site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हिंसाप्रभावितको न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी प्रतिबद्ध छ : महानिरीक्षक कुँवर

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले हिंसा प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका छन् । 

प्रहरी प्रधान कार्यालमया आज प्रहरीको अपराध अनुसन्धान विभाग र महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको संयुक्त आयोजनामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आयोजित कार्यक्रममा उनले लैंगिक हिंसा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको बताए ।

लैंगिक हिंसाबाट प्रभावित महिला, बालबालिका र ज्येष्ठ नागरिकमा न्यायको पहुँच सुनिश्चितताका साथै हिंसा नियन्त्रणका लागि देशभर दुई सय ३२ वटा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरी सेवा प्रदान भइरहेको महानिरीक्षक कुँवरले जानकारी दिए ।

उनले नेपाल प्रहरीमा लैंगिकमैत्री कार्य वातावरण र लैंगिक संवेदनशीलतालाई सुनिश्चित गर्न लैंगिक नीति ०६९लाई परिमार्जन गरी नेपाल प्रहरी लैंगिक कार्य नीति ०८१ ल्याइएको जानकारी दिए । उक्त नीति आजै सार्वजनिक गरिएको छ । यसले नेपाल प्रहरीलाई कुनै प्रकारका हिंसाप्रति संवेदनशील भई कार्य गर्न प्रेरित गर्ने विश्वास गरिएको छ । 

“हिंसा र विभेदका घटना नियन्त्रणका लागि कटिबद्ध रहँदै प्रहरीले पालना गर्नुपर्ने आचारणका विषयमा समेत आचारसंहिता बनाई कार्यान्वयन गरिएको छ । प्रविधिको विकास र आधुनिक समाजमा देखापरेको अपराधका प्रवृत्तिले थप चुनौती पैदा भएकातर्फ पनि प्रहरी केन्द्रित भएको छ,” महानिरीक्षक कुँवरले भने । 

आज प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा लैंगिक हिंसामध्ये ९१ दशमलव १ प्रतिशत चिनाजानकै व्यक्तिबाट हिंसा हुने गरेको पाइएको छ । लैंगिक हिंसाअन्तर्गत सबैभन्दा बढी घरेलु हिंसाका घटना रहेका छन् । 

प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले एकल प्रयासले मात्रै हिंसा रोक्न नसकिने भएकाले सबैको ऐक्यबद्धता आवश्यक भएको बताए । कार्यक्रममा निर्देशनालयकी प्रहरी नायब उपरीक्षक रूपा थापाले समग्र अपराधमा लैंगिक हिंसाका घटना २६ प्रतिशत रहेको तथ्यांकले देखाएको जानकारी दिए । 

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी कविता अर्याल, गृह मन्त्रालयका उपसचिव सुरेशराज जोशीलगायतले हिंसा नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो औँल्याएका थिए । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro