site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा युद्धविराम सम्झौताको नजिक इजरायल र हमास, के हुन सक्छन् सर्त ?

काठमाडौं । गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइ गर्ने सम्झौताका सर्तहरूलाई अन्तिम रूप दिइँदै छ । युद्धविराम गर्ने सम्बन्धमा भइरहेको वार्ता नियालिरहेका एक प्यालेस्टिनी अधिकारीले यो जानकारी दिएका हुन् ।

यो खबर यस्तो समयमा आएको छ, जब अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौता अन्तिम चरणमा पुगेको र उनको प्रशासनले यस विषयमा काम गरिरहेको बताएका छन् । एक इजरायली अधिकारीले न्युज एजेन्सी रोयटर्सलाई भने, “वार्ता अन्तिम चरणमा छ र केही घण्टा वा दिनमा सम्झौता हुन सक्छ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र सोमबार वार्ताको मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमद अल–थानीसँग कुरा गरेका थिए ।

Dabur Nepal
NIC Asia

एक प्यालेस्टिनी अधिकारीले बताएअनुसार, हमास र इजरायली अधिकारीहरू सोमबार एउटा भवनमा वार्ता गरेका थिए । सम्झौता सम्भावनाबारे जानकारी दिँदै ती प्यालेस्टिनी अधिकारीले भने, “यस विषयसँग सम्बन्धित विस्तृत प्राविधिक मुद्दाहरूमा छलफल गर्न धेरै समय खर्च भयो ।”

सम्भावित युद्धविरामका सर्तहरू
सम्झौताको पहिलो दिन हमासले तीन जना बन्धकहरूलाई रिहा गर्नेछ । त्यसपछि इजरायलले बस्ती भएको क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउन सुरु गर्नेछ । दुवै पक्ष यी कुरामा सहमत भएका छन् । 

सात दिनपछि हमासले अन्य चार बन्धकलाई रिहा गर्नेछ । इजरायलले दक्षिणी क्षेत्रका विस्थापित मानिसहरूलाई उत्तर फर्कन अनुमति दिनेछ । तर, तिनीहरू तटीय सडकबाट हिँडेर मात्र फर्कन सक्नेछन् ।

सलाह अल–दिनको बाटो हुँदै कार, जनावरले तान्ने सवारी साधन र ट्रकहरूलाई गुड्न अनुमति दिइनेछ । कतार र इजिप्टका प्राविधिक सुरक्षा टोलीले एक्स–रे मेसिनको सहयोगमा यसको निगरानी गर्नेछन् ।

युद्धविराम सम्झौतामा इजरायली सेनाहरू फिलाडेल्फी करिडोरमा रहने, ४२ दिनको पहिलो चरणमा पूर्वी र उत्तरी सिमानामा ८०० मिटरको ‘बफर जोन’ कायम राख्ने प्रावधान समावेश छ ।

सम्झौताअन्तर्गत, इजरायलले एक हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न पनि सहमति जनाएको छ । जसमा १५ वर्ष वा सोभन्दा बढी समयदेखि जेल सजाय भोगिरहेका करिब १९० कैदी पनि समावेश गरिनेछ ।

बदलामा, हमासले ३४ जना बन्धकलाई रिहा गर्नेछ । यस युद्धविराम सम्झौताको दोस्रो र तेस्रो चरणको वार्ता पहिलो चरणको १६औँ दिनमा सुरु हुनेछ ।

इजरायलमा नेतान्याहूको विरोध
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ‘यस हप्ता’ सम्झौता हुन सक्ने बताए । अमेरिकी राष्ट्रपति कार्यालयमा राष्ट्रपति जो बाइडेनको यो अन्तिम हप्ता हो ।

जेक सुलिभानका अनुसार युद्धविरामका लागि बाइडेनले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल–सिसीसँग पनि कुरा गर्नेछन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफले पनि दोहाको भ्रमण गरेका थिए । यदि जनवरी २० मा आफूले पदभार ग्रहण गर्नुअघि बन्धकहरूलाई रिहा गरिएन भने ‘सबै ध्वस्त हुने’ चेतावनी ट्रम्पले पहिले नै दिएका थिए ।

इजरायली विदेशमन्त्री गिदोन सारले पत्रकारहरूलाई वार्तामा प्रगति भएको र सम्झौता ‘पहिलेभन्दा धेरै राम्रो’ हुन गइरहेको बताएका छन् ।

पछिल्ला घटनाक्रमहरू यस्तो समयमा भएका छन्, जतिबेला नेतान्याहूले आफ्नो सत्तारूढ गठबन्धन भित्रैबाट सम्भावित सम्झौताको कडा विरोधको सामना गरिरहेका छन् ।

नेतान्याहूको आफ्नै लिकुड पार्टीका केही सदस्यहरू, साथै १० जना दक्षिणपन्थी सदस्यहरूले सम्भावित युद्धविरामको विरोध गर्दै उनलाई पत्र पठाएका छन् ।

इजरायल–हमास युद्धमा हजारौँको मृत्यु
गाजाको नागरिक सुरक्षा एजेन्सीले युद्धविरामका लागि वार्ता चलिरहेको बेला सोमबार गाजा सहरमा इजरायली हवाई आक्रमणमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ ।

“उनीहरूले विद्यालय, घर र मानिसहरूको भिडमा समेत बम खसाए,” नागरिक सुरक्षा एजेन्सीका महमुद बसलले न्युज एजेन्सी एएफपीलाई बताए ।

अर्कोतर्फ, इजरायली सेनाले यी रिपोर्टहरूको अनुसन्धान गरिरहेको बताएको छ । यसबाहेक, सेनाले सोमबार गाजापट्टीको उत्तरमा पाँच सैनिक मारिएको बताएको छ ।

इजरायल र हमासबीचको यो युद्ध ७ अक्टोबर २०२३ बाट सुरु भएको थियो । दक्षिणी इजरायलमा हमासको आक्रमणपछि युद्ध सुरु भएको थियो । यस आक्रमणमा एकहजार २०० जना मारिएका थिए र २५१ जनालाई हमासले बन्धक बनाएको थियो ।

प्रतिक्रियास्वरूप इजरायलले गाजामा हमासविरुद्ध सैन्य आक्रमण सुरु गरेको थियो । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, यी आक्रमणहरूमा ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । 

गाजामा अझै पनि ९४ जना बन्धक रहेको दाबी इजरायलको छ । जसमध्ये ३४ जनाको मृत्यु भएको आशंका गरिएको छ । यसबाहेक युद्धअघि अन्य चार इजरायलीहरूलाई पनि अपहरण गरिएको थियो, जसमध्ये दुईको मृत्यु भइसकेको छ । 

(बीबीसीबाट भावानुवाद) 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro