पद्मावती सिंहका प्रतिनिधि कथाहरू
(कथासंग्रह : पद्मावती सिंह)
नेपाली आख्यान साहित्यकी एक सशक्त हस्ताक्षर हुन्, पद्मावती सिंह । उनले थुप्रै कथाकृति पाठकसामु पस्किइसकेकी छन् । उनको पछिल्लो कथाकृति हो, ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’ ।
उक्त कृतिको ब्लर्बमा साहित्यकार डा. गीता त्रिपाठीले लेखेकी छन्, “नेपाली आख्यानका दुई विधा उपन्यास र कथामा समकालीन भोगाइको सशक्त अभिव्यक्ति दिन सक्षम व्यक्तित्व पद्मावती सिंह नेपाली प्रतिनिधि कथाकारका रूपमा स्थापित हुनुहुन्छ । सृष्टिको तात्त्विक रहस्यका बीजलाई कथ्यको केन्द्रमा राखेर समाज निर्मित कृत्रिम विभेदका विरुद्धमा प्रतिरोधी चरित्र निर्माण गरी उहाँका कथाले समाजलाई परिवर्तन गर्नका निम्ति महत्त्वपूर्ण भूमिका दिएको छ ।...।”
यो कृतिभित्र सिंहका २२ कथा समेटिएको छ ।
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित करिब २०० पृष्ठको यो कृतिको मूल्य ३५०/– रुपैयाँ राखिएको छ ।
०००
अग्नि उद्दीप्त
(मुक्तकसंग्रह : श्रेष्ठ प्रिया ‘पत्थर’)
साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी श्रेष्ठ प्रिया ‘पत्थर’को केही समयअगाडि प्रकाशित मुक्तककृति हो, ‘अग्नि उद्दीप्त’ । धनगढीमा बसोबास गर्दै आएकी साहित्यकार श्रेष्ठका यसअघि विभिन्न विधाका १७ कृति प्रकाशित छन् ।
मुक्तककार श्रेष्ठले आफ्नो कुरामा लेखेकी छन्, “...मुक्तकसित कहिलेदेखि माया बस्यो ठ्याक्कै सम्झिन नसके पनि शेर शायरी जस्तै छोटो मीठो साहित्यको मायालु विधालाई मैले मन पराउन लागेको मैले साहित्य पढ्न सुरु गरेदेखि नै हो ।...।”
कृतिभित्र प्रकाशकीयमा लेखिएको छ, “...साहित्यका विविध विधामा दर्जनौँ कृति दिइसकेकी ‘पत्थर’सित साहित्यमा निरन्तर लागिरहने ‘चट्टानी’ अडान छ ।...।”
श्रेष्ठको यो संग्रहभित्र विभिन्न भावका १११ मुक्तक पढ्न सकिन्छ ।
आवरण प्रकाशनद्वारा प्रकाशित १२० पृष्ठको यो कृतिको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।
०००
उज्यालो औँसी
(उपन्यास : अनिता कोइराला)
पछिल्लो समय कृति समीक्षा, कथा र फुटकर आलेख लेख्दै आएकी अनिता कोइरालाको पहिलो उपन्याससंग्रह हो, ‘उज्यालो औँसी’ ।
कोइरालाले रचनागर्भमा लेखेकी छन्, “पुस्तक लेख्दै गर्दा बाल्यकालका यस्तै स्मृतिहरू मेरो मानसपटलमा सल्बलाए । उपन्यास लेख्दा म अतीतमा बारम्बार पुगेँ । गर्भदेखि भोग्दै आएको हत्या र हिंसाको शृंखला जनयुद्धकालमा अझ उग्र हुँदै गयो । ऊर्जाशील समयमा युद्धका छर्राले मलाई अझ आक्रान्त पार्दै लग्यो । जब बम, बन्दुक र बारुद पड्किन्थे मेरा आँखामा बुवाको बीभत्स हत्या आलो भएर देखापर्थ्यो ।...।”
पुस्तकको ब्लर्बमा प्रा. गोविन्दराज भट्टराईले लेखेका छन्, “...एक प्रकार यो जीवनीपरक वर्णन हो, भिमानदेखि जनकपुर हुँदै काठमाडौं, मार्गनिर्देशक शिक्षा, गुरु र पछिका जीवन द्रष्टा भेटिन्छन् । तर, रूढ समाजमा अन्धविश्वासले कसरी चलाउँछ भन्ने प्रमाण छन् यहाँ ।...।”
शिखा बुक्सद्वारा प्रकाशित १८४ पृष्ठको यो उपन्यासको मूल्य ४७५/– रुपैयाँ राखिएको छ ।
०००
सम्मोहन
(कथासंग्रह : राधिका कल्पित)
कविता लेखनमा परिचित राधिका कल्पित पछिल्लो समय कथा लेखनमा पनि सक्रिय छिन् । केही महिनाअगाडि प्रकाशित उनको पहिलो कथाकृति हो, ‘सम्मोहन’ । उनको यसअघि एउटा कविताकृति ‘बरफका कोइलाहरू’ प्रकाशित छ ।
कथाकार कल्पितले कृतिभित्र ‘अनियोजित कथायात्रा’मा लेखेकी छन्, “कविता लेख्न बस्दा रोकिन नसक्नु मेरो कमजोरी हो । कवितालाई कथाले कुदाइरहेको हुँदोरहेछ । यसरी मेरा कथा भन्नु नै कविता कोर्दाकोर्दै तन्किएर बनेका वर्णनात्मक गद्य कविता हुन् । कविताको काव्यात्मक सौन्दर्यभित्र अटाउन नसकेका संवादात्मक पद्य हुन् ।...।”
कथाकृतिको भूमिकामा प्रा. डा. लक्ष्मणप्रसाद गौतमले लेखेका छन्, “नेपाली कथाको उत्तरवर्ती चरणमा राधिका कल्पित निकै प्रभावशाली कथाहरू लिएर उपस्थित भएकी छिन् । ‘बरफका कोइलाहरू’ (२०७७) जस्तो प्रखर, शक्तिशाली र विद्रोही चेतनाका कविताहरूको संग्रहबाट स्थापित भएकी राधिकाको ‘सम्मोहन’ कथासंग्रह वैविध्यमय मान्छेका चरित्र र घटना लिएर आएको छ ।...।”
यो कथाकृतिभित्र १४ कथा प्रस्तुत छ ।
इन्डिगो इन्कद्वारा प्रकाशित २१० पृष्ठको यो कृतिको मूल्य ४९९/– रुपैयाँ राखिएको छ ।
०००
जिन्दगी एक यात्रा
(कवितासंग्रह : सपना लामिछाने देउजा)
पछिल्लो समय कविता लेखनमा सक्रिय सपना लामिछाने (देउजा)को कविताकृति हो, ‘जिन्दगी एक यात्रा’ । यो कृतिको दोस्रो संस्करण केही समयअघि मात्र सार्वजनिक गरिएको छ ।
कृतिको ब्लर्बमा साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ले लेखेका छन्, “जिन्दगी एक यात्रा कवितासंग्रह अध्ययन गर्दा सपना लामिछानेका कविताहरू एकातिर जीवनसँग जुध्न तयार देखिन्छन् भने अर्कातिर जीवनका रहस्यहरू उद्घाटन गर्न पनि अघि बढेका पाइन्छन् ।...।”
ब्लर्बमै माधव घिमिरे ‘अटल’ले लेखेका छन्, “लक्षणा र व्यञ्जनाको पर्याप्त प्रयोग नगरी अभिधाले पनि काव्यलाई पठनीय र मिठासयुक्त बनाउन सकिन्छ भन्ने ज्वलन्त दृष्टान्त हुन्, कवयित्री सपना लामिछाने (देउजा) ।...।”
लामिछानेले आफ्नै गन्थनमा लेखेकी छन्, “जिन्दगी एक यात्रा कवितासंग्रहको रूपमा यो मेरो पहिलो प्रयास हो । मलाई कृतिकारका रूपमा उठाउन मेरा परिवार, इष्टमित्र र आफन्तहरूको महत्त्वपूर्ण भूमिका रहेको छ ।...।”
संग्रहभित्र उनका ५६ कविता संगृहीत छ । उनको यसअघि एउटा गीति एल्बम पनि प्रकाशित छ ।
सूचक प्रकाशनद्वारा प्रकाशित १७० पृष्ठको यो कविताकृतिको मूल्य २१५/– रुपैयाँ राखिएको छ ।
०००
झङ्कार
(लघुकथासंग्रह : गंगा खड्का)
लघुकथाकार गंगा खड्काको पहिलो लघुकथाकृति हो, ‘झङ्कार’ । यो संग्रहभित्र अनेक विषय भावका ५८ लघुकथा पढ्न सकिन्छ ।
कृतिकार खड्काले आफ्नो भनाइमा लेखेकी छन्, “जीवनले आफ्नै तौरतरिकामा दौडने क्रममा मेरा जीवनमा पनि धेरै त्यस्ता परिस्थिति आए जसमा मैले दुःखसुखको साथी मेरो कलमलाई बनाउने निधो गरेँ ।...।”
साहित्यकार खेमराज पोखरेलले कृतिभित्र भूमिकामा लेखेका छन्, “लघुकथाकार गंगा खड्काले वर्तमानमा स्थापित मान्यतालाई आधारमा राखेर लघुकथा लेखेको प्रतीत हुन्छ ।...।”
श्यामकुमार खड्काद्वारा प्रकाशित ९६ पृष्ठको यो लघुकथासंग्रहको मूल्य २०५/– रुपैयाँ राखिएको छ ।
०००
समय र अनुभूति
(संस्मरणसंग्रह : भुवन मास्के ‘मुस्कान’)
लेखक भुवन मास्के ‘मुस्कान’को संस्मरणसंग्रह ‘समय र अनुभूति’ पाठकमाझ प्रस्तुत छ । फुटकर रूपमा विभिन्न विषयमा लेखरचना लेख्दै आएकी मास्केले आफ्ना रचनालाई संग्रहको रूप दिएकी हुन् ।
पुस्तकमा कृतिका सम्पादक प्रद्युम्न जोशीले लेखेका छन्, “लेखिका मास्केका यी सबैजसो लेख पूर्वप्रकाशित हुन् । जीवनको एउटा एउटा पक्षका बारेमा लेखिएका यी लेखहरू पठनीय र सम्बन्धित विषयमा जानकारी दिने खालका छन् ।”
पुस्तकको भूमिकामा जयदेव भट्टराईले लेखेका छन्, “भुवन मास्के ‘मुस्कान’को लेखनमा विविधता भेटिएजस्तै कतिपय निबन्धहरू सशक्त लाग्छन् भने केही सरसर्ती घटनाक्रम अघि बढाउँदै लगेका जस्ता पनि लाग्छन् ।...।”
आफ्नो भनाइमा कृतिकार मास्केले लेखेकी छन्, “बितेको झन्डै तीन वर्षको अन्तरालमा केही राष्ट्रिय दैनिक पत्रपत्रिकाहरूलगायत साहित्यिक मासिक, अनलाइनमा मैले लेखेका व्यक्तित्वकेन्द्रित आलेख, कथा प्रकाशित भएका थिए । ती सबैलाई एकत्रित गरी पुस्तकको रूपमा प्रकाशित गर्न सकिँदोरहेछ भन्ने तथ्य प्रद्युम्न दाइको हौसलापूर्ण कुराले थाहा पाएँ ।...।”
यो कृतिभित्र १८ संस्मरण छन् ।
वासु शशी स्मृति परिषद्द्वारा प्रकाशित १४८ पृष्ठको यो पुस्तकको मूल्य २००/– रुपैयाँ राखिएको छ ।