
काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेकी प्रमुख सचेतक भगवती न्यौपानेले सगरमाथा संवादले जलवायु परिवर्तन र त्यसले नेपालमा पारेका असरबारे संसारले सुन्नेगरी ध्यानाकर्षण गराएको बताएकी छन् ।
बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले यसअघि पनि विश्वसामु जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरू विश्वले सुन्ने गरी सगरमाथा संवादले गराएको दाबी गरिन् ।
उनले प्रकृतिमाथि हस्तक्षेप गरियो भने प्रकृतिले पनि हामीसँग बदला लिन्छ भन्दै प्रकृतिलाई अनुकूलमा लिएर सम्बन्ध बनाउँदै जानुपर्नेमा जोड दिइन् । सगरमाथा संवादले जलवायु परिवर्तनबाट नेपालले व्यहोर्नुपरेको क्षति स्पष्टताका साथ विश्वसामु राखेकोले भोलि परिणाम पनि सगरमाथाझैँ प्राप्त हुने विश्वास व्यक्त गरिन् ।
उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सोहीअनुरुप कानुन बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आगामी बजेटमा समेत स्थान पाउने विश्वास व्यक्त गरिन् ।