समयसँगै व्यक्तिको सोच बदलिन्छ । समाजमा पनि सोहीअनुसार परिवर्तन हुन्छ ।अर्थात्, परिवर्तनमात्र नित्य हो भन्ने भन्ने आप्त वचन सत्य हो ।
परिवर्तनका क्रममा विकास र विनाश दुवै हुन्छ । कुन विकास हो कुन विनाश हो भेद गर्ने कसरीरु दृष्टिकोण अनुसार दृश्य बेग्लाबेग्लै जो देखिन्छ ।
मानव समाजले पुर्खाको धरोहरका रूपमा केही संस्कार र केही सम्पदा पाएको छ । संस्कार भनिएका कतिपय प्रथा अहिले ‘कुप्रथा’ मानिन पुगेका छन् । सम्पदाका हकमा ‘कुसम्पदा’ सायद हुँदैहुँदैन ।
प्रकृति पूजा गर्ने पवित्र वस्तु हो कि कथित ‘प्रगति’को तगारो हो ? प्रकृतिको संरक्षण गर्ने कि प्रयोग ? विवाद छ । प्रगतिवादीहरू प्रकृतिको दोहनको हदसम्म प्रयोग गर्न हिचकिचाउँदैनन् ।
पूजा गर्नेहरू प्रकृतिमा जीवन देख्छन् । उनीहरूका दृष्टिमा पाथीभराको स्थानसम्म केबल कार बनाउनु त्यहाँको विनाश गर्नु हो । अनि रैथानेहरूको अधिकार र अस्मितामा अतिक्रमण हो । अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकारको वा सगरमाथामा हेलिकप्टर उडानको विरोधमा केही आधार र औचित्य त पक्कै होला ।
को सही ? को गलत ? विवादमा नअलमलिऊँ । सायद मान्यता र दृष्टिकोणका भेद अनि विवाद युगौंदेखि आआफ्नै रूपमा निरन्तर छन् । त्यसको निर्क्योल पनि सायद हुँदैन । तर, मानव जातिले मास्नमात्र होइन जोगाउन पनि जानेको छ । यस्तै समयअनुसार बदल्न र बदलिन पनि सिकेको छ सकेको छ ।
नेपालीका लागि संस्कारको परिवर्तन र सम्पदाको संरक्षण सायद विश्वका अरू धेरै सभ्यता र मुलुकका लागि भन्दा बढी महत्त्वपूर्ण छ । सांस्कृतिक विविधताका कारण नेपालमा सानो भूभागभित्र ‘सिङ्गो संसार’ जो समेटिएको छ ।
दुर्घटनाबिना पार हुन सायद बीचको बाटो समाउनुपर्छ । अहिले नसुहाउने चलनहरूलाई बदल्नुपर्छ । सुधार गर्ने सम्भावनै नभए चटक्क छाडिदिनुपर्छ । श्राद्धमा बिरालो कतिन्जेल बाँधिरहने रु भारतीय अभिनेताले हात्तीहरूलाई पोलो खेलाउँदा गरिने क्रूर व्यवहार रोक्न नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई पत्र लेखेका छन् । गढीमाईको मेलामा दिइने पशु बलिको क्रूरताको विरोध भइरहेको छ । यस्ता अनेकौं विषय छन् विचार गर्नुपर्ने ।
अनि सम्पदा नि ! मूर्त र अमूर्त सम्पदा । नेपालले संसारकै सामु गर्व गर्न सक्ने अनगिन्ती सम्पदा छन् । काष्ठमण्डप अन्त कतै छैन । काठमाडौंका जात्राहरूको व्यवस्थापनको निरन्तरता सामुदायिक व्यवस्थापनको विश्वस्तरीय उदाहरण हो । नेपालको परम्परागत सिञ्चाइ व्यवस्थापनको अध्येताले नोबल पुरस्कार पाइन् । सामुदायिक वनको उत्तम व्यवस्थापन र विकासका नेपालले पाएको सफलतामा प्रकृति पूजक संस्कृतिको योगदान नहोला र ?
कति लोक कथाहरू छन् डाँडा र खोँचपिच्छे । अनगिन्ती लोक गीत र नाचहरू छन् जाति, स्थान, समुदाय र भाषाहरूमा । तिनीहरूलाई मासिन दिने कि जोगाउनेरु अब नेपाली समाज अलि गम्भीर हुनुपर्ने बेला भयो । बेला भयो भन्दा पनि घर्किँदै छ ।
चौतराहरू धमाधम काटिएका छन् । पोखरीहरू पुरिएका छन् । मन्दिरहरूसमेत मासिँइदै गएका छन् प्रगतिका नाममा । चौतारा, पोखरी, मन्दिर जोगाएर नयाँ संरचना बनाउन सकिँदैन र रु जातिका रूपमा पनि अस्तित्व जोगियोस् भन्ने हो भने त सक्नै पर्छ ।
सरकारले उत्पादक र अनुत्पादकको परिभाषामा पुनर्विचार गरोस् । सबै जातजातिका लोक संस्कृतिको संरक्षण र अभिलेखनमा सरकारले लगानी गर्नुपर्छ । सरकारमात्र होइन निजी क्षेत्र र सामाजिक संस्थाहरूले पनि यस्ता कामलाई विकास ठान्नुपर्छ ।
लोक कथा संकलन अभियान वा चौतारो जोगाऊँ आन्दोलन चलाउँदा पछौटे होइँदैन त ! नमासिँदै नजोगाउने हो भने सधैँका लागि समाप्त हुन्छन् सम्पदाहरू । सन्तानका लागि पुर्खाले छाडेर गएका सम्पदा जोगाउने नेतृत्व लिन कोही अगाडि सर्ला ?