किनारीकृत, राज्यले उपेक्षा गरेका, आर्थिक, सामाजिक, राजनीतिकलगायत हरक्षेत्रमा पछि परेका÷पारिएका जाति, समुदायका बारेमा साहित्यमा लेखनी नभएका होइनन् । तर, कमै छन् । झन् तनहुँ, नवलपरासी र गोरखालगायत जिल्लाका नारायणी नदीको किनार र आसपासमा बसोबास गर्ने लोपोन्मुख आदिवासी जनजाति दरै समुदायका बारेमा साहित्य सिर्जना यसअघि खासै भएको देखिँदैन ।
पृथ्वीनारायण शाहले कर्णाली क्षेत्रलाई विभिन्न दरामा बाँडेपछि दराई शब्द प्रचलनमा आएको भनिन्छ । महाभारत, मनुस्मृति, हरिवंशपुराणजस्ता हाम्रा पौराणिक ग्रन्थहरूमा समेत दरै जातिको चर्चा पाइन्छ । दरै जातिकै विषयमा कथानकता बुनेर नेपाली आख्यानमा झुल्केका सर्जक हुन्, माधव बिडारी ।
प्रकृति पूजालाई आफ्नो मौलिकता बनाउने जाति हो, दरै । आफ्नो मौलिक भाषा, चुट्का र घाटु नाच, सोहोरै, गुराउजस्ता संस्कारलाई मान्ने जाति दरै धार्मिक र सांस्कृतिक वैभवताको धनी समुदाय पनि हो । यही समुदायको जीवन दर्शनका विविध पाटाहरूलाई आधार मानेर लेखिएको कृति हो, ‘फेरिल’ ।
फेरिलको अर्थ हुन्छ परिवर्तन । यसमा दरै जातिको समाजको जीवन्त चित्रण गरिएको छ । तिनको छुट्टै पहिचान र संस्कृतिको विविध रूपमा चर्चा गरिएको छ । उनीहरूका रूढिवादी विश्वास, अशिक्षा, गरिबी, उत्पीडनका कथाव्यथाका साथै दैनिकी, परम्परा र सांस्कृतिक सम्बन्ध, तिनका प्रगति र उल्झनका जरा पनि खोतल्ने प्रयास यस उपन्यासले गरेको छ ।
उपन्यासमा तिनका लोप हुँदै गएका मौलिक सवालहरूको जानकारी दिने प्रयत्न गरिएको छ ।
उपन्यासकारले जातिपातीको भेदभावले समाजमा सृजित समस्या, पीडितमा हुने पहिचानप्रतिको लालसा उपन्यासका पात्रहरूमार्फत बाहिर ल्याएका छन् । यतिचाहिँ भन्न सकिन्छ, उपन्यासकार दरै समुदायको पहिचानलाई सौन्दर्यीकरण गर्न सफल भएका छन् ।
यसमा सामाजिक मुद्दाहरू उठान भएका छन् । दरैको अध्यात्मचेत, जसलाई दैनिकीमा जोडिएर उनीहरूलाई कमजोर बनाइरहेको छ, यी विषयलाई कलात्मक सौन्दर्यका साथ जोडेका छन् उपन्यासकारले । दरै जातिका संवेदना उजागर गरिएको दरैहरूको आवाजको प्रतिध्वनि यस उपन्यासमा गुन्जिएको छ भनिरहँदा अतिशयोक्ति हुन्न ।
उपन्यासको पूर्वकथामा दरै जातिको फिरन्ते परम्परा, इतिहास, विभिन्न प्रचलित किस्सा, दरैहरूका धर्मसंस्कृति, मादीको छालले कैयन् मान्छे निलेका दुःख, रोगका अनेक कहरबाट भएको नरसंहार, मादीको भेलले लगेको घरबार, प्रकृतिपूजक, रहनसहन, पेसालगायत विषयमा जानकारी राखिएको छ ।
यसमै छ, अर्काकी श्रीमती भित्र्याउँदा रिठाइले जारी तिरेको प्रसंग । बिस्तारै दरै समुदायको उत्थानको निम्ति भनेर गैरसरकारी संस्था समुदायमा पस्छ । उप्रान्त, पढ्नपर्छ भन्ने भावनाको विकास हुन्छ ।
यसैबीचमा उपन्यासलाई केही यौनिक प्रसंगतर्फ पनि मोडिएको छ । यसमा तन्नेरी अवस्थामा हुने शारीरिक परिवर्तनका कुरा, त्यसले पार्ने मनोवैज्ञानिक असर र जिज्ञासा पनि मज्जाले प्रस्तुत गरिएको छ ।
केटीहरूप्रतिको आकर्षणको सन्दर्भ पनि यसमा छ । बाआमालाई राप्ती नदीले निलेपछि गैरसरकारी संस्थाकै सहयोगमा पढाइ अगाडि बढाएको लोकमान त्यही संस्थामा जागिर खान्छ र पाल्पालाई कार्यक्षेत्र बनाउँछ ।
ऊ कार्यरत संस्थामा एक ब्राह्मण परिवारकी छोरी पनि हुन्छिन् । ऊसँगको सामीप्य र भेटले उनीहरूबीच विवाहपूर्वको शारीरिक सम्बन्धलाई पनि उपन्यासमा जोडिएको छ । यसले पाठकलाई अलि भ्रममा पार्छ कि विवाहपूर्वको यौन सम्पर्कलाई वैधता दिने प्रयास त भएको होइन ! उनीहरूबीच विवाह हुन्छ । राम्रो कमाइ भएसँगै काठमाडौंमा घर बनाउँछन् । सन्तानसुखको अप्राप्तिपछि सुखद सम्बन्धमा पनि दरार आउँछ । र, सुलोचना निस्कन्छिन् ।
ऊ भने पाल्पाको दरै गाउँको मुहार फेर्नतिर लाग्छ । देशभरि फैलिएको द्वन्द्वको राँको दरै बस्तीमा नआइपुग्ने कुरै भएन । हत्या, आतंकको शृंखला चल्ने नै भयो । केही द्वन्द्वरत पात्रहरूसँगको भेटको प्रसंगले पनि उपन्यासमा स्थान पाएको छ ।
देश र जनताको भलोका लागि बलिदानीपूर्ण भावनाले काम गरेको बताउँथे योद्धाहरू । क्रमशः शान्तिवार्ता भयो । बन्दुक बोक्ने विद्रोही सिंहदरबार पुगे । फेरि ऊ पाल्पाको दरै समुदायमै फर्किन्छ ।
तर, त्यहाँको खण्डहर अवस्थाले ऊ दुःखित हुन्छ । भत्किएका घर, सुनसान वातावरण, किलामै मरेका गाई, अस्तव्यस्त र मान्छेविहीन बस्ती ! यसैबीच ऊ मन पर्न थाल्छ लोकलाई । अनेक कथा, उपकथासँगै उपन्यास अघि बढ्छ ।
उपन्यासको कथानकताको अन्तर्वस्तु र शिल्प पक्ष ठिकै देखिन्छ । यथार्थलाई कल्पनाको जलपले सिँगारिएको लाग्छ । मानवीय संवेदना पनि यसभित्र झल्केका छन् ।
उपन्यासले द्वन्द्वकालीन परिवेश चित्रण गरेको छ । दरैहरूमा समयानुसार कोरिएका परिवर्तनका धर्साहरू पनि उपन्यासमा प्रस्ट देखिन्छ । उपन्यासको राम्रो पक्ष सामाजिक र सांस्कृतिक परिवर्तनको नाउँमा विभिन्न गैरसरकारी संस्थाहरूले नजानिँदो पारामा गर्ने सांस्कृतिक अतिक्रमणप्रतिको सजगता जरुरी भएको दर्साएको छ । उपन्याससमा नारीहरूको चरित्र चित्रण पनि जीवन्त रूपमा गरिएको छ । वास्तवमा यो उपन्यासको कथा अर्ग्यानिक लाग्छ ।
केही अस्वाभाविकता पनि उपन्यासमा देखिन्छ । जस्तै, माग्नेलाई दिएको सयको नोट पाएपछि केही क्षणमै पचास रुपैयाँ माग्नेले फिर्ता दिएको, कतिपय आकस्मिकताका विषय पनि देखिएका छन् ।
प्रेमिल भाव, यौनिक मादकताका कारण यौन उपन्यासजस्तो लाग्छ । उस्तै छ यसभित्रका शब्दहरूको चयन पनि । पात्रहरूको डिजिटल वार्ता (मेसेन्जर वार्ता)मै उपन्यासले धेरै समय व्यतीत गरेजस्तो पनि लाग्छ ।
जे होस्, उपन्यास अर्ग्यानिक तथा फरक स्वादका साथ पठनीय पनि बनेको छ ।