site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदीप ज्ञवाली भन्छन्– संक्रमणकालीन न्याय दुई वर्षभित्रै पूरा हुन सक्दैन 

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले दुई वर्षभित्र संक्रमणकालीन न्याय निरुपणको काम पूरा नहुने बताएका छन् ।

मंगलबार त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको संक्रमणकालीन न्याय निरुपणसम्बन्धी कार्यक्रममा नेता ज्ञवालीले बेपत्ता छानबिन आयोगमा रहेका उजुरी र सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहेको उजुरीको निष्पक्ष छानबिन पूरा गर्न समेत दुई वर्षमा सम्भव नहुने उल्लेख गरे ।

Argakhachi Cement Island Ad

यसबाहेक यौन हिंसाका गम्भीर अपराधमा अझै उजुरी लिने भनिएकाले त्यसको संख्या ७० हजार नाघ्ने आँकलन गरिएको त्यसबेलाको शान्ति वार्ताका लागि गठित समितिका सदस्य समेत रहेका ज्ञवालीले बताए ।

आफू अहिले पनि सशस्त्र द्वन्द्व आवश्यक थिएन भने ‘कन्भिक्सनमा’ रहेको भन्दै शान्ति सम्झौता हुँदै राजनीतिक रूपमा यहाँसम्म आएकाले संक्रमणकालीन न्याय व्यवस्थापन गर्दै देशमा स्थायी शान्ति स्थापना गर्नु सबै राजनीतिक दलको कर्तव्य भएको बताए । 

विश्वका शान्ति प्रक्रियामा नेपालले मौलिक प्रक्रिया अघि बढाएको भन्दै यसलाई मौलिक रूपमै टुंग्याउनुपर्ने उनको भनाइ थियो । संसद्बाट संक्रमणकालीन न्याय व्यवस्थापनसम्बन्धी कानुन नबन्दा धेरै आलोचना भएको भन्दै अहिले भने धेरै आलोचना गर्ने ठाउँ नरहेको बताए । सक्षम राम्रो आयोग बनाउन भूमिका खेल्नुपर्ने भन्दै उक्त आयोगलाई सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्