
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकमाथिको छलफलका निम्ति आवश्यक सुझाव लिन विज्ञ नियुक्त गर्ने भएको छ । शनिबार (असार २१) सिंहदरबारमा बसेको समितिको बैठकबाट विज्ञ नियुक्त गर्ने निर्णय गरिएको हो ।
समितिमा आउन लागेका मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिकासम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि बृहत् छलफल गर्नुपर्ने भएकाले त्यसमा आवश्यक सुझाव लिन विज्ञ नियुक्त गर्न उपयुक्त हुने समितिका सभापति किरणकुमार साहले बताए ।
त्यसनिम्ति समितिमा काशीराज दाहाल र माधव पौडेलको नाम प्रस्ताव समेत गरिएको छ । तर, समितिका सांसदले मानव बेचबिखन नियन्त्रण र रोकथामका बारेमा दुवै विज्ञ ज्ञाता नभएको बताएका छन् । उनीहरूले अरू विज्ञ नियुक्त गर्न उचित हुने धारणा राखे ।
सभापति साहले सांसदलाई विज्ञको नाम भए दिन आग्रह गरेका छन् ।
समितिले पारिश्रमिक दिएर नै समितिका निम्ति विज्ञ नियुक्त गर्दा कानून झनै राम्रो निर्माण गर्न सकिने सांसदको धारणा छ । न्युज एजेन्सी नेपाल