
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण नसोधेको दाबी गरेकी छन् । बिहीबार पार्टी कार्यालयमा पुगेकी झाँक्रीले स्पष्टीकरणको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विषय निराधार रहेको बताएकी हुन् ।
आफूले एउटा कार्यकर्ता भेलामा बोलेका विषयलाई लिएर पार्टीको ध्यानाकर्षण भएर निर्देशन जारी भएपछि कहीँ पनि सार्वजनिकरूपमा प्रतिक्रिया नदिएको उनको भनाइ छ ।
तर, पार्टीका ठूला नेताले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूविरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसाबले प्रतिवाद गर्ने झाँक्रीले बताइन् । उनले आफूले बोलेका विषयमा बैठकमा धारणा राख्ने बताइन् ।
स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमै आफूले बोलेका विषयमा स्पष्ट पार्ने मौका दिन आग्रह गर्दै उनले निवेदनमा दिएकी छन् ।
नेतृ झाँक्रीले असार १४ गते युवा संघ लुम्बिनी प्रदेशको भेलामा समयअगावै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।