site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिनेमा बनाउने तर हेर्न जाने बाटो आफैँ छेक्ने ?

काठमाडौं । सिनेमा बेच्न नजानेको नेपाली मेकरलाई आरोप लगाइने गरिन्छ । सिनेमा बनाएर मात्र हुँदैन, बेच्न पनि जान्नुपर्ने र त्यो कला नेपाली निर्देशक र निर्मातामा नरहेको टिप्पणी हुँदै आएको छ ।

चलचित्र पब्लिसिटीको तौरतरिका मेकरमा नरहेको भन्दै आलोचना हुने गरेको छ । पब्लिसिटी कमजोर हुँदा कतिपय राम्रा चलचित्र पनि ओझेलमा पर्ने गरेका छन् ।

नेपाली चलचित्रको पब्लिसिटी सामान्यतया पछिल्लो समय डिजिटल पोस्टर, सार्वजनिक ठाउँमा एकाध होर्डिङ बोर्ड, टिजर, ट्रेलर, गीत र सञ्चारमाध्यममा अन्तर्वार्ता हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

केही मेकरले सिनेमा रिलिजभन्दा अगाडि मोफसलका मुख्य सहरमा गएर पत्रकार सम्मेलन गर्ने, हल भिजिट गरेर दर्शक भेट्ने, केही विद्यालयमा विद्यार्थीलाई भेट्ने तथा कार्यक्रम गर्ने गरेका छन् ।

पब्लिसिटीको यो फर्म्याट पुरानो भइसक्यो । तर, यसलाई विस्थापित गर्ने अथवा योभन्दा प्रभावकारी पब्लिसिटीको अर्को तरिका देखापरेको छैन ।

सिनेमाका भएकै कन्टेन पनि मेकरले राम्रोसँग प्रस्तुत गर्न सकेका छैनन् । टिजर र ट्रेलर कसरी काट्ने, कसरी टिजर र ट्रेलरलाई प्रभावकारी बनाउने भन्नेमा मेकरले धेरै ख्याल नगरेको चलचित्रकर्मी स्वयं स्वीकार गर्छन् ।

टिजर, ट्रेलर र गीत राम्रो भए त्यसले चलचित्रको हाइप बढाउँछ । जति राम्रो हाइप बन्यो, त्यति नै सिनेमाको बिजनेस उच्च हुने सम्भावना हुन्छ । तर, यसमै कतिपय निर्देशक तथा निर्माता चुक्छन् ।

पारिवारिक सिनेमा बनाउने तर हलमा सपरिवार आउने वातावरण नबनाउने मेकर थुप्रै छन् । पारिवारिक सिनेमा बनाएपछि परिवारलाई हलसम्म कसरी लैजाने भन्नेमा मेकर गम्भीर हुनुपर्नेमा चलचित्रकर्मी नै जोड दिन्छन् ।

पारिवारिक चलचित्र बनाउने तर टिजर र ट्रेलरमा भरपुर भद्दा र छाडा संवाद तथा दृश्य राखेर दर्शक हलमा तान्न सकिँदैन । यस्तै दृश्य र संवाद ट्रेलरमा बग्रेल्ती देखिइरहेका छन् । जबकि, तिनै मेकर चलचित्र हेर्न दर्शकलाई अपिल गर्ने सबैभन्दा सशक्त माध्यम टिजर, ट्रेलर र गीतलाई मान्छन् ।

नेपाली समाज त्यति धेरै ओपन पनि भइसकेको छैन, ताकि छाडा संवाद भएका टिजर र ट्रेलर हेरेर हलमा परिवार एकसाथ सिनेमा हेर्न जाऊन् । निर्देशक सुवर्ण थापा बुवाछोरी, आमाछोरा वा परिवारका सबै सदस्य भद्दा संवाद र दृश्य भएका चलचित्र सँगै बसेर कमै हेर्ने बताउँछन् ।

यो यथार्थलाई मेकरले बुझ्न आवश्यक छ । युवापुस्ता मात्र लक्षित चलचित्र हो भने यसमा प्रश्नचिह्न उठाइरहनु परेन होइन, पारिवारिक सोसल ड्रामा भए ख्याल गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

कुनै ठाउँ वा जातिविशेषमा बोलिन्छ पनि होला, तर व्यावसायिक प्रयोजनका निम्ति चलचित्र बनाएर हलमा लगिसकेपछि त्यो देशभरका दर्शकका लागि हो । पूर्वी नेपालको लिम्बू समुदायको कथा भन्ने चलचित्र ‘जारी’ कोसी प्रदेशका अडियन्सका निम्ति मात्र बनाइएको होइन ।

‘कर्णाली’को कथा भन्ने ‘बुलाकी’ कर्णालीका दर्शकका लागि मात्र निर्माण गरिएको होइन । त्यसैले मेकरले पनि फराकिलो भएर सोच्नुपर्छ । ‘जारी’मा उपेन्द्र सुब्बाले लिम्बू समुदायमा बोलिने सबै अश्लील शब्द प्रयोग गरेका छन् र ? गरेको भए परिवारका सदस्य सँगै बसेर हेर्ने वातावरण बन्दैन थियो । फलतः यो चलचित्रले जति सफलता प्राप्त गर्‍यो, सायद त्यति हुँदैन थियो कि !

भाषाभाषीको चलचित्र, सम्बन्धित भाषामै बनाइएको र त्यही समुदायका लागि मात्र सीमित स्क्रिनिङ गर्ने भए त्यो फरक भयो, यसमा बहसको आवश्यकता नै भएन ।

नेपाली मेकरमा दर्शक उपभोक्ता हुन् र उनीहरूलाई जे दियो त्यही उपभोग गर्छन् भन्ने मनोविज्ञान रहेको निर्देशक मनोज पण्डित टिप्पणी गर्छन् । मनोरञ्जनमार्फत कस्तो मनोविज्ञान निर्माण गर्ने भन्नेमा निर्देशक तथा निर्माता प्रस्ट नरहेको उनको बुझाइ छ । 

“हामीले जे दियो त्यो दर्शकले हेर्ने हो भन्ने मेकरको मनोविज्ञान छ । मनोरञ्जनमार्फत कस्तो मनोविज्ञान निर्माण भइरहेको छ भन्ने हेक्का मेकरमा छैन,” मनोज भन्छन्, “मेकरको मनोविज्ञान कसरी प्रस्तुत भइरहेको छ भन्ने उनीहरूका चलचित्रबाट प्रस्ट देखिइरहेको छ ।”

मेकरको मनोविज्ञानले के विषयलाई मलजल गरिरहेको भन्नेमा चलचित्रकर्मी सचेत हुनुपर्ने उनको धारणा छ । दर्शक र सिनेकर्मीको सम्बन्ध नेपालमा कहिल्यै सम्मानजनक नरहेको उनी सुनाउँछन् । दर्शकलाई सम्मान गर्ने संस्कार नेपाली मेकरमा नरहेको मनोजको आरोप छ । 

“दर्शकले के बुझ्छ र ? हामीले जे दियो त्यही नै हेर्ने त हो भन्ने हेपाहा प्रवृत्ति छ । दर्शकले केही बुझ्दैन भन्ने मानसिकताबाट काम भइरहेको छ,” मनोज अगाडि थप्छन्, “दर्शकप्रति मेकर संवेदनशील छैनन् । नेपाली समाज, परिवेश, उनीहरूको संस्कार र भाषाको जानकारी छैन । दर्शकलाई न्याय गर्नुपर्छ भन्ने सोच छैन ।”

दर्शकले केही बुझ्दैन र जे देखाइदिए पनि चुपचाप हेर्छन् भन्ने मनोविज्ञान पालेर बस्दासम्म सिनेमाको स्तर उकालो नलाग्ने उनको निष्कर्ष छ ।

निर्देशक सुवर्ण थापा सिनेमा मेकरले समाजको मनोविज्ञान नबुझ्दा कतिपय अवस्थामा निर्देशक र निर्मातालाई नै समस्या भइरहेको बताउँछन् । पञ्चलाइन भएका डाइलग चाहिन्छ भनेर मेकरले सोच्दा कतिपय अश्लील संवाद टिजर र ट्रेलरमा अनावश्यक रूपमा आइरहेको उनको भनाइ छ ।

“केही मेकर यसमा सचेत पनि हुनुहुन्छ, त्यसैले सबैलाई भन्न मिल्दैन । तर, पञ्चलाइन भएका डाइलग नभएसम्म दर्शकको ध्यान खिच्न सकिँदैन भन्ने सोचले संवाद तोडमोड गरेर अश्लील बनाएको देखिन्छ,” सुवर्ण प्रस्ट पार्छन्, “कतिपय टिजर र ट्रेलरमा क्लिष्ट शब्द राखेको पाइन्छ, जुन आफैँमा राम्रो होइन ।” 

पारिवारिक चलचित्रमा अश्लील संवादले दर्शकलाई सिनेमा हेर्न अपिल नगर्ने उनको बुझाइ छ । यसले उल्टो नकारात्मक असर गर्ने सुवर्णको तर्क छ । नेपाली समाज, परिवेश, भाषासंस्कृति र संस्कार फरक–फरक रहेकाले त्यसलाई ध्यान दिनुपर्नेमा उनको जोड छ । 

‘मनसरा’को ट्रेलरका केही संवादले त्यो चलचित्रलाई नै नकारात्मक असर गरेको उनी बताउँछन् । सम्भावना बोकेका र राम्रा चलचित्रको पनि डाइलग र संवादमा ख्याल गर्न नसक्दा हलमा दर्शकको संख्या घट्ने सुवर्णको भनाइ छ ।

अश्लील संवाद र इन्टिमेट सिनले पारिवारिक चलचित्रको व्यापारमा नकारात्मक असर गर्ने उनको निष्कर्ष छ । “अरूको कुरा गरिरहँदा म आफैँले आफ्नो कुरा पनि गर्नुपर्छ,” सुवर्ण भन्छन्, “मेरो चलचित्र राधामा मुख्य दुई कलाकारको इन्टिमेट सिन थियो । पारिवारिक चलचित्र भएकाले अप्ठ्यारो लागेर मैले त्यसलाई ब्ल्याक एन्ड ह्वाइट गरेको थिएँ ।”

पारिवारिक सिनेमा भए सुरुमै अनावश्यक अश्लील संवाद राख्न नहुने उनको धारणा छ । स्क्रिप्ट लेख्दा नै त्यसमा ध्यान दिनुपर्ने उनी बताउँछन् । “पछि सेन्सरमा पुगेपछि हटाउनुपर्ने वा बिप हाल्नैपर्छ भनेर अगाडि नै थाहा छ भने स्क्रिप्ट लेख्दा नै त्यसको विकल्प खोज्नुपर्छ,” उनी अगाडि थप्छन्, “अहिले मैले सुरुमै त्यस्ता शब्द नराखौँ भनेर स्क्रिप्टमै वैकल्पिक शब्दहरू खोज्ने गरेको छु ।”

सिनेमा हलमा बजाइने/देखाइने ट्रेलरमा पनि सेन्सर आवश्यक रहेकामा उनी जोड दिन्छन् । “ए सर्टिफिकेट पाएका सिनेमाको ट्रेलर यू सर्टिफिकेट पाएको पारिवारिक सिनेमा हेर्ने गएका बालबालिकाले पनि हेर्नुपर्ने बाध्यात्मक अवस्था छ,” सुवर्ण अगाडि थप्छन्, “हलमा चलचित्र हेर्न बच्चाहरू गइरहेका हुन्छन्, तर एडल्ट सर्टिफिकेट पाएका चलचित्रका ट्रेलर निर्बाध बजिरहेका हुन्छन् । त्यसैले ट्रेलर पनि सेन्सर गर्नुपर्ने आवश्यकता छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro