काठमाडौं । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङप्रेरित लुम्बिनीले लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार टस जितेर सुरुमा ब्याटिङ गर्ने आफ्नो निर्णयलाई सही साविक गर्दै रोहितले अर्धशतक प्रहार गरेपछि लुम्बिनीले निर्धाति २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गर्यो ।
इनिङको अन्तिम बलमा रनआउट भएका लुम्बिनीका रोहितले ९५ रन बनाए । शतक बनाउन पाँच रनले चुकेका रोहितले उनले ५९ बलमा १० चौका र चार छक्का प्रहार गरे । प्रतियोगितामा रोहित अर्धशतक बनाउने १०औँ ब्याटर बने ।
४६–३ को कठिन स्थितिबाट रोहितले चौथो विकेटका निम्ति टम मोरिससँग ११० रनको शतकीय साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हालेका थिए ।
जारी प्रतियोगितामा चौथो विकेटका निम्ति बनेको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि, चितवनका कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए । कुशल र रविले पोखराविरुद्ध नै यो साझेदारी बनाएका थिए ।
मोरिसले ४५ रन बनाए । अर्धशतक बनाउन पाँच रनले चुकेका मोरिसले ३८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । मोरिसलाई १९औँ ओभरको अन्तिम बलमा आन्द्रियस गौसले रनआउट गरेका थिए ।
लुम्बिनीको खातामा सन्दीप जोराले १८ रन थपे । सातौँ ओभरको पहिलो बलमा म्याट क्रिट्च्लीबाट एलबीडब्लूको धरापमा पर्नुअघि सन्दीपले १५ बलमा दुई चौका र एक छक्का प्रहार गरे । विवेक यादव दुई रनमा अविजित रहे ।
त्यसअघि लुम्बिनीका दुवै ओपनर डक भएका थिए । ओपनर आशुतोष घिरैया पहिलो ओभरको तेस्रो बलमा विपीन खत्रीबाट एलबीडब्लू आउट भए । अर्का ओपनर उन्मुक्त चन्द पनि चार बल खेल्दै रन नजोडी पभेलियन फर्किए । उन्मुक्तलाई तेस्रो अोभरको दोस्रो बलमा विपीन खत्रीले रेमन रेफरबाट क्याच गराएका थिए ।
पोखराका विपीन खत्रीले दुई विकेट लिए । तीन ओभर बलिङ गरेका विपीनले १८ रन खर्चिए । म्याच क्रिट्च्लीको नाममा एक विकेट रह्यो ।
लुम्बिनी र पोखरा आज पहिलो जितको खोजीमा छन् । लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । यता, पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।