हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ तिरतिरे धारास्थित सडकमा आज साँझ भारतीय नम्बरको कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
हेटौँडाबाट काठमाडौं जाँदै गरेको बीआर ०५ बीए ०००६ नम्बरको भारतीय कारले भैँसेबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०३–००२ प ७२६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल निवासी ३५ वर्षीय युवराज लामाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार, दुर्घटनामा गम्भीर घाइते लामालाई उपचारका लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
सोही दुर्घटनामा परी स्कुटरमा पछाडि सवार सोही ठाउँका २५ वर्षीया बबिता लामा घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने कार र चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण निवासी २४ वर्षीय सुकर्णप्रताप सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस