site stats
बाह्रखरी :: Baahrakhari
देश
शक्तिकेन्द्रको आडमा १३ वर्षसम्म जोगिएका श्रेष्ठ अन्ततः हिरासतमा

काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशिकिरण श्रेष्ठ अदालतबाट दोषी ठहर भएको १३ वर्षपछि पक्राउ परे । तीन महिनाअघिदेखि प्रहरी वृत्त स्वयम्भूको कमान्ड सम्हालेका डीएसपी उद्धव भाट नेतृत्वको टोलीले गएको शुक्रबार उनलाई पक्राउ गरेको हो ।

उनी यसअघि देशबाहिर लुकेर बसेका कारण पक्राउ नपरेका होइनन् । स्वयम्भू निवासी उनी काठमाडौंमै निर्बाध घुमफिर गरेर बसेका थिए । अदालतबाट दोषी ठहर हुँदा पनि कानुन कार्यान्वयन गराउने प्रहरीलाई प्रभावमा पारेर उनी जोगिँदै आएको खुलेको छ ।

Argakhachi Cement Island Ad

श्रेष्ठ नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी ३९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानिनोक्सानी गरेको ठहर भएको थियो ।

उक्त कसुरसहितका दुई मुद्दामा विशेष अदालतले उनलाई ६/६ महिना कैद सजाय तोकेको थियो । ०६८ भदौ ६ गते विशेष अदालतले कर्जा प्रवाह गर्ने श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्यलगायत व्यक्तिहरूलाई दोषी ठहर गरेको थियो ।

विशेषको फैसलाविरुद्ध उनीहरू सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चका तत्कालीन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले समेत ०७३ कात्तिक २५ मा विशेषकै फैसला सदर गरेको थियो ।

तर, उनी पक्राउ पर्नबाट जोगिँदै आएका थिए । शुक्रबार समेत उनलाई पक्राउ नगर्न स्वयम्भू प्रहरीले तीव्र दबाब झेलेको स्रोतको भनाइ छ । उनलाई स्वयम्भू प्रहरीले शुक्रबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइसकेको छ ।

“अहिले पनि शशिकिरण श्रेष्ठ पक्राउ परेपछि राजनीतिक दलका केही नेता र केही प्रहरी अधिकारीबाटै उनलाई छोड्न दबाब आएको थियो,” काठमाडौं प्रहरी स्रोतले बाह्रखरीसित भन्यो, “पक्राउ नगर्न त पहिल्यैदेखि दबाब थियो ।”

उनलाई भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ । शनिबार सार्वजनिक बिदा र आइतबार पनि उधौली पर्वका कारण बिदा भएकाले उनलाई सोमबार मात्र अदालतमा पेस गर्ने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्