गीत अर्थात् मेरी केटी साथी । अझ क्लियर्ली भनूँ, मेरा तीनवटी केटी साथीमध्येकी एक । भनिसकेँ– नाम हो, गीत । गीतले आफ्नो नामको सार्थकता सिद्ध गरेको लाग्छ । उसले एउटा सफल गीतकारले झैँ आफूलाई आफ्ना समस्त सुख–दुःख, आशा–निराशा, विरह–मिलनको मनोभावसहित विद्यमान राखेको महसुस हुन्छ मलाई ।
एउटा सफल गीतकारले झैँ उसले आत्मनिष्ठ वैयक्तिक भावनालाई पल्लवित तथा पुष्पित गरी आफूलाई सिर्जित गरेको ठान्दछु म । यो मेरो भ्रम पनि हुनसक्छ । तर, मैले आफ्नो जीवनमा उसलाई जे जति बुझेको छु, जानेको छु, त्यसको आधारमा भन्न सक्छु– यो मेरो भ्रम होइन, मैले गरेको सत्यानुभव हो, सत्यानुभूति हो ।
मेरी प्रिय साथी गीतमा संगीतात्मकता, आत्मनिष्ठता, अखण्डित भावाभिव्यक्ति, रसात्मकता, सुगठित शिल्पबद्धता र सहज बोधगम्यता अर्थात् ठ्याक्क कुनै गीतमा पाइने छवटा तत्त्व पाइन्छन् ।
मेरी साथी गीतलाई रुन र हाँस्न मज्जाले आउँछ । ऊ आफूलाई लुकाउन छुपाउन सक्दिन । ऊ जे छे, त्यही देखिन्छे पनि । एउटा खुलेको किताब हो ऊ । ऊ एउटा बालकझैँ प्रकृतिका आह्लादक दृश्य देखेर उफ्रिन थाल्छे, पशुपक्षीहरूझैँ नाच्न थाल्छे । उसको बोली ऋचाहरूझैँ लाग्छ । ऋचाहरूका गानझैँ उसको बोलीमा भाव, भाषा र छन्दको उच्चस्तरीय रूप भेटिन्छ ।
तपाईंलाई लाग्न सक्छ, म उसको बारेमा अलिक बढाइचढाइ गरेर भन्दै छु । यसमा मेरो केही भन्नु छैन । तर, गीत मेरी साथी हो र म मेरी साथीको आलोचना गर्दिनँ, कुनै पनि हालतमा गर्दिनँ । मैले कतै पढेको छु र अनुभूत समेत गरेको छु, ‘मित्रता निर्वहनको पहिलो धर्म मित्रलाई गुण र दोषसहित स्वीकार गर्नु हो ।’
मैले आफ्नो मित्रताको धर्म जानेको छु । मलाई लाग्छ, मेरी गीतले पनि त्यो जानेकी छे । यदि, उसले मित्रताको धर्म नजानेको भए विद्यालय र विश्वविद्यालयको पढाइ सकेपछिको बीस वर्षको लामो समय बितिसक्दा पनि भावनात्मक रूपमा हामी एकार्काको यत्ति नजिक हुँदैन थियौँ । एकार्काको उन्नति र अवनतिबारे यति चासो लिन्न थियौँ ।
जहाँसम्म गुण र दोषको कुरो छ, त्यसबाट न ऊ वञ्चित छे न म नै । मेरो गुणदोषका बारेमा यदि जान्ने विचार छ भने ऊसित नै सोध्नुहोला । म आफ्नो बारेमा के भनूँ, कसरी भनूँ ? भन्ने कोसिस गरे भने पनि आंशिक सत्य उत्पन्न हुने खतरा छ । आखिर म पनि त मान्छे नै हुँ, आफ्ना दोषहरूलाई कहाँ भन्न आँट गर्न सक्छु र !
म मेरी साथी गीतको कमीकमजोरीबारे अलिक भन्न चाहन्छु । ऊ मेरो नजरमा सर्वगुण सम्पन्न भए पनि कहिलेकाहीँ, कहिलेकाहीँ भन्नुको अर्थ – जब ऊ रिसाएकी हुन्थी, एकदम नराम्री लाग्थी । त्यो बेला उसको बोली कोइलीको बोलीजस्तो मिठो होइन, कागको बोलीझैँ कर्कश लाग्थ्यो । उसका ठूल्ठूला आँखाहरू मलाई मन पर्न छाडिदिन्थे । उसको हेराइ अप्रिय लाग्न थाल्थ्यो ।
समग्रमा भन्ने हो भने ऊ नै अप्रिय लाग्थी । तर, अप्रियताको अवधि धेरै लामो हुँदैन थियो, बस् एक वा दुई घण्टा, बढी भए एक दिन मात्र । अर्को दिन त ऊ मेरी सबैभन्दा प्रिय साथी, सबैभन्दा बढी मन पराउने साथीको रूपमा उभी नै हाल्थी ।
गजल मेरा तीन केटी साथीमध्ये एकको नाम हो । उसको नाम गजल रहनुपछाडि एउटा समृद्ध इतिहास पत्तो लागेको छ । ऊ इस्लाम धर्मावलम्बी केटी हो । अब यहाँहरूले बुझिसक्नुभएको होला, उसको नाम गजल किन राखिएको हो । गजलको भौँ कमानजस्ता छन्, ओठ राताराता सुर्ख गुलाफको पत्रजस्ता छन् । उसका कपाल निकै सुगन्धित छन् ।
मेरी साथी गजल शृंगारिकताले भरिएकी छे । उसले व्यक्त गर्ने अभिव्यक्तिमा शृंगारिक भाव प्रकट हुने गर्दछ । तर, यसको अर्थ यो कदापि होइन कि उसमा केवल कोमल भावहरू मात्र रहेका छन् । होइन, मेरी साथी गजलले व्यक्तिने भावहरूमा उसले जीवनमा अनुभव गरेको तितो यथार्थको पनि सशक्त अभिव्यक्ति भइरहेको हुन्छ । गजललाई आफ्ना विशेषताहरूबारे राम्ररी थाहा छ । ऊ बिल्कुल गजलझैँ आफ्ना दैहिक अंगहरू (काफिया र रदिफ)को बन्धनमा बाँधिएर एउटा लयखण्डमा सिर्जित छे ।
उसका सुन्दर शरीरका प्रत्येक अंगहरू उसले बोल्ने गरेका विभिन्न बोलीको माला हुन्छन्, जसमा उसले आफ्नो पहिलो स्वरलाई प्रारम्भिका र संवादको क्रममा निस्किने अन्तिम स्वरलाई अवन्तिका भन्ने गर्छे ।
मेरी साथी गीतमा झैँ मेरी साथी गजलमा एउटै विषय प्रवाहित भइराखेको हुँदैन, एउटै भाव हुँदैन । तर, एउटा कुरो छ फेरि, उसमा चित्तवृत्ति (मुड) आफ्नो गतिमा बगिरहेको हुन्छ । उसको चित्तवृत्ति उसले प्रकट गरेका विषयवस्तुसँग एकाकार भएर प्रवाहित भइरहेको हुन्छ ।
मेरो यो गजल भन्ने साथी बडो मिठो तरिकाले बोल्छे, आफ्ना एकएक शब्द र वाक्यलाई लयमा बाँधेर बोल्छे । आफ्नो बोलीलयलाई खण्डित हुन दिँदिन । उसले आफ्ना वाक्यको ठिक अन्तिमभन्दा पहिला एक वा एकाधिक अक्षरलाई स्थायी बनाएकी हुन्छे र बडो मिठो तरिकाले तिरमिर, झिरसिर, गाउँठाउँ आदि बेजोडा शब्दहरूको सुन्दर संयोजन मिलाएर शब्दहरूको प्रयोग गरिराखेकी हुन्छे ।
बडो चलाख पनि छे मेरो यो गजल भनाउने साथी । उसले राम्ररी बुझेकी छे, लयको अभावमा उसले व्यक्त गरेको भाव प्रभावहीन हुनसक्छ । यति मात्र होइन, गजलले आफ्ना भनाइलाई प्रभावोत्पादक बनाउनका लागि त्यसमा उक्तिवैचित्र्य, अलंकार योजना, उखानटुक्काको प्रयोग गर्नुका साथै आफ्नो भाषालाई लोचपूर्ण, लययुक्त र कल्पनायुक्त बनाएर प्रस्तुत गर्दछे ।
गजलले आफ्नो सुन्दरतामा निखार ल्याउनका लागि बाहिरी अंगहरूका साथै भित्री अवयवहरूलाई पनि बडो होसियारीपूर्वक प्रकट गरिराखेकी हु्न्छे, मिठो प्र्रस्तुतिका साथ ।
मेरी साथी गजल बिल्कुलै गजलझैँ नाजुक र सुन्दर पनि छे । यसलाई फकाउन वा आफ्नो वशमा पार्र्न बडो साधना गर्नुपरेको रहस्य खुलेको छ । मेरा एकाधजना साथीहरूले मेरो गजललाई फकाउन र आफ्नो प्रेमजालमा फसाउन निकै कोसिस गरेको कुरो मलाई थाहा छ । किनभने, म पनि त्यो कर्ममा सामेल थिएँ । मैले पनि गजलसँग प्रेम गर्न बडो कोसिस नगरेको होइन । मैले यसलाई मनाउन समय र स्रोतसाधन अत्यधिक खर्चिनुपरेको थियो । बल्ल सफल भएको थिएँ गजलसँग अन्तरंग समय बिताउन, आफूनजिक ल्याउन र एकापसमा कुराकानी गर्न ।
धेरैपछि मैले थाहा पाएँ, मेरी साथी गजल पनि गजलझैँ प्रेम, शृंगार, रूपासक्ति, मिलन, विरहका भावाभिव्यक्तिको माध्यम रहेकी छे । तर, यसलाई पनि जीवनको यथार्थले सताएको छ । त्यसैले यसले पनि विसंगति एवम् विरोधाभासहरूमाथि प्रहार गर्न प्रारम्भ गरिसकेकी छे । यसले राम्ररी बुझेकी छे, छन्दमुक्तता र गद्यमयता तथा सपाटबयानी गरी फकाउने मनाउने कालज्ञ प्रेमीहरूले यसको जीवनमा अन्ततः निरसता नै उत्पन्न गर्नेछन् ।
त्यसैले यसले भमराजस्तो भनभन गरी मडराउने प्रेमीहरूलाई आफ्नो छायासम्म आउन दिँदैन । धन्य, यसले मलाई त्यो क्याटोगोरीमा राखिन ! मसँग खुलेर व्यवहार गरी ।
कविता मेरी तेस्रो केटी साथी । कवितामा खास भन्नुपर्दा लयको बढी महत्त्व रहेको हुन्छ । लयात्मक कविता लयहीन कविताभन्दा बढी असरदार हुने गर्दछ । मेरी साथी कविताका आफ्नै छन्द छन् । त्यो छन्द कहिले वार्णिक, वर्णमात्रिक र मात्रिक भएर प्रकट हुने गर्दछन् । मेरी यो कविता नाम गरेकी साथीलाई गाउन पनि सकिन्छ, तर त्यो गायन जरुरी छैन । किनभने, यस कविताको आनन्द लिने हो भने पाठ गर्न वा वाचन गर्न आवश्यक छ ।
मेरी साथी कवितामा रहेका विषय अथवा भावानुरूप त्यसको पद र वर्णको विन्यास गर्न जान्नुपर्दछ । नत्र भने यसलाई साथी बनाउन निकै गाह्रो हुन्छ । मेरी कविताको आवरण कठोर रहेको छ । त्यो मलाई राम्ररी थाहा छ, उसको कठोर रसभावको अभिव्यक्तिमा ओज गुण आवश्यक छ । तर, यसको अर्थ यो पनि होइन कि मेरी कविता केवल कठोर भावले मात्र गुम्फित रहेकी छे ।
होइन, मेरी साथी कवितामा कोमल रसभाव पनि रहेको छ । सर्त एउटै छ, उसमा रहेको कोमल रसभावलाई प्रकट गराउनका लागि प्रसाद र माधुर्य गुणको प्रकटीकरण गर्नुपर्दछ ।
मेरी साथी कविता स्थिर, गम्भीर प्रकृतिकी स्वामिनी । ऊ कहिले खुसी हुन्छे कहिले दुःखी, झ्वाट्ट उसको बडी ल्याङ्वेजबाट थाहा नहुने । समव्यवहारवादी, समक्रियाकलापवादी । न धेरै हाँस्ने न धेरै बोल्ने । रुने पनि होइन । नदीको पानी हुँदै होइन ऊ । ऊ त पोखरीको पानी हो । सानोतिनो ढुंगा फ्याँक्दा समेत कुनै तरंग नहुने ।
हाम्रो मित्रमण्डलीमा तीन केटी र तीन केटा साथीहरू । हामी तीनैजनाको नाम पनि अनौठो भन्न लायक । एकको नाम हो, कवि । ऊ आफ्नो नामको सार्थकता सिद्ध गर्नमा लागिपरेको पनि हो । उसलाई कविता, गीत, गजल लेख्न पटक्कै आउँदैन । त्यस अर्थमा ऊ कवि होइन । उसको वास्तविक नाम पनि कवि होइन, त्यो त हामीले राखिदिएको नाम हो ।
उसको वास्तविक नाम हो, प्रेम । हामीले उसको नाम कवि किन राखेका हौँ भने ऊ सधैँ त्यो कविता भन्ने केटी साथीलाई एउटा गीत गाएर फकाइरहन्थ्यो, ‘मैं कहीं कवि न बन जाऊँ, तेरे प्यार में ऐ कविता !’
यो बेग्लै कुरा हो, त्यो कविता भन्ने साथीले उसलाई कुनै भाव दिइन । उसले जसलाई भाव दिई, त्यो कवि कम, प्रेमी बढी थियो । तर, उसको नामचाहिँ प्रेमी नभएर अर्कै थियो । उसको नाम थियो, मिलन । मिलन स्वभावतः गम्भीर थियो । ऊ केटी साथीहरूसित कमै बोल्थ्यो, उनीहरूतिर हेर्ने कुरोको त कुरै नगर्नु । उसले केटी साथीहरू अर्थात् गीत, गजल र कविताका आँखासित आँखा कहिल्यै जुधाएन । त्यो आँट गरेन उसले ।
तर, सामान्यतया नगर्ने आँट उसले गर्यो, पत्याउनै गाह्रो । भनिन्छ नि, नपत्याउने खोलोले पनि बगाउँछ रे ! हो, त्यही भएको थियो उसको हकमा । ऊ गीतबाहेककी साथीलाई आफ्नो प्रेमजालमा फसाउन सफल भा’को थियो । गीत त सबैकी साथी थिइन् । उसको मित्रतामा सबैको हक थियो । तर, गजलजस्तो चञ्चल, धेरै मानसम्मान, लय, तुक आदि खोज्ने गजललाई पनि प्रेमले आफ्नो प्रेमको चास्नीमा चुर्लुम्म डुबाएको थियो । जहिले पनि ती दुवैलाई कुनै एकान्त कुनामा बसेर गफिँदै गरेको दृश्य देखिन्थ्यो ।
अर्को साथीको नाम हो, गोपिन्द्र । गोपिन्द्र अन्य साथीहरूको लहैलहैमा केटी साथीहरू जिस्काउन त जिस्काउँथ्यो, तर जिस्काएको एकछिनपछि हात जोडेर क्षमा पनि मागिहाल्थ्यो । भनाइको अर्थ के हो भने गोपिन्द्र त्यस मामिलामा बडो सिधा केटो थियो । हामी सबैले उसलाई घामड भनेर जिस्काउँथ्यौँ । ऊ केही बोल्दैन्थ्यो, ‘हि...हि...हि’ दाँत चियार्थ्यो ।
सबैभन्दा छट्टु थिएँ म । मलाई म नामबाटै चिन्दा भइहाल्यो नि ! यसो त मेरो वास्तविक नाम म होइन । तर, मबाट जे चाहिने हो, त्यो दिन्छ । त्यसैले म मेरो वास्तविक नामको रहस्य गोप्य नै राख्न चाहन्छु । मैले आफुलाई छट्टु किन भनेको हुँ भने म पनि तीनटै केटी साथीहरूमाथि लाइन मार्ने गर्दथेँ । भन्नलाई त भन्थेँ, ‘आई लाइक वनली कविता’, वाई वान्ट टु म्यारी हर’, तर मनमनै म गीत र गजललाई पनि त्यत्तिकै मन पराउँथेँ ।
गीत – पहिला नै भनिसकेँ, सबैकी साथी हुन् । मेरी पनि प्रिय साथी नै हो । ऊ मेरो घरमा पनि कैयौँपटक गएकी छे । उसप्रति कसैको कुनै दुराग्रह छैन । सबैले समान रूपमा माया गर्छन् – एक साथीले अर्को साथीलाई गर्ने माया । तर, मैले गजललाई फकाउन कोसिस गरेँ । म सबै साथीहरूमा छट्टु नै साबित भएँ ।
त्यो कसरी भने, मबाहेक अरू कोहीले पनि गजल र कवितालाई फकाउन सकेन । पहिला मैले गजललाई आफ्नो प्रेमको रसमा डुबाएँ । उसको साधना गरेँ र फल प्राप्ति गर्ने बेला मेरो जीवनमा अचानक कविताको पदार्पण भयो । मेरो जीवनमा कविताको आगमनको सम्भावना बढेपछि मैले आफ्नो पहिलो पसन्द ‘कविता’को माया मार्न सकिनँ ।
म त पहिलादेखि नै कवितालाई मन पराउँथेँ, ऊसित जीवन बिताउन चाहन्थेँ । मलाई थाहा थियो, जीवनको ओकाली–ओरालीमा गीतजस्तो साथीले त केही हदसम्म साथ निभाउँछे, तर गजलजस्तो साथी बीचबाटोमै साथ छोडेर आफ्नो पृथक् बाटो लागिहाल्छे । जीवनको गोरेटोमा हिँड्नका लागि चञ्चलता, क्षणिक आकर्षण र नाज–नखडा मात्र होइन, गीतजस्तो असल साथी, त त्यसमा पनि कविताजस्तो कठोर आवरण भएको तर भित्री रूपमा रसिलो साथीको आवश्यकता हुँदो रहेछ ।
कालान्तरमा हाम्रो कलेजस्तरको पढाइ सकियो । गजल कलेजबाट निस्केर विदेश गई, आफ्नो जीवनलाई भौतिक सुख–सम्पदाले भरिभराउ गर्न । एकपल्ट फोन गरेकी थिई, अमेरिकाबाट । घण्टौँ लगाएर आफ्नो भौतिक सुख–सुविधा प्राप्तिबारे बखान गरेकी थिई र अन्त्यमा ‘तिम्रो के छ हालचाल ?’ को सोधनीले कुराकानीको क्रम तोडेकी थिई ।
गीत – सुन्दछु राजधानी काठमाडौंमा बस्छे, बिहेबारी गरिसकेकी छे । सायद छोराछोरी पनि पाइसकेकी छे । उसको श्रीमान् कुनै ब्यांकमा जागिरे छन् ।
कविता – मेरी जीवनसंगिनी भएर मसँग जीवनको उकाली–ओरालीको यात्रा गर्दै छे । कविता वास्तवमा कविताजस्तै कठोर आवरणकी छे । जसरी कविताको आनन्द लिनका लागि उसको बाह्य आवरणलाई हटाउन आवश्यक हुन्छ, त्यसरी नै मेरी जीवनसंगिनी कविताको मायारूपी रस पिउनका निम्ति उसको कुरैपिच्छे झर्किने बानी, झ्वाट्ट रिसाइहाल्ने बानी, आफ्नो खुसी कोहीसामु प्रकट नगर्ने बानी र सधैँ एक भावमा देखिने बानी आदि बाह्य आवरण हटाउन आवश्यक छ ।
जबजब मैले यसो गर्न सकेको छु, कविताको माया र पवित्र मायाको रस चाखेको हुन्छु, र जुन बेला म यसो गर्न असफल भएको हुन्छु, त्यो बेला म धेरै नै निराश भएको हुन्छु, उदास भएको हुन्छु, कवितालाई जीवनसंगिनी बनाएकोमा पछुतो गरेको हुन्छु ।