site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवा रिझाउने शशांकका दुई बोली 

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको तयारीका लागि भन्दै संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला देशदौडाहमा लागिरहँदा साइनोले उनका भाइ र पदीय हैसियतले पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने कांग्रेसको महाधिवेशन ०८४ सालको निर्वाचनपछि मात्रै गर्नुपर्ने पक्षमा उभिएका छन् । 

मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘‘विसं २०८४ मा आम निर्वाचन हुनेछ। त्यसको दुई वर्षपहिले नै महाधिवेशन हुनुपर्ने हो। होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ।’’

आमनिर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने तर्क गर्दै नेता कोइरालाले सके तोकिएकै समयमा होइन भने आमनिर्वाचनपछि मात्रै गर्नु उपयुक्त हुने बताएका हुन् । यस भनाइबाट उनी महाधिवेशन गर्न हतारो गर्नुनपर्ने पक्षमा देखिएका छन् ।  

आमनिर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आमनिर्वाचनमा पर्ने भएकाले निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उनले सो समयमा नसकिए ०८४ पछि मात्रै गर्नुपर्ने सुझाब राखेका हुन् । 

हुन पनि कांग्रेसका यसअघिका जति पनि महाधिवेशनहरू आमनिर्वाचनका मुखमा भए, ती निर्वाचनमा कांग्रेसले अपेक्षित लाभ लिन सकेको छैन । टिकट वितरणदेखि निर्वाचनको मैदानसम्म पुग्दा कांग्रेसभित्रको आन्तरिक कलहले राम्रै चर्चा पाउने गरेका छन् । 

पार्टीभित्रको निर्वाचनमा ‘येनकेन प्रकारेण’ जित्ने र आमनिर्वाचनमा आफूभन्दा फरक पक्षलाई पेलेर टिकट वितरण गर्ने खेल कांग्रेस पार्टीमा चल्दै आएको छ । त्यसैको परिणामस्वरूप निर्वाचनमा हार्ने नेताले भन्ने गरेका छन्– अन्तर्घातका कारण हारेँ । 

यस दृष्टिले डा. शशांकको भनाइमा शंका गर्ने ठाउँ छैन । तर, शशांकले यो भनाइ कांग्रेसको एक शुभचिन्तक वा अभिभावकका रूपमा मात्रै भनेका होइनन्, उनी स्वयं १५औँ महाधिवेशनका लागि सभापतिका उमेदवार हुन् । १३औँ महाधिवेशनदेखि नै पार्टी सभापति शेरबहादुर देउवासँग ‘विशेष’ सम्बन्ध बनाएका शशांक देउवाको उत्तराधिकारी बन्ने दाउमा छन् । 

१३औँ महाधिवेशनमा रामचन्द्र पौडेल (वर्तमान राष्ट्रपति)को पक्षबाट महामन्त्री लडेका कोइरालाले देउवाको साथ पाएरै अर्जुननरसिंह केसी र गगन थापालाई हराएको चर्चा कांग्रेसवृत्तमा अहिले पनि सुनिन्छ । अझ रोचक पक्ष त के छ भने केसी स्वयं देउवाको पक्षबाट महामन्त्रीको उमेदवार बनेका थिए । केसी र उनका ज्वाइँ गगनलाई हराउँदै महामन्त्री बन्न सफल हुनुलाई त्यतिवेलै ‘देउवा–शशांक विशेष सम्बन्ध’को कारक मानिएको थियो । 

त्यही आशंकाका कारण केसी महाधिवेशन नसकिँदै देउवा क्याम्प छाडेर पुुरानै क्याम्पमा फर्किए । अहिले उनी देउवाका कटु आलोचकका रूपमा चिनिन्छन् । महामन्त्रीका अर्का उमेदवार गगन पनि १४औँ महाधिवेशनसम्म आइपुग्दा सिटौला क्याम्पबाट कोइराला (शेखर) क्याम्पमा सरिसकेका थिए । 

१४औँ महाधिवेशनमा कोइराला परिवारकै, आफ्नै दाइ (काकाका छोरा शेखर) पार्टी सभापतिको उमेदवार बन्दा शशांक उनको पक्षमा लागेनन् । शेखरले सभापतिमा हार व्यहोर्नुमा शशांकको साथ नपाउनु पनि एउटा प्रमुख कारण बन्न पुग्यो । 

१५औँ महाधिवेशनमा देउवाले भरपर्दो उत्तराधिकारी नपाइरहेको चर्चाका बीच शशांकको नाम अग्रपंक्तिमा आइरहेको छ । यस सन्दर्भमा शशांकले मंगलबार चितवनमा बोलेको अर्को वाक्य पनि अर्थपूर्ण छ । कोइराला परिवार एक हुनुपर्ने आशयको पत्रकारको प्रश्नमा उनको जवाफ थियो, ‘‘कोइराला परिवार एक होइन, विचार एक हुनुपर्‍यो। विचार एक भए हुन्छ।’’

त्यतिमात्रै होइन, उनले महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरूलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए ।

महाधिवेशन आउन अझै लामै समय बाँकी रहेकाले त्यसवेलासम्म देउवाले कसैलाई उत्तराधिकारी तोक्लान् या नतोक्लान् त्यो भविष्यकै गर्भमा छ । तर, देउवा रिझाएर सभापति बन्ने दाउमा शशांक मात्र होइन, सबैजसो आकांक्षीहरू छन् । त्यो लाइनमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला मात्र होइन, स्वयं डा. शेखर कोइराला र गगन थापा पनि रहेको चर्चा छ ।  

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro