site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

संसदीय शासन प्रणालीमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सरकारलाई विशेषगरी वित्तीय अनुशासनमा राख्ने सर्वाधिक प्रभावशाली संस्था मानिन्छ । उसको कामै राज्यको ढुकुटीमा भएका र हुनसक्ने अनुचित क्रियाकलाप छानबिन गरी कारबाही गर्न सरकारलाई बाध्य पार्नु हो । 

नेपालमा पनि विगतमा सरकारी आर्थिक कारोबारमा बेथिति पहिचान गर्ने र कारबाही गराउने पाटामा लेखा समितिको भूमिका उल्लेख्य थियो । सक्रियताकै कारणले समितिको विशेष महत्त्व स्थापित भएको थियो ।
दुर्भाग्य, यतिखेर लेखा समितिका सभापति ऋषिकेश पोखरेल स्वयं विवादमा परेका छन् । 

अर्कातिर लामो समयसम्म समितिको बैठक पनि बस्न सको छैन भने बस्न पनि नसक्ने परिस्थिति उत्पन्न भएको छ । सम्भवतः सदस्यहरूले आफ्नै चर्को विरोध गर्ने डरले सभापति पोखरेलले लामो समयसम्म समितिको बैठक नबोलाउने रणनीति अपनाए । बल्लबल्ल चार महिनापछि सोमबार समितिको बैठक त बस्यो तर विपक्षी सदस्यहरूले सभापतिकै राजीनामा मागे । बैठक अगाडि बढेन । 

विगतमा लेखा समिति निरन्तर चलिरहन्थ्यो । उसले मन्त्री, सचिवलगायत सरकारी अधिकारीहरूलाई समितिमा उपस्थित गराएर सोधपुछ र छानिबन गर्थ्यो । समिति त्यसरी सक्रिय रहँदा सरकारी अधिकारी असन्तुष्ट बन्न पुगेको वा तिनले असन्तुष्टि जाहेर गरेको घटनासमेत भए । तर, यतिखेर भने २०८१ भदौ ९ मा बत्तीसौं बैठक बसेको लेखा समितिको तेत्तीसौं बैठकका लागि पुस ८ गतेसम्म कुर्नुपर्यो ।

अब पनि सभापति पदमा पोखरेल निरन्तर रहने हो भने समितिका आगामी बैठकहरू पनि प्रभावित हुने देखिन्छ । सत्तारुढ नेकपा (एमाले)का सांसद् भए पनि संसदीय परम्पराविपरीत पोखरेल लेखा समितिको सभापति पद छाडेका छैनन् । 

त्यसमाथि सभापति पोखरेलकी पत्नी सहकारी ठगी प्रकरणमा मुछिएकी छन् । यी दुवै विषय आगामी बैठकहरूमा पनि पक्कै उछालिनेछन् । दोस्रो, सभापति पोरेलमाथि ‘डेडिकेटेड ट्रंकलाइन’ विद्युत् बक्यौता असुली प्रकरणमा बढी दलगत स्वार्थ देखाएको आरोप लागेको छ ।

खासमा लेखा समिति सभापति पोखरेल अलि 'फरक' कार्यशैली देखाएकै कारण शंकाको घेरामा तानिन पुगे । 
व्यापारिक कम्पनीले उपभोग गरेको ‘डेडिकेटेड ट्रंकलाइन’ विद्युत् बक्यौता असुली विवादमा लेखा समिति लामो समयसम्म अनिर्णित हुनुको कारण सभापति पोखरेलले दलगत स्वार्थलाई बढी महत्त्व दिएको मानिएको छ ।  

समितिहरूमा सामान्यतः सदस्यहरूको राय लिएरबहुमतको रायअनुरूप निर्णय गर्ने प्रचलन छ । तर, पोखरेलले भने सदस्यहरूको रायमा आधारित हुनुको साटो आफ्नै मस्यौदालाई पारित घोषणा गर्ने शैलीमा प्रस्तु भएर  थप  विवादित बने । सभापतिको दायित्व बहस गराउनु र बहुमत सदस्यहरूको रायअनुसार निर्णय गर्नु हो । मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले अपनाउने शैलीलाई प्रयोग गरियो भने संसदीय समिति चल्दैन । 

मन्त्रिपरिषद्मा मन्त्रीको बोलीलाई राय ठान्दै प्रधानमन्त्रीले आफूले चाहेअनुरुप निर्णय लिनसक्ने परम्परा छ । त्यो कार्यविधि समितिमा लागु हुँदैन । कुनै विषय बढी विवादित भएमा मतदान प्रक्रियाद्वारा टुंग्याउन सकेसम्म सहमतिमा नै निर्णयमा पुग्ने र कदाचित मतदान भइहाल्यो  भने मत बराबरी हुँदामात्रै सभापतिले निर्णायक मत प्रयोग गर्ने अभ्यास छ ।
 
खासमा पोखरेल ‘एमालेको स्वार्थमा बढी रुमल्लिँदा’ पनि थप विवादमा परेका हुन् । डेडिकेटेड/ट्रंकलाइन प्रकरणमा एमाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत कारबाही गराउन चाहन्छ । त्यो रणनीति बुझेका अरूले फरक मत राखेपछि निर्णयविहीन अवस्थामा पुगेको हो ।

अरूको आर्थिक विवाद वा प्रकरण सल्टाउनुपर्ने समिति सभापतिका कारण स्वयं विवादमा परिरहँदा संसदीय अभ्यासप्रति नै नकारात्मक सन्देश गएको छ । यति धेरै विवादित भएर पनि सभापतिको कुर्सीमा रहनुभन्दा पोखरेल स्वयंले पनि नैतिकता प्रदर्शन गर्दै पद त्याग गर्नु उनको। लेखा समितिको र संसदीय परम्पराको हितमा हुने देखिन्छ ।
 
सँगै संसदीय प्रचलनअनुरूप लेखा समितिको सभापति विपक्षी दललाई नै बनाउनु उपयुक्त देखिन्छ । संसदीय कालखण्डमा कहिले प्रमुख विपक्षी त र कहिले साना दलबाट सभापति हुँदाका बखत प्रभावकारी तवरमा सार्वजनिक लेखा समिति चलाएको उदाहरण नेपालमै पनि छन् । 

विसं २०५१ मा एमालेको अल्पमत सरकार हुँदा प्रमुख विपक्षी नेपाली कांग्रेस थियो । स्वाभाविकरूपमा कांग्रेस लेखा समितिको दाबेदार थियो । तर, नेपाल सद्भावना पार्टीका हृदयेश त्रिपाठी सभापति बने । उनी सभापति हुँदा लेखा समिति प्रभावकारी देखिएको थियो । 

विपक्षी लेखा समिति सभापति हुने परम्परा २०६६ जेठ तोडियो भने २०७३ मा सत्तारुढ दलले चुनावै गरेर सभापति आफैँले लिए । सत्तासँग बहुमत सदस्य हुन्छ । सत्तारुढ दल प्रतिस्पर्धामा उत्रेपछि विपक्षीले जित्ने सम्भावना थिएन । बहुमतकै आडमा चुनाव गराएर संसदीय मान्यता भङ्ग गरेको घटना नेपालको संसदीय अभ्यासमा कलङ्कका रूपमा रह्यो । विडम्बना, यतिखेर प्रमुख विपक्षीलाई लेखा समिति सभापति दिनुपर्छ भन्ने माग राख्ने माओवादीकै उम्मेदवार उतिखेर चुनावी प्रतिस्पर्धाबाट सभापति बनेका थिए ।

संसदीय इतिहासमा लागेको त्यो दाग मेटिनुपर्छ । संसदीय परम्परामा सरकारले ढुकुटी चलाउँछ भने विपक्षले निगरानी गर्छ । त्यो मान्यता पुनःस्थापित गर्न पनि लेखा समितिको सभापति विपक्षी दललाई दिइनुपर्छ । स्वस्थ र स्वच्छ संसदीय अभ्यासतिरै पाइला चाल्दा मात्रै लोकतान्त्रिक पद्धति दर्विलो बन्छ ।

सभापतिका कारण यसअघि पनि बेला बेला विवाद आइरहेकै हो । संसदीय अभ्यास परिपक्व हुँदै जाँदा कम्तीमा लेखा समितिको सभापति सधै विपक्षी हुने व्यवस्था मिलाउनु उचित हुनेछ । त्यसैले सरकार बदलिएसँगै लेखा समितिको सभापति बदलेर भए पनि विपक्षी नै हुने राजनीतिक सहमति कायम गरियोस् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro