काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्ट्सले इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध २–० को जित दर्ता गराएको छ । बुधबार राति घरेलु मैदान एलियन्ज रंगशालामा युभेन्ट्सलाई जित दिलाउन डुसान भ्लाहोभिच र वेस्टोन म्याकेनीले गोल गरे ।
युभेन्ट्सले दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५३औँ मिनेटमा भ्लाहोभिचले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । ७५औँ मिनेटमा म्याकेनीले युभेन्ट्सको अग्रता दोब्बर बनाए । यसपछि दुवै टिमबाट गोल नहुँदा युभेन्ट्सले प्रिमियर लिग च्याम्पियनविरुद्ध तीन अंक खोसेको हो ।
जितसँगै ६ खेलबाट ११ अंक जोडेको युभेन्ट्स तालिकाको १४औँ स्थानमा उक्लिएको छ । च्याम्पियन्स लिगमा युभेन्ट्सको यो तेस्रो जित हो । समान खेलबाट आठ अंकको सिटी तालिकाको २२औँ स्थानमा छ । सिटीको यो दोस्रो हार हो ।
खराब लयबाट गुज्रिरहेको सिटीले पछिल्ला १० खेलमा व्यहोरेको यो सातौँ हार हो । सिटीले सबैखाले प्रतियोगिताका पछिल्ला १० मध्ये दुई खेलमा बराबरी र एकमा मात्र जित निकालेको छ ।