार्किङ एप्रोनको ४८ प्रतिशत निर्माण सकिएको छ । यस्तै, ट्याक्सी वेको निर्माण ३२ प्रतिशत सकिएको छ । ह्यांगर एप्रोनको निर्माण २३ प्रतिशत सकिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिसँगै हुने उडान कटौतीका लागि भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले गौतम बुद्ध र पोखरा विमानस्थल सञ्चालनका लागि प्याकेज समेत ल्याएको थियो । 

हवाई टिकटमा भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाई सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्यान्डिङ, नेभिगेसन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुटलगायत कार्ययोजना ल्याएको थियो । 

साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो । भैरहवातर्फ केही उडान कम्पनी गए पनि पोखरातर्फ विमानस्थलतर्फ भने हालसम्म कुनै पनि अन्तराष्ट्रिय कम्पनीले नियमित उडान गरेका छैनन् । 

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्न क्यानबाट कुनै समस्या नरहेको गौतमबुद्ध महाप्रबन्धक तिवारी बताउँछन् । “हाम्रोबाट कुनै पनि विमान उडान र अवतरण गर्नुमा केही समस्या छैन,” उनले भने, “श्रम भिसा सेन्टरलगायत केही सुविधा स्थापना भए उडान दीर्घकालीन हुन्छ ।” भैरहवाबाट यात्रु नै नपाएपछि कतारले १५ दिन मात्रै उडान गरेको थियो ।
 
भिजिबिलिटी र हुस्सुले समस्या गरेपछि समाधान गर्न रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइज्ड रिक्वायरमेन्ट (आरएनपीएआर) प्रणाली सञ्चालनमा ल्याउन लागेको छ ।  भैरहवामा जनवरी २३ (माघ १०) देखि आरएनपीएआर प्रविधि लागु गर्ने तयारीमा छ । 

आरएनपीएआर जडानपछि ९ सय भिजिबिलिटी हुँदा पनि उडान/अवतरण गर्न मिल्ने महाप्रबन्धक तिवारी बताउँछन् । हाल १८०० मिटर भिजिबिलिटीमा उडान/अवतरण हुने गरेको छ । आरएनपीएआर प्रविधि जडान भएपछि विमान कम्पनीका पाइलटहरूलाई तालिम, कम्पनीहरूको अनुमतिलगायत विषय बाँकी रहँदा दुई महिना लाग्ने तिवारी बताउँछन् । 

“विमान कम्पनीहरूले चासो देखाउनुपर्‍यो, पहिला त । यसको परीक्षण पनि गर्नुपर्ने हुन्छ । प्रकाशित भएपछि उडान कम्पनीहरूले पनि टेस्ट गर्ने भए । यसकारण केही समय लाग्छ,” उनले भने । 

गौतम बुद्ध विमानस्थलमा अहिले भीओआरडीएमई प्रणाली अनुसार उडान/अवतरण भइरहेको छ । यसमा न्यूनतम भिजिबिलिटी १८०० मिटरसम्म आवश्यक पर्छ ।

माघ १० देखि आरएनपीएआर प्रणाली लागु गरेर भए पनि भैरहवा विमानस्थल दीर्घकालीन सञ्चालन गर्ने क्यानको तयारी छ । पोखरा र भैरहवा विमानस्थल हाल घाटामा सञ्चालन भइरहेका छन् । 

गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड र पोखरा विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड खर्च भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति ऋण अनुदानमा परिणत गर्न आग्रह गर्न अर्थ मन्त्रालयले चिनियाँ पक्षलाई पत्र समेत लेखेको छ । तर, चिनियाँ पक्षले जवाफ दिएको छैन ।

पोखरा विमानस्थलका लागि सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दर अनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (एक अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो । 

पछिल्लोपटक परराष्ट्रमन्त्री आरजु राणासँग चिनियाँ पक्षले पोखरा विमानस्थल सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro