site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसरी परेका थिए चिनियाँ नागरिक अपहरणमा (भिडियोसहित)

काठमाडौं । भारतीय नागरिकको बैंक खाता दुरुपयोग भएपछि चिनियाँ व्यक्ति अपहरणमा परेको खुलेको छ । चिनियाँलाई अपहरण गर्ने चार भारतीयलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार (हिजो) साँझ मकवानपुरको भीमफेदीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ३३ वर्षीय आशुतोष दत्तात्रय थोरत, सोही ठाउँका अमोल खर्माते, युनुस सेख र अम्बादास सिरसत छन् । चिनियाँ नागरिकले बैंक खाता दुरुपयोग गरेकाले अपहरण गरेको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन् । उनीहरूमाथि प्रहरीले अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान थालेको छ ।

गएको पुुस २९ गते भारतबाट काठमाडौं आएका उनीहरूले मंगलबार साँझ ठमेलबाट चिनियाँ नागरिक यो हुन चुनलाई अपहरण गरेका थिए । उनी ठमेलको एक चिनियाँ रेस्टुरेन्टको म्यानेजर हुन् ।

भारतीय समूहले नै नेपाल ल्याएको महाराष्ट्रको १६ डीसी ४९०४ नम्बरको सेतो कारमा जबरजस्ती राखेर ती चिनियाँ नागरिकलाई भारततर्फ लैजान खोजिएको थियो । ठमेलबाट गाडीमा राखेर उनलाई मकवानपुर हुँदै भारत पुर्‍याउन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतीयले चिनियाँ नागरिकले अनलाइनबाट आफ्नो बैंक एकाउन्ट दुरुपयोग गरी रकम ठगी गरेको भन्दै त्यो फिर्ता मागेका प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीका अनुसार, विभिन्न भारतीयलाई ‘स्क्याम’मा पारेर ती चिनियाँ नागरिकले पक्राउ परेकाहरूको बैंक खातामा रकम ट्रान्सफर गर्न लगाउने धन्दा चलाएका थिए । तर, भारतीय नागरिक नै ठगीएको उजुरी महाराष्ट्र प्रहरीमा परेपछि चिनियाँ नागरिकको खोजीमा उनीहरू नेपाल आएका थिए ।

थाइल्यान्ड र नेपालमा बसेका चिनियाँ नागरिकले सुरुमा उनीहरूलाई प्रभावमा पारेर बैंकको रकम ‘ट्रान्जेक्सन’ गर्न मात्र खाता मागेका थिए । केही रकम कमिसन पाउने लोभमा उनीहरूले चिनियाँ नागरिकलाई आफ्नो बैंक एकाउन्ट दिएका थिए । अनलाइन ठगी गरेको रकम चिनियाँ नागरिकले पनि उनीहरूको खातामा पठाउन थाले । त्यसपछि उनीहरूविरुद्ध नै महाराष्ट्र प्रहरीमा उजुरी परेको थियो ।

चिनियाँ नागरिकले भने ठमेलमा बसेर आफूले रेस्टुरेन्ट मात्र सञ्चालन गरेको, अनलाइन ठगीमा कुनै संलग्नता नरहेको जिकिर गरेका छन् । भारतीय नागरिकले झुक्किएर आफूलाई अपहरण गरेको उनले प्रहरीसामु बताएका छन् ।

अनलाइन ठगीका मुख्य योजनाकार चिनियाँ नागरिक भने थाइल्यान्डमा रहेको खुलेको छ । थाइल्यान्डमा रहेका चिनियाँले नै पक्राउ परेका भारतीयलाई काठमाडौंमा आफ्नो मान्छे रहेको भनेर भेट्न पठाएको खुलेको छ ।

भारतीय नागरिक पक्राउ परेपछि चिनियाँ भीमफेदीको जंगलतर्फ भागेका थिए । बुधबार उनी प्रहरी सम्पर्कमा आएका छन् । उनीसहित दुई चिनियाँ नागरिकमाथि समेत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro