
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई प्रतिशोधका आधारमा फसाउन खोजेको निष्कर्ष निकालको छ ।
शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रूपमा अध्यक्षमाथि झुटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । उनले षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको उल्लेख गरे ।
"षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइयो । प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले अदालतबाट सफाइ पाउने विश्वास छ," उनले भने ।
त्यस्तै, उनले नेपालले पार्टी अध्यक्षकै रूपमा काम गर्ने र संसदीय दलको नेताका विषय भने दलको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष माधव नेपालले पतञ्जली जग्गाका विषयमा विस्तृत रूपमा जानकारी गराएका थिए ।
बैठकले उखु किसान उत्पादकलाई दिँदै आएको अनुदान बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ । त्यस्तै, धान रोपाइँको समयमा मलको अभाव भएकाले यथाशीघ्र मल वितरण गर्न माग गरेको छ भने मनसुनका समयमा हुन सक्ने विपद्लाई ध्यान दिई प्रभावकारी तयारी गर्न सरकारसँग माग गरेको प्रवक्ता ज्वालाले बताए ।