काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक काम गर्न नसकेको आरोप लगाएका छन् ।
आफूले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदविरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई निकाल्ने गरी इमानदारीसाथ काम गरेको उनले दाबी गरे ।
शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताए ।
नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दै दाहालले अहिलेको चुनौती सामना गर्न पनि पत्रकार महासंघ दृढतापूर्वक अघि बढ्नुपर्ने बताए ।