site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

गत भदौ ३१ गते अधिवेशन समापनपश्चात् संसद्‌बाट बाहिरिएका सांसदहरूको अत्तोपत्तो नभएपछि स्वाभाविक प्रश्न उठेको छ - आफ्नो जिम्मेवारी बोध गर्दै सांसदहरू विधेयकमाथि दफाबार छलफल गर्न कहिले फर्किएलान् ? असोज लागेसँगै दसैँ आयो, कात्तिकमा तिहार, छठ लाग्यो । त्यसपछि सीमित ठाउँमा भएका उपनिर्वाचन पनि तिनै सांसदहरूलाई लाग्यो ।

अधिवेशन चालु नहुँदा संसदीय समितिलाई क्रियाशील बनाएर अति आवश्यक विधेयकलाई किनारा लगाइनुपर्थ्यो । यस्तै सरकारमाथि पनि निगरानी गरिरहनुपर्छ भन्ने जिम्मेवारीबोध कसैले गरेको देखिएन । संसद्ले दुई दर्जनको हाराहारीका महत्त्वपूर्ण विधेयकहरू दफावार छलफल गरी टुंग्याउन संसदीय समितिलाई दिएको थियो । तर, ती काम संसदीय समितिको प्राथमिकतामा परेको पाइँदैन ।
 
यसबीच राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभाका समितिहरूले एकाधपटक बैठक राखे । तर, अरू समिति न बैठक राखेर विधेयकका दफामाथि घोत्लिए न सरकारलाई चनाखो निगरानी नै गरे । संवैधानिक दायित्व पूरा नगरे पनि सांसदहरूले राज्यको ढुकुटीबाट नियमित पारिश्रमिक भने बुझिरहेकै छन् । जनप्रतिनिधि कुनैले पनि अढाइ महिनासम्म कुनै काम नगरेकाले पारिश्रमिक लिन्न भनेको भने सुनिएन । कुनै कामै नगरी पारिश्रमिक लिनुलाई उचित र 'नैतिक' ठान्न सकिन्छ ?

हामी कहाँ कुनै बेला संसदीय समितिले पाँच दिनभित्रै विधेयकका दफामा सघन छलफल गरी टुंग्याएको इतिहास पनि छ । सँगै महत्त्वपूर्ण विधेयकका हकमा नियमावलीका प्रावधानसमेत निलम्वन गरी ‘फास्ट ट्रयाक’ पद्धति अपनाउँदै पारित गरेको उदाहरण पनि नभएको होइन । तर, पछिल्लो कालखण्डका संसदीय कर्म हेर्ने हो भने निराश हुनुपर्ने स्थिति देखिन्छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विसं २०७६ माघको पहिलो साता दर्ता भएका भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक, अख्तियार दुरूपयोग अनुसन्धान आयोग विधेयकजस्ता विधेयक पाँच वर्षदेखि निष्कर्षविहीन छन् । सुशासनका अलाप जप्न कुनै कसर बाँकी नराख्ने जनप्रतिनिधिहरूमा भ्रष्टाचार न्यूनीकरण कानुन संशोधन निम्ति रुचि  भने पटक्कै देखिएन । 

नेपालको संविधान, २०७२ जारी भएपछि संविधानतः मुलुकले संघीयता अपनायो र तीन तहको सरकारको अवधारणा गयो । ती अवधारणासँगै संविधानमै अधिकारदेखि साझा अधिकारका सूची लिपिबद्ध भए । तर, संविधानले निर्देश गरेअनुरूप संघीय सरकाररसंसद्ले कानुन नबनाई दिँदा अनकौं समस्या पैदा भएका छन् ।

Royal Enfield Island Ad

उतिबेला ‘तत्काल’ पारित हुनुपर्छ भन्ने शब्दावलीसहित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत भएको थियो । यो विधेयक २०७५ माघ २७ गते संघीय संसद्मा दर्ता भएर एक सातापछि फागुन ३ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो । त्यो विधेयक छ वर्ष हुँदा पनि कानुन बन्न पाएको छैन । लाग्छ, ‘तत्काल’ शब्दको अर्थ नै बदल्न खोज्दैछन् हाम्रा सांसदहरू ।

बहुचर्चित उक्त विधेयकमाथि राज्य व्यवस्था समितिमा ५५ वटा बैठक गरी २०७७ असारमै प्रतिवेदनसहित पारित गरेर निर्णय गर्न प्रतिनिधि सभामा पठाइएको थियो । त्यसरी बैठक गरी विधेयकको प्रतिवेदन कोर्न राज्यको राम्रै खर्च भएको थियो । तर, दुईपटक प्रतिनिधिसभा विघटन र सरकारमा हेरफेरसँगै विधेयक फिर्ता हुन पुग्यो । 

गतवर्ष फागुनमा बल्लबल्ल दर्ता भएको विधेयक फेरि राज्य व्यवस्था समितिमै अल्झिन पुग्यो । संसदीय निस्क्रियताका कारण अझै कहिले टुंगिने हो भन्ने किटान गर्न कठिन छ । सँगै छ वर्षसम्म विधेयकलाई अन्तिमरूप दिन नसक्नुलाई संसद्को अकर्मण्यता ठान्ने कि सरकारी अनुत्तरदायिता रु यस्ता दृश्यले व्यवस्थाप्रति कस्तो सन्देश प्रवाह गर्ला रु 
 
त्यस विधेयकको मूल उद्देश्य संघीय निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउनु हो । सँगै कानुन नहुँदा संघ, प्रदेश र स्थानीय तहमा समायोजन व्यवस्थापन कठिनाइ बनेको छ  । संघले कानुन नबनाइँदिँदा प्रदेश र स्थानीय तहले कानुन बनाउन पाएका छैनन् । लामो समय संसद्मै बन्धक बन्दा कर्मचारीतन्त्रमा संक्रमणकालीन स्थिति पैदा भएको छ । कर्मचारीतन्त्रको व्यवस्थापन नहुँदा संघीय पद्धतिलाई धरापमा पार्दै लगेको छ ।

त्यसरी नै अल्झनकै मारमा परेको छ ( ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकृत विधेयक’ पनि । सार्वजनिक विद्यालयका शिक्षककर्मचारीको नियुक्ति, पदीय आचरण, सरुवा, कारबाही तथा अवकाशमा विषयमा देशभर एकरूपतता काम गर्न कानुन चाहिएको हो । त्यसअतिरिक्त शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्डको संरचनात्मक व्यवस्थामा बाधा देखापरेको छ कानुन नहुँदा । 

यसरी भ्रष्टाचार निवारण, निजामती सेवा, शिक्षा मात्र होइन कि तीन दर्जन विधेयक कुनै समितिमा विचराधीन छन् भने कुनै समितिले मूल सदनमा प्रतिवेदनसहित पेससम्म गरेको अवस्था छ । कुनै विधेयक सांसदहरूलाई वितरणमै सीमित राखिएको छ ।

संविधान जारीपछिका संवैधानिक अधिकार कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहका काम, कर्तव्य जिम्मेवारी पूरा गर्न कानुन चाहिन्छ । संविधानमा अधिकार कर्तव्यका धारा वा सूची कुँदेरमात्र हुँदैन तिनलाई व्यवहारमा उतार्न पहिला कानुन बन्नुपर्छ, अनि नियमावलीहरू पनि । 

दुर्भाग्य, संविधान जारी भएको नौ वर्ष पूरा हुँदा पनि अति आवश्यक कानुन नबन्दा कतिपय अधिकारहरू संवैधानिक सौन्दर्यमै सीमित छन् । त्यसअतिरिक्त कानुन बनेपछि नियमावली बन्न उस्तै समय लाग्छ बोझिलो कर्मचारीतन्त्रका कारण । निष्कर्षमा भन्नैपर्छ - कानुन निर्माणका हकमा न सरकार चुस्त छ, न संसद्–संसदीय समिति नै क्रियाशील ।

अधिवेशन चालु नहुँदाका बखत समितिमा विचराधीन विधेयक टुंगो लगाउन सभामुख र संसदीय समितिका सभापतिहरूले सक्रिय भूमिका खेल्न सक्थे । सांसदहरूलाई अनिवार्य उपस्थितिको सूचना जारी गर्दै अनुपस्थित सांसदहरूका हकमा प्रश्न उठाउन सकिने ठाउँ थियो  । तर, त्यो दायित्व पूरा गर्न न सभामुखमा सक्रियता देखियो न सभापतिहरूमै । सांसदहरूमा पनि जिम्मेवारीबोधको अभाव हुँदा संसदीय पद्धतिलाई प्रभावित पारिरहेको छ ।

हामी कहाँ आफूलाई प्राप्त जिम्मेवारी पूरा नगर्ने दोष चाहिँ व्यवस्थामाथि थोपर्ने प्रवृत्ति बढ्दो छ । यसमा नागरिकले पनि मूल्यांकन गर्नुपर्छ - व्यवस्था खराब हो कि पात्रहरूको गैरजिम्मेवार नालायकी प्रवृत्ति ?
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro