केही अफ्रिकी मुलुकहरूमा सङ्क्रामकरूपमा फैलिएको मङ्किपक्स (एमपक्स) नामको सरुवा खटिरा नेपालमा पनि फाटफुट देखिन थालेको छ । यस रोगका सम्बन्धमा विशेष जानकारी नभएकोसमेत कारणले जनमानस बढी नै आत्तिन सक्छ ।
बिफरजस्तै प्रकृतिको यो व्याधि सङ्क्रमित मान्छे वा पशुसँगको सम्पर्कबाट सर्छ । सामान्यतः यसबाट ज्यानै जाने जोखिम नभए पनि विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । अफ्रिकामा एमपक्सका कारण हजार जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।
विशेषज्ञका अनुसार एमपक्सको लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू सुन्निने र दोस्रो चरणमा छालामा बिमिरा आउने अनि पानीफोकाको रूपमा परिणत हुने गर्छ । अनुहारबाट सुरु भएर टाउको, हत्केला, पैताला जस्ता भागमा बिमिरा धेरै देखिने तथा केही दिनपछि आफैँ हराएर जान्छ । यसको लक्षण अहिले उन्मूलन भयो भनिएको बिफरकै जस्तो हुन्छ ।
नेपालमा एमपक्स अहिले नै समुदायमा फैलिइहाल्ने जोखिम देखिएको छैन । तर, सङ्क्रामक रोग कुन बेला भयावहरूपमा फैलन्छ अनुमान गर्न कठिन हुनेरहेछ । खेलाँची गर्दागर्दै कोभिड-१९ ले गरेको क्षति र मच्चाएको आतङ्क कसैले पनि बिर्सेका नहोलान् ।
कोभिड-१९ लाई सुरुमा गम्भीरतापूर्वक नलिएकै कारण चीन, अमेरिका, भारतजस्ता ठूला मुलुकहरूले समेत ठूलो क्षति बेहोर्नु परेको थियो । नेपालमा त सुरुमा कोभिडलाई प्रधानमन्त्रीले समेत उपहासको विषय बनाएका थिए । देश र जनताले भने त्यसको महँगो मूल्य चुक्ता गर्नु परेको थियो ।
कोभिडले फैलन थाल्नेबित्तिकै राज्यले थोपरेको बन्दाबन्दीका कारण लाखौं जनसाधारणले पाउनुसम्मको गोता पाएका थिए । काखमा बच्चा च्यापेर हप्तौंसम्म फैदल हिँडेर घर फर्कनेहरूले मूलबाटोबाट हिँड्नसमेत पाएका थिएनन् ।
सरकार निकट व्यवसायीसँग स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार गरिएको पुष्टि भएको थियो भने बन्दाबन्दीका कारण थला परेको अर्थतन्त्र अझैसम्म राम्री तङ्ग्रेको छैन । लक्षित समूहलाई छुट्ट्याइएको खोपसमेत पदको दुरुपयोग गरेर आफन्तलाई दिइएको समाचार सार्वजनिक भएका थिए ।
कोभिडकै जस्तो कुव्यवस्था र भ्रष्टाचार अहिले त नदोहोरिएला तर कोरोनाको उपहास गर्ने उनै खड्गप्रसाद ओली अहिले पनि प्रधानमन्त्री छन् । स्वास्थ्य मन्त्रालयको कार्यशैली पनि उस्तै छ । चिन्ताको विषय यही हो ।
यसैले सरकार विशेषगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले बेलैमा गम्भीरता देखाउनु उचित हुनेछ । एमपक्सका सम्बन्धमा जनसाधारणलाई पर्याप्त जानकारी दिने र असामाजिक तत्त्वलाई सामाजिक सञ्जालबाट भ्रम फैलाएर समुदायलाई आतङ्कित पार्न नदिन सम्बन्धित निकायहरूलाई सजग बनाइनुपर्छ ।
विद्यालय, अस्पताललगायत जोखिम बढी हुने स्थानमा सङ्क्रमणबाट जोगिन आवश्यक उपायहरू अपनाउन कोरोनाकालको जस्तो महामारी पर्खेर बस्ने मूर्खता नगरौँ । साथै, कोभिड-१९ मा स्वास्थ्य सामग्री खरिद गर्दा पनि भ्रटाचार हुने दुर्यनियति दोहोरन नपाओस् ।