काठमाडौं । विश्वभर युट्युबको लोकप्रियता बढ्दै गइरहेको छ । संयुक्त अधिराज्यमा १६ देखि २४ वर्ष उमेरसमूहका ५० प्रतिशत मानिसहरू टेलिभिजनभन्दा युट्युबमा कार्यक्रम हेर्न मन पराउँछन् । यसै वर्ष युट्युबले संसारका चर्चित डिज्नी, प्यारामाउन्ट, फक्स, नेटफिलिक्स र अमेजन जस्ता ओटीटी प्लेटफर्मलाई पछि पार्यो ।
ब्लुमबर्गको प्रविधि पत्रकार र युट्यबुका बारेमा ‘लाइक, कमेन्ट एन्ड सस्क्राइब्स् युट्युब्स क्योटिक राइज टू वर्ल्ड डोमिनेसन’का लेखक मार्क बर्गेन भन्छन्, “युट्युबमा अनेक प्रकारको कन्टेन्ट भेटिन्छ ।”
उनी थप्छन्, “यो हाल सबैभन्दा लोकप्रिय अनलाइन प्लेटफर्म हो र विज्ञापनदाताका लागि मानिसहरूसम्म पुग्ने ठूलो माध्यम हो । युट्युब भिडियोहरूको सबैभन्दा ठूलो भण्डार हो । युट्युबमा सर्च गरेर मानिसहरूले धेरै कुरा हेर्न सक्छन् ।”
सन् २००५ मा सुरु भयो
अनलाइन भिडियो सेयर प्लेटफर्म युट्युब सन् २००५ मा सुरु भएको थियो । यसमा अपलोड गरिएको पहिलो भिडियो १९ सेकेन्डको मात्र थियो । युट्युबमा पहिलो भिडियो युट्युबकै सह–संस्थापकले क्यालिफोर्नियाको सान डिएगोमा रहेको चिडियाखानाभित्र घुमिरहेको बेला रेकर्ड गरेका थिए ।
त्यसको एक वर्षपछि गुगलले १.६५ विलियन डलरमा युट्युब खरिद गर्यो । त्यसयता युट्युब निरन्तर बढ्दो छ । विश्वभरमा युट्युब हेर्नेहरूको संख्या भारतमा सबैभन्दा बढी छ । भारतमा करिब ४० करोड मानिसले युट्युब हेर्छन् । युट्युब विश्वका १०० भन्दा बढी देशमा उपलब्ध छ ।
मार्क बर्गनका अनुसार ब्राजिल र इन्डोनेसियालगायत कयौँ उदीयमान बजारहरूमा युट्युबले टीभी च्यानलहरूको स्वरुप बदलेको छ । यस्ता देशहरूमा मनोरञ्जन र समाचारको मुख्य स्रोत पनि युट्युब नै बनेको छ ।
मार्क बर्गन भन्छन्, “युट्युबका एक पूर्वकर्मचारीले मलाई भनेअनुसार कम्पनीको मन्त्र नै थियो– चुनौती, मजाक वा सत्य ?” सुरुआतमा मनोरञ्जन क्षेत्र र विज्ञापन कम्पनीहरूले युट्युबलाई गम्भीरतापूर्वक लिएका थिएनन् ।
त्यसपछि युट्युबको दोस्रो चरण सुरु भयो जसमा हलिउड, टीभी उद्योग, नेटफ्लिक्स र अमेजनका लागि युट्युब खतरा बनेर उदायो । “युट्युबले आफ्नै मौलिक शोहरू बनाउन थाल्यो र नेटफिलिक्स जसरी जस्ता उपभोक्ताहरूबाट सदस्यता शुल्क लिन थाल्यो,” बर्गन भन्छन् ।
बर्गनका अनुसार २०१६ मा युट्युबले मौलिक र महंगा सामग्री बनाउन थाल्यो । तर यसले नेटफ्लिक्स जस्ता कम्पनीको लगानीसँग प्रतिस्पर्धा गर्न सकेन र २०२२ मा युट्युबले यो महंगो विभाग बन्द गर्यो ।
मार्क बर्गनका अनुसार आजभोलि मानिसहरू युट्युबलाई उपयोगिता प्लेटफर्मको रूपमा प्रयोग गर्छन् । उदाहरणका लागि, खाना बनाउनदेखि लिएर कुनै पनि चिज मर्मत गर्ने भिडियोहरू हेर्न युट्युब प्रयोग गरिन्छ ।
मानिसहरूलाई चाहिने अधिकांश भिडियोहरू युट्युबमा सजिलै उपलब्ध हुन्छन् । युट्युबका आफ्नै स्टारहरू छन् जसको लोकप्रियता हलिउड स्टारहरूभन्दा कम छैन । २६ वर्षीय कन्टेन्ट क्रिएटर मिस्टर बिस्टको युट्युब च्यानलले यस वर्षको जुनमा भारतीय संगीत कम्पनी टी–सिरिजको च्यानललाई उछिन्यो । बिस्टका ३२ करोड सब्सक्राइबर छन् । युट्युब र यसका प्रख्यात सामग्री सिर्जनाकर्ताहरूले विज्ञापनहरूमार्फत आम्दानी पनि गर्छन् । उनीहरूको च्यानलमा विज्ञापन आउँदा पैसा पाउँछन् ।
मार्क बर्गनका अनुसार विज्ञापन कम्पनीहरूले आफ्नो विज्ञापन प्रसारण गर्न तिर्ने रकमको ४५ प्रतिशत युट्युब कम्पनीले राख्छ र बाँकी रकम ती च्यानल वा सामग्री सिर्जनाकर्ताहरूलाई दिइन्छ ।
सन् २००७ मा युट्युबले विज्ञापनको रकम कन्टेन्ट क्रियटरलाई दिने घोषणा गर्दा यसलाई जोखिमपूर्ण विचार मानिएको थियो । तर, आज युट्युबको सफलताको प्रमुख कारण नै यही भएको छ ।
युट्युबका केहीबाहेक अधिकांश सेवाहरू निःशुल्क छन् । युट्युबले जो कोही पनि स्टार बन्न सक्छ भनेर प्रमाणित गरेको छ ।
युट्युब सामग्रीको निगरानी
युट्युबमा दैनिक ठूलो संख्यामा भिडियोहरू अपलोड हुन्छन् । जसका कारण ती भिडियो सामग्रीमाथि नियन्त्रण र निगरानी समस्या बनेको छ ।
पत्रकार तथा ‘हाउ युट्युब शुक अप टीभी एन्ड क्रिएटेड ए न्यू जेनेरेसन अफ स्टार्स’ पुस्तकका लेखक क्रिस स्टोकेल वाकरका अनुसार धेरै देशहरूमा युट्युब कानुनी दायराभन्दा बाहिर छ । टीभीलाई लाग्ने कानुन युट्युबलाई लाग्दैन ।
अर्थात्, टीभी नेटवर्कहरूमा लागु हुने कडा सम्पादकीय नियमहरू युट्युबको सामग्रीमा लागु हुँदैन ।
युट्युब किन कानुनी दायराभन्दा बाहिर पर्यो भनेर थाहा पाउन इतिहासतिर फर्किनुपर्छ । युट्युब आउनुभन्दा धेरै वर्षअघि सन् १९९६ मा अमेरिकी सूचना तथा सञ्चार विभागले प्राविधि कम्पनीहरूलाई प्रवर्धन गर्न ‘डिसेन्सी ऐन’लाई परिमार्जन गरी धारा २३० थपेको थियो ।
यसको उद्देश्य प्रविधि कम्पनीहरूलाई मुद्दा मामिलाबाट जोगाउनु थियो । किनभने त्यतिखेर प्रविधि कम्पनीसँग उनीहरूको प्लेटफर्ममा प्रसारण भइरहेको सामग्री निगरानी गर्न पर्याप्त जनशक्ति र पैसा थिएन ।
क्रिस स्टोकेल वाकर भन्छन्, “यस कानुनको अर्थ के थियो भने कम्पनीहरूले प्रयोगकर्ताले सिर्जना गरेका सामग्री प्रसारण मात्र गर्छन् । ती सामग्रीका लागि जिम्मेवार हुने छैनन् । न त तिनीहरूसँग प्रत्येक सामग्री जाँच गर्ने अधिकार र जिम्मेवारी छ ।”
तर, युट्युबमा आपत्तिजनक सामग्री अपलोड गर्ने वा आपत्तिजनक टिप्पणी गर्नेविरुद्ध मुद्दा दायर गर्न सकिन्छ । हाल प्रविधि कम्पनीहरूको आम्दानी अर्बौं डलर पुगेको छ तर, उनीहरूलाई कानुनी संरक्षण दिइन्छ । क्रिस स्टकल वाकरका अनुसार प्रविधि कम्पनीहरूले वर्षौदेखि पाइरहेको यो छुटबारे सोच्ने बेला भएको छ । त्यसैकारण अमेरिकामा प्रतिलिपी अधिकार र अन्य विषयमा युट्युबजस्ता कम्पनीको जिम्मेवारी तोक्ने कानुन बनेको छ ।
सन् २०१९ मा, गुगल र युट्युबले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको डाटा उनीहरूका अभिभावकको अनुमतिबिना संकलन गरेपछि मुद्दा दायर गरिएको थियो । त्यसपछि गुगल र युट्युबले चार हजार १७० मिलियन जरिवाना तिरेका थिए ।
क्रिस स्टकल वाकरका अनुसार यी कम्पनीहरू संसारभर फैलिएका छन् । कुनै एक देशको अधिकार क्षेत्रमा छैनन् । “यसैको फाइदा उठाउँछन्, जसका कारण धेरै ठाउँमा उनी सरकारको निसानामा पनि छन्,” क्रिस स्टकल भन्छन् ।
उदाहरणका लागि, मध्य पूर्वका धेरै देशहरूमा, युट्युब प्रतिबन्धित छ । किनभने यसमा यौन, हिंसा र लागुपदार्थ दुव्र्यसनसँग सम्बन्धित भिडियोहरू छन् । यी कुराहरू पश्चिममा धेरै आपत्तिजनक छैनन् तर, यी विषय मध्यपूर्वका देशहरूको संस्कृतिविरुद्ध हुन् ।
हालै, युरोपेली संघले अनलाइन सुरक्षा सुनिश्चित गर्न र टेक्नोलोजी कम्पनीहरूको प्रतिस्पर्धा तथा विरोधी व्यवहारलाई रोक्न दुई नयाँ कानुन लागु गरेको छ । तर, युट्युबमा ठूलो संख्यामा सामग्री अपलोड भइरहेकाले ती कानुन लागु गर्न भने सहज छैन ।
क्रिस स्टोकेल वाकरका अनुसार युट्युबमा हरेक मिनेटमा पाँच सय घण्टाका सामग्री अपलोड हुन्छ । जसका कारण यी सामग्रीको अनुगमन गर्न मुस्किल हुन्छ ।
युट्युबमा कुन प्रकारको सामग्री अपलोड गर्न सकिन्छ र कुन सकिँदैन भनेर उसको आफ्नै नियम छ । उदाहरणका लागि, हेट स्पिच निषेधित छ । युट्युबका नियमहरू पालना नगर्ने प्रयोगकर्ताहरूलाई चेतावनी दिने र प्रतिबन्ध लगाउने गरिन्छ ।
नियमविपरीतका भिडियो अपलोड गरेमा ती भिडियोमा विज्ञापन रोकिन्छ । जसका कारण सामग्री निर्माताले पैसा पाउँदैनन् । क्रिस स्टकल वाकरका अनुसार युट्युब जस्ता प्रविधि कम्पनीलाई नियन्त्रण गर्न सरकारलाई चुनौती छ । किनभने सरकारले युट्युब नियन्त्रण गर्न प्रभावकारी कानुन बनाउन ढिला गरिरहेका छन् ।
युट्युबका लागि टिकटक चुनौती हो ?
अमेरिकाको कार्नेगी मेलन युनिभर्सिटीका सूचना प्रणालीका प्रोफेसर राहुल तेलंग भन्छन्, “युट्युब आउँदा आफूलाई खतरा हुन्छ भनेर टीभी उद्योगले सोचेका थिएनन् । तर, हाल युट्युब हलिउडदेखि नेटफ्लिक्स र डिज्नीसम्मका धेरै च्यानलका लागि बलियो प्रतिस्पर्धी बनेको छ ।”
उनी भन्छन्, “आफ्ना प्रयोगकर्ताहरूले सिर्जना गरेको सामग्री उपलब्ध गराउनु युट्युबको सबैभन्दा ठूलो विशेषता हो । तर, टीभी र ओटीटी प्लेटफर्महरूले यसबारे धेरै सोच्नुपर्छ किनभने तिनीहरूले आफ्नो सामग्रीमा धेरै पैसा लगानी गर्नुपर्छ । ती सामग्री उत्पादन गर्न समय पनि लाग्छ । कहिलेकाहीँ मानिसहरूलाई ती सामग्री मनपर्दैन । तर, युट्युबमा यस्तो समस्या छैन ।”
अर्को महत्त्वपूर्ण कुरा युट्युबलाई हामीले के हेरिरहेका छौँ भनेर राम्ररी थाहा छ ।
राहुल तेलंगका अनुसार नेटफ्लिक्स वा अन्य परम्परागत टेलिभिजन च्यानलहरूले सामग्री सिर्जना र प्रस्तुत गर्छन् । तर युट्युबलाई हामीले विगतमा के हेरेका थियौँ, के मन पराएका थियौँ भन्ने सबै थाहा हुन्छ ।
यही जानकारीका आधारमा युट्युबले विज्ञापन देखाउँछ । र, नयाँ भिडियो सुझाव पनि दिन्छ । यसको मतलब अन्य स्ट्रिमिङ प्लेटफर्महरू र परम्परागत टीभीको तुलनामा युट्युब धेरै दर्शकहरूसँग धेरै जोडिएको छ ।
तर, युट्युबको एउटा कमजोरी यसले अन्य च्यानलजस्तै महँगो सिरिज÷फिल्म÷नाटक बनाउँदैन । न त ठूला खेलकुद प्रतियोगिताहरू प्रसारण गर्छ । यद्यपि, टीभी र स्ट्रिमिङ प्लेटफर्महरू पनि युट्युबको पहुँचको फाइदा लिन चाहन्छन् । टीभी च्यानल र स्ट्रिमिङ प्लेटफर्महरूले जब जब नयाँ कार्यक्रमहरू ल्याउँछन्, उनीहरूले तिनको प्रचार गर्न युट्युब प्रयोग गर्छन् ।
युट्युबले परम्परागत टीभीबाट कुनै खतरा महसुस गरेको छैन् । तर, यसले टिकटकको बढ्दो लोकप्रियता भने नजिकबाट नियालिरहेको छ । भिडियो सेयर गर्ने एप टिकटकले युट्युबलाई कडा प्रतिस्पर्धा दिन सक्छ ।
उनी भन्छन्, “टिकटकले मानिसहरूलाई कसरी मनोरञ्जन गराउन सकिन्छ भन्ने बुझेको छ । मैले मेरो अनुसन्धानमा फेला पारेअनुसार केही प्रयोगकर्ताहरू टिकटकमा रिल हेरेर ६ देखि सात घण्टा बिताउँछन् ।”
आज सबैले प्रयोगकर्ताको ध्यान आकर्षित गर्न चाहन्छन् । यस प्रकारका एपहरूले युट्युबलाई चुनौती दिन सक्छन्, तर युट्युबमा यति धेरै चाखलाग्दा सामग्री छन् कि यसको स्थान अरु कसैले तत्काल ओगट्न मुस्किल छ ।
ब्रसेल्सको व्रिए विश्वविद्यालयमा युरोपेली मिडिया बजारका प्रोफेसर डा. मार्लेन कोमोरोव्स्कीका अनुसार युट्युब एकपटक फेरि विज्ञापन र सामग्री सिर्जनाकर्ताहरूमा बढी ध्यान केन्द्रित गरिरहेको छ । सुरुआतमा विज्ञापन र सामग्री सिर्जनाकर्ता नै यसका मुलमन्त्र थिए ।
हाल युट्युबले च्यानलमा धेरै विज्ञापन दिन थालेको छ । गत वर्ष युट्युबले विज्ञापनमार्फत ३१.५ विलियन डलर कमाएको थियो, जसको मतलब यो विज्ञापनमार्फत आफ्नो माउ कम्पनी गुगलभन्दा १० प्रतिशत बढी कमाएको थियो ।
कोमोरोव्स्की भन्छन्, “युट्युबले ठूलो सफलता हासिल गरेको छ र विश्वभरका धेरै बजारहरूमा आफ्नो स्थान बनाएको छ । डिज्नी च्यानलले कन्टेन्ट बनाउन धेरै पैसा लगानी गर्छ र युट्युबले पनि कन्टेन्ट बनाउन ठूलो लगानी गरिरहेको छ । युट्युबले सामग्री सिर्जना गर्न विश्वव्यापी २० विलियन डलर खर्च गरेको छ, जुन ठूलो रकम हो ।”
युट्युबको मुख्य लक्ष्य भनेको प्रयोगकर्ताको ध्यानाकर्षण गर्नु हो । कोमोरोव्स्कीका अनुसार गुगलको सहयोगमा युट्युबले आफ्ना सामग्री सिर्जनाकर्ताहरूका लागि च्यानलमा उपयोगी सुविधाहरू ल्याउँछ । युट्युबले स्वःचालित रूपमा भिडियो अनुवाद गरेर क्याप्सन देखाउँछ ।
टिकटकको प्रतिस्पर्धालाई ध्यानमा राख्दै युट्युबले आफ्नो प्लेटफर्ममा एक मिनेटभन्दा कम समयका ‘सर्ट्स’ समावेश गरेको छ । टिकटकको सिको गरेर छोटो भिडियोको यो शैली फेसबुक र इन्स्टाग्राममा पनि आएको छ ।
त्यसो भए के युट्युबले टीभी च्यानलहरूलाई पूर्ण रूपमा उछिनेको छ ?
युट्युबले आफ्नो मौलिक सामग्री निर्माण विभाग बन्द गरेको छ, तर यसको मतलब टीभी च्यानलहरूका लागि खतरा कम भएको होइन । वास्तवमा, युट्युबले प्रयोगकर्ताहरूले सिर्जना गरेको सामग्रीमा बढी ध्यान दिएर टीभी च्यानलहरूका लागि ठूलो चुनौती खडा गरेको छ ।
लाखौँ मानिसको दैनिक युट्युब हेर्ने बानी भइसकेको छ । युट्युबको विज्ञापनबाट हुने आम्दानी बढ्दै गएको छ भने कन्टेन्ट निर्माणमा लगानी बढिरहेको छ । यसको सामग्री सदैव इन्टरनेटमा उपलब्ध हुन्छन्, जसका कारण मानिसहरूले टीभीभन्दा धेरै समय युट्युबमा बिताउन थालेका छन् ।