काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इजरायल–प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको बताएका छन् । सोमबार काठमाडौंको रत्नपार्कमा 'प्यालेस्टाइनीमाथि इजरायली जनसंहारविरुद्व देशव्यापी हस्ताक्षर अभियान'को उद्घाटन गर्दै उनले २१औँ शताब्दीमा आएर इजरायलले प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको बताए ।
उनले प्यालेस्टाइनी जनताको मुक्तिका लागि आफूहरूले आवाज उठाएको बताए । संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल तटस्थ बस्नु गलत भएको उनको भनाइ छ ।
"अस्पतालमा बम बर्साएको छ, स्कुलमा बम बर्साएको छ । गाजा क्षेत्रमा त्यहाँका प्यालेस्टाइनी नागरिकलाई नरसंहार गरेर त्यो क्षेत्र नै खाली गर्ने ढंगले अघि बढ्ने गरेर गएको छ । यति क्रूर नरसंहार २१औँ शताब्दीमा हुनु सबैको निम्ति लज्जाको विषय हो," उनले भने ।
अध्यक्ष भट्टराईले सत्य र न्यायको पक्षमा बोल्न डराउन नहुने पनि बताए । गाजा–प्यालेस्टाइन युद्ध सुरु भएको १४ महिनापछि सोमबार (आज) बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरूले हस्ताक्षर अभियान थालेका हुन् ।