site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनले जनकपुरलाई हराउँदा प्लेअफ समीकरणबाट बाहिरिए विराटनगर र पोखरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध ३२ रनको जित निकालेको छ । चितवनको यो जितसँगै पोखरा एभेन्जर्स र विराटनगर किंग्स प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिएका छन् ।

जितसँगै प्लेअफ समीकरणमा कायम रहेको चितवनले सात खेलबाट आठ अंक जोडेको छ । योसँगै लिगका शीर्ष चार टिमले आठ वा सोभन्दा धेरै अंक जोडेको हुँदा विराटनगर र पोखरा अन्तिम खेलअगावै प्लेअफ समीकरणबाट बाहिरिएका हुन् ।

यी दुवै टिमले ६ खेलबाट चार अंक जोडेका छन् । अन्तिम खेलमा जित निकाले पनि यी दुई टिमले ६ अंक मात्र जोड्नेछन् । 

लिगमा जनकपुरले १० अंक जोडेको छ । सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवनले समान आठ अंक छ । यसमध्ये जनकपुरले प्लेअफ यात्रा तय गरिसकेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १८ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।

जनकपुरका मध्यक्रम ब्याटर जिम्मी निसमले ६५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । आक्रामक रूपमा प्रस्तुत भएका जिम्मीले २४ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे ।

उनले १८ बलमै अर्धशतक बनाउँदै प्रतियोगितामा सबैभन्दा छिटो ५० रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाए । जिम्मीले यसअघि आन्द्रियस गौसको नाममा रहेको यो कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । पोखरा एभेन्जर्सका गौसले यसअघि लुम्बिनी लायन्सविरुद्ध २० बलमा ५० रन बनाउँदै यो कीर्तिमान बनाएका थिए ।

६६–५ को स्थितिबाट जिम्मीले छैटौँ विकेटका निम्ति मोहमद मोहसिनसँग २६ बलमा ६० रनको साझेदारी गर्दै जनकपुरको इनिङ सम्हाल्ने प्रयास गरेका थिए ।

मोहसिने १२ बलमा दुई चौकासहित १३ रन बनाए । ओपनर आसिफ शेखले २६ बलमा चार चौकासहित २३ रन थपे । शुभ कंशाकारले १२ बलमा दुई चौका र एक छक्कासहित १५ रन बनाए ।

शनिबार पुनः जनकपुरका शीर्ष क्रम चल्न सकेन । जनकपुरका कप्तान अनिल साह आठ रनमै पभेलियन फर्किए । लहिरु मिलान्थाले पनि स्कोर बोर्डमा एक रन मात्र थप्न सके । हर्ष थाकेरले ६ रन बनाए । 

जनकपुरका अरनिको यादव ‘डायमन्ड डक’ भए । उनी एक बल नखेली रनआउट भएका थिए । ललितनारायण राजवंशी ‘डक’ भए ।

जनकपुरविरुद्ध चितवनका सोहेल तान्विर, कप्तान कुशल मल्ल र रिजन ढकालले समान दुई विकेट लिए । सोहेलले लहिरु मिलान्था र जिम्मी निसमको विकेट लिएका थिए । कुशलले शुभ कंसाकार र ललित राजवंशीको विकेट लिए । रिजनले जनकपुरका अनिल साह र शेर मल्ललाई पभेलियनको दिशा देखाए ।

अमरसिंह रौटेलाको नाममा एक विकेट रह्यो । जनकपुरका तीन ब्याटर रनआउट भएका थिए ।

पहिलो इनिङ : चितवनका कप्तान कुशलको अर्धशतक 
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनाएको थियो ।

चितवनका कप्तान कुशल मल्लले सर्वाधिक ७२ रन बनाए । एनपीएलमा कुशलको यो पहिलो अर्धशतक हो । योसँगै कुशल प्रतियोगितामा अर्धशतक बनाउने १९औँ ब्याटर बने ।

५३ रनमा खेलिरहँदा जीवनदान पाएका कुशलले ४१ बलमा तीन चौका र सात छक्का प्रहार गरे । जिम्मी निसमले बलिङ गरेको १६.३ ओभरमा आसिफ शेखले कुशलको क्याच ‘मिस’ गरेका थिए ।

कुशलले ५५–३ को स्थितिबाट रवि बोपारासँग ११३ रनको शतकीय साझेदारी गर्दै चितवनलाई बलियो योगफलसम्म पु¥याएका थिए । कुशललाई १९औँ ओभरको चौथो बलमा जिम्मीले अनिल साहबाट क्याच गराए ।

बोपाराले ४४ रन बनाए । अर्धशतक बनाउन ६ रनले चुकेका बोपाराले ३२ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । उनलाई २०औँ ओभरको दोस्रो बलमा ललितले अनिल साहबाट क्याच गराएका थिए ।

बसिल हमिदले दुई र सोहेल तान्विरले पाँच रनमा अविजित रहे ।

ओपनर हसन एसाखिलले २८ रन बनाए । हर्ष थाकेरले बलिङ गरेको सातौँ ओभरको चौथो बलमा विकेटकिपर लहिरु मिलान्थाबाट क्याच हुनुअघि एसाखिलले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । 

अर्का ओपनर विपीन रावत भने तीन रनको सस्तै स्कोरमा पभेलियन फर्किए । विपीनलाई जनकपुरका ललितनारायण राजवंशीले तेस्रो ओभरको चौथो बलमा कप्तान अनिल साहबाट क्याच गराएका थिए ।

ललितले दुई विकेट लिए । जनकपुरबाट सबैभन्दा किफायती बलर बनेका ललितले चार ओभर बलिङ गर्दा दुई मेडन फ्याँक्दै ११ रन मात्र खर्चिए । हर्ष थाकेर, मोहमद मोहसिन र जिम्मी निसमले समान एक विकेट लिए ।

शनिबारै पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro