site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएल : पूर्वसन्ध्यामा यस्तो छ आठ टिमका कप्तानको प्रतिक्रिया

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण शनिबारदेखि सुरु हुँदै छ । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दै छन् । सिंगल राउन्ड रोविन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आठवटै टिमका कप्तानले आफ्ना टिम तयार रहेको बताए ।

रोहितकुमार पौडेल (लुम्बिनी लायन्स)
एकदमै राम्रो तयारी भएको छ । विशेषगरी हामीले सात, आठ दिन एक्स्ट्राटेक ओभलमा प्रशिक्षण गर्यौँ । हामी पूर्ण रूपमा तयार छौँ । एनपीएल नेपाली क्रिकेटको लागि एकदमै महत्त्वपूर्ण प्रतियोगिता हो । जसरी आईपीएलले भारतीय क्रिकेटलाई सहयोग गरेको छ, एनपीएल नेपाल क्रिकेटलाई सहयोग गर्छ जस्तो लाग्छ । जसरी अहिले एनपीएलको चर्चा छ । यसले पनि प्रतियोगिता भव्य हुने देखाउँछ । हामी सबै निक्कै उत्साहित छौँ ।

दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)
हाम्रो पनि तयारी राम्रो भइरहेको छ । मूलपानीमा तयारी खेल पनि खेल्यौँ । एनपीएलका लागि उत्साहित छौँ ।

कुशल भुर्तेल (पोखरा एभेन्जर्स)
हामीले पछिल्लो आठ–नौ दिन घरेलु मैदान पोखरामा गएर तयारी गरिरहेका थियौँ । भारतबाट आउनुभएका प्रशिक्षक टोलीले धेरै सहयोग गरिरहनु भएको छ । मूलपानीमा एउटा अभ्यास खेल खेल्ने मौका पनि पायौँ । टिम राम्रो संरचनामा छ । हामी प्रतियोगिताप्रति उत्साहित छौँ ।

सन्दीप लामिछाने (विराटनगर किंग्स्)
सुरुका केही दिन चुनौतीपूर्ण रह्यो । तर, पछि हामीबीच विस्तारै तालमेल बन्दै गयो । मलाई लाग्छ हामीसँग सन्तुलित टिम छ । सबैजना उत्साहित पनि छन् । एनपीएल आयोजना गराउन लागिरहनु भएका क्यानका सबैजनालाई धन्यवाद ।

अनिल साह (जनकपुर बोल्ट्स)
हामीले काठमाडौंमा मात्र आएर तयारी सुरु गर्यौँ । त्योभन्दा अघि हामीलाई उता मैदान उपलब्ध भएन । हामीले एउटा अभ्यास खेल खेल्ने मौका पायौँ । जसमा हामीले राम्रो गर्यौँ । हाम्रो टिम सन्तुलित छ । विदेशी खेलाडीको आगमनले टिमलाई बलियो र झनै सन्तुलित बनाएको छ । यो सबैका लागि राम्रो मञ्च हो । एनपीएलले जसरी चर्चा पाइरहेको छ, यसले पनि यसको स्तर देखाउँछ । हामी सबैजना उत्साहित छौँ ।

करण केसी (काठमाडौं गुर्खाज)
एनपीएलको लागि हाम्रो टिम पूर्ण रूपमा तयार छ । विदेशी खेलाडी पनि आइसक्नु भएको छ । पछिल्लो एक महिनादेखि घरेलु खेलाडीहरू अभ्यास गरिरहनु भएको छ । एनपीएलले सबै खेलाडीलाई आफ्नो कौशलता देखाउन मञ्च दिएको छ । सबै खेलाडीहरूले त्यो अवसरको सदुपयोग गर्नुहुनेछ भन्ने आशा छ । प्रतियोगिताका निम्ति क्यानलाई धन्यवाद ।

कुशल मल्ल (चितवन राइनोज)
हामीले पनि प्रतियोगिताका निम्ति चितवनमै तयारी गर्यौँ । त्यहाँ हामीले एक हप्ता जति अभ्यास गर्यौँ । एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने हुँदा विश्वले नै हामीलाई ध्यान दिन्छ जस्तो लाग्छ ।

सोमपाल कामी (कर्णाली याक्स)
तयारी एकदम राम्रो भयो । हामीले काठमाडौंमा आएर एक हप्ता प्रशिक्षण गर्यौँ । हाम्रो टिम युवा खेलाडीहरुले भरिएको छ । हामीले विदेशी खेलाडी पनि सबै अनुभवी ल्याएका छौँ । हाम्रो मुख्य उदेश्य विदेशी खेलाडीबाट केही सिकौँ भन्ने हो । एनपीएलले नेपाली घरेलु खेलाडीलाई एउटा मञ्च उपलब्ध गराएको छ । आशा छ यो प्रतियोगितामा राम्रो गरेर राष्ट्रको प्रतिनिधित्व गर्न सक्ने खेलाडी निस्किनेछन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro