site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपचुनावले रास्वपालाई काठमाडौं–१६ मा खुम्च्यायो, मिसन–८४ लाई धक्का !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहका वडाहरूमा पाएको मत काठमाडौं–१६ को भन्दा कम देखिएको छ । अर्थात्, काठमाडौंबाहिर एक वडाबाहेक अन्यत्र उसको जमानत जफत भएको छ ।

काठमाडौं–१६ मा दुई हजार ९०५ मत पाएको रास्वपाले काठमाडौं बाहिरका वडामा जम्मा दुई हजार ३७२ मतमात्र पाएको छ । रास्वपा ओखलढुंगाको मोलुङ–५ मात्र जमानत जोगाउन सफल भएको छ । उसले अन्यत्र उसको लज्जास्पद मत देखिन्छ ।

Dabur Nepal
NIC Asia

०८४ को चुनावमा प्रमुख ठूला दलको हैसियत खोस्ने नारा दिएको रास्वपालाई स्थानीय तहको उपचुनावले राम्रैसँग धक्का दिएको छ । पहिलोपटक स्थानीय तहमा उत्रिएको रास्वपा काठमाडौं–१६ मा रोजिना श्रेष्ठ वडाध्यक्ष निर्वाचित हुँदा शून्य हुनबाट जोगियो ।

काठमाडौं–१६ मा नेकपा (माओवादी केन्द्र)ले उमेदवार बनाएको थिएन । कीर्तिपुरमा स्वतन्त्रलाई सघाउने धारणा सार्वजनिक गरेको रास्वपा कुनै उमेदवारको समर्थनमा खुलेन । यसले माओवादी र रास्वपाको अघोषित सहकार्य भएको विश्लेषण भइरहेको छ ।

त्यसबाहेक काठमाडौं–१६ को विषयमा नेपाली कांग्रेसका नेताहरू ‘सोसल इन्जिनियरिङ’मा भएको लापरबाही र गुटगत राजनीतिक रास्वपा उमेदवारको विजयसँग जोडेर हेरिरहेका छन् । नेवार समुदाय र त्यसभित्र पनि ज्यापु समुदायबाहुल काठमाडौं–१६ मा कांग्रेसले देवेन्द्र पाठकलाई उमेदवार बनाएको थियो ।

यसअघि, दुईपटक मुकुन्द रिजालले जितेको वडामा यसपालि पनि टिकट नपाउँदा नेवार समुदायले आफूलाई बहिष्करणमा पारिएको महसुस गरेको नेवार समुदायबाटै प्रतिनिधित्व गर्ने नेताहरूको बुझाइ छ ।

“एउटा त तयार पारिएका उमेदवारविरुद्ध पाठकलाई उमेदवार बनाउन चाहनेहरूबाटै षड्यन्त्र भयो भन्ने बुझाइ बन्यो । दोस्रो यस वडामा प्रकाशमान सिंहज्यूले उमेदवार छान्दा स्थानीयहरूको सुझाव नलिएको भन्ने बुझाइ छ,” ती नेताले बाह्रखरीसँग भने, “त्यसबाहेक कांग्रेस नेताहरूबीचको गुटगत संघर्ष र रास्वपाले नेवार समुदायबाटै उमेदवार बनाउनु र माओवादीको मत पनि थपिँदा जितमा परिणत हुन पुग्यो भन्ने लाग्छ ।”

रास्वपाले उपत्यका बाहिर पाएको मत

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको चुनावमा भाग लिएको रास्वपाका उमेदवार नविनकुमार विश्वास ३७५ मत पाए । उनले जमानत जोगाउन सकेनन् ।

यस्तै, ताप्लेजुङको सिरीजंगा गाउँपालिका–३ मा वडाध्यक्ष लडेका रास्वपाका उमेदवार देवीप्रसाद पौडेलले सात मतमात्र पाए । तेह्रथुमको लालीगुँरास नगरपालिका–८ मा सञ्जीव खड्काले ३८ मत पाए । सुनसरीको गढी गाउँपालिका–६ शशिकुमार साहुले ३३ मत पाए ।

ओखलढुंगाको मोलुङ गाउँपालिकामा भने रास्वपाले तुलनात्मक राम्रो मत पाएको छ । मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष चुनावमा रास्वपा उमेदवार विष्णुप्रसाद पोखरेलले १५१ मत पाए ।

कांग्रेसकै वडा सभापतिका छोरा पोखरेल रास्वपाबाट चुनाव लडिरहँदा कांग्रेसले भने ०६४ सालमा गाविस अध्यक्ष बनिसकेका घनश्याम दाहाललाई उमेदवार बनाएको थियो । उनले कांग्रेसभित्रको असन्तुष्टि सम्हाल्न नसक्दा पोखरेलका पक्षमा भोट गएको स्थानीय नेताहरूको भनाइ छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ मा रास्वपा उमेदवार ध्रुवप्रसाद पोखरेल २०२ मत ल्याएर पाँचौँ स्थानमा परे ।

सहरी क्षेत्रमा पडक देखाएको रास्वपाको मधेस प्रदेशको मुकाम रहेको धनुषामा भने त्यस्तो देखिएन । धनुषाधाम नगरपालिका–१ मा रास्वपाका वडाध्यक्ष उमेदवार रामनरेश दास जम्मा १० मतमा सीमित भए । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षका रास्वपा उमेदवारले त जम्मा चार मतमात्र पाए ।

महोत्तरी त्यस्तो जिल्ला हो, जहाँ रास्वपाले राष्ट्रिय सम्मेलन आयोजना गरी मधेसमा आफ्नो प्रभाव विस्तार भएको घोषणा गरेको थियो ।

यस्तै, नुवाकोटको ककनी गाउँपालिका–२ मा रास्वपाका उमेदवार मंगलसिद्धि लामा तामाङले ८३ मत पाए । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा रास्वपाका आशाविर बलले ८३ मत प्राएका छन् ।

गोरखाको सदरमुकाम रहेको गोरखा नगरपालिका–५ मा रास्वपाका वडाध्यक्ष उमेदवार मंगलबहादुर थापाले ८२ मत ल्याएका छन् । गुल्मीको मुसीकोट नगरपालिका–१ मा रास्वपाका वडाध्यक्ष उमेदवार विकास थापाले ४३ मत पाएका छन् ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा रास्वपाका वडाध्यक्ष उमेदवार अवधेशकुमार चौधरीले ९२ मत पाए । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षमा रास्वपाका उमेदवार वासुदेव शर्माले १७ मत पाए ।

कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्लाको दुल्लु नगरपालिका–१३ मा रास्वपाका वडाध्यक्ष उमेदवार रामबहादुर शाहीले ५३ पाएका छन् । दैलेखकै महाबु गाउँपालिकाको अध्यक्षमा उमेदवार बनेका रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत पाएका छन ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा रास्वपाका वडाध्यक्ष उमेदवार हिमबहादुर पुनले सात मत ल्याए । कालिकोटको तिलागुफा नगरपालिका–४ मा रास्वपाका वडाध्यक्ष उमेदवार गगन बलमले छैठौँ स्थानमा रहँदै पाँच मत पाए ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा उममेदवार बनेकी रास्वपाकी पार्वती पुनले १७९ मत ल्याएकी छन् । डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा वडाध्यक्ष उमेदवार रास्वपाका जानकीकुमारी खड्का कुँवरले ३१ मत पाएकी छन् । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा रामदत्त भट्टले २१८ मत ल्याएका छन् । उदयपुरको बेलका–९ मा रास्वपा उमेदवार तेजमान विश्वकर्माले १२३ मत पाउँदा हुम्लाको सर्केगाडको उपाध्यक्षमा रास्वपा उमेदवार नरेश शाहीले जम्मा २५ मत पाए ।

दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्षमा रास्वपा उमेदवार गोमा श्रेष्ठले १०० मत पाइन् ।

के भन्छ रास्वपा ?

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झा काठमाडौं–१६ मा जति मत देशभर नपाउनुमा पार्टीको संगठन नै प्रमुख कारण भएको स्वीकार गर्छन् । सहरी क्षेत्रमा मतदाताले आफ्नो सूचना र विवेकका आधारमा भोट हाल्ने भएकाले काठमाडौं–१६ को परिणाम आफ्नो पक्षमा आएको र ग्रामीण क्षेत्रमा संगठनले मात्र काम गरेको हुँदा रास्वपाको संगठन नै नबन्दा चुनावी परिणाममा खुम्चिनुपरेको उनको बुझाइ छ ।

काठमाडौं–१६ मा रास्वपा कार्यालय रहेका कारण केही सन्देश गएको र कांग्रेसले गरेको ‘सोसल इन्जिनियरिङ’को कमजोरी र घात–प्रतिघातको लाभ पनि रास्वपाले नै पाएको पनि उनले बताए ।

धनुषा, महोत्तरी जस्ता क्षेत्रमा पनि भोट नआउनुका पछाडि उमेदवारको छनोटमा भएको कमजोरी, उमेदवारहरूको परिचालनमा आएको समस्या कारण भए पनि संगठन नहुनु नै प्रमुख कारण भएको उनको बुझाइ छ ।

उनी गत वर्ष फागुन २१ मा रास्वपा सरकारमा गएपछि संगठनका कामबाट विमुख भएको भन्दै सरकारबाट बाहिरिएपछि अनेक झमेलामा गुज्रिएको बताए ।

“व्यक्तित्व र रणनीतिले काम गर्ने भनेको सहरी क्षेत्रका मतदातामा हो । ग्रामीण क्षेत्रमा संगठन नै प्रमुख कुरा हो,” झाले भने, “हामीले हाम्रा सबल र दुर्बल पक्ष बुझेका छौँ । त्यसकारण मिसन–०८४ लाई यसले हामीलाई पाठ दिएको छ ।”

उनले आफ्नो कमजोरी स्वीकार गरिरहेको भन्दै कमजोरी मेटाएर अगाडि जाने तयारी रहेको बताए ।

“हाम्रो कमजोरी के हो भने संगठन हो । अवसर के हो भने नयाँ राजनीतिक संस्कार हो,” झाले भने, “हाम्रो चुनौती के हो भने पुराना पार्टी हुन्, पुरानो राजनीतिक विचार पनि थ्रेट हो, मतदाता पनि थ्रेट हो । किनभने हामीले जति मेहनत गरे पनि त्यहीँ गएर भोट दिन्छ ।”

उनले महोत्तरीमा राष्ट्रिय भेला गरेर पनि फर्किएर जान नसक्दा त्यहाँ कुनै प्रभाव देखिन नसकेको स्वीकार गरे । धनुषाका सहरी क्षेत्रमा उमेदवार छनोटमा भएको कमजोरीले मतदातामा प्रभाव छाड्न नसकेको बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro