विक्रम वैद्य
कुनै पनि देशको साहित्य, संगीत र कलाले सो देशको सांस्कृतिक समवृद्धि झल्काउँछ भने कुनै पनि देशमा खाइने परिकारको विविधताले जीवनस्तरको समवृद्धि केलाउँछ । नेपाललाई संसारभर प्राकृतिक सुन्दता, जातीय विविधता र मिठो मुस्कानको देश भनेर आजसम्म विश्वले चिनेको थियो । विक्रम वैद्यको मेहनतले अब नेपाललाई स्वादको विविधताको देशको रुपमा स्थापित गर्नेछ ।
करिब चार दशक अमेरिकामा बसेर कलिनरी कला अर्थात् पाकशिक्षाको ज्ञान बाँडेर बसेका विक्रम वैद्य संसारभरीका विद्यार्थीलाई विश्वका सयौँ देशका हजारौँ थरिका खानेकुराको स्वाद, स्वास्थ्यमा त्यसको प्रभाव र पकाउने तरिका सिकाएर एक स्थापित पाककलाका सशक्त शिक्षक त बने तर, नेपाली स्वादलाई विश्वमा चिनाउने उनको हुटहुटी सकिएन ।
तत्कालीन राजदरबारको राजवैद्य परिवारमा जन्मिएका र आयुर्वेदको खान–पानको कडा अनुशासनमा हुर्किएका विक्रमलाई सानै हुँदादेखि कण्ठाग्र थियो, “हाम्रो आहार गलत भयो भने औषधिको काम छैन, अनि आहार सही भयो भने औषधिको जरुरत नै पर्दैन ।”
ठमेलका बासिन्दा वैद्यको पठनपाठन सिद्धार्थ बनस्थलि स्कुलमा भयो । स्कुलपछि केही समय बरालिएरै बिताए । उनले ३५ वर्ष अघि (सन् १९८९) दाइ पुस्कर श्रेष्ठसँग मिलेर ठमेलमा ‘टम एण्ड जेरी’ पब खोले । तर, उनलाई अमेरिकी सपनाले तान्यो र उतै हुँइकिए ।
अमेरिकामा जुन घरमा बस्थे, त्यो घरको अगाडि एकजना सेफको घर थियो । उनलाई आफ्ना नातेदारले ती सेफसँग चिनाए । भव्य घर, तीनचार वटा जागुआर गाडी । तर पेसा रेष्टुराँका सेफ । नेपालीले त्यो समय सोच्न पनि सक्दैनथे, खानेकुरा पकाउने कुकको त्यस्तो वैभव । उनी त्यसै प्रभावित भए । उनले ओरेगन पोर्टल्यान्डको वेस्र्टन कलिनरी इन्स्टिच्युटबाट पाक विज्ञानमा स्नातक गरे ।
पढाइको क्रममा एक से एक अर्बपति जाने रेष्टुरेण्टहरूमा इन्टर्न गरे । काम गरे । संसारका विख्यात सेफहरूसँग चिनजान भयो । किलोकै हजारौँ डलर पर्ने माछा काटे । पकाए । खुवाए । एक बोटलकै दशौँ हजार डलर पर्ने संसारकै महंगा वाइनका विषयमा पढे । पढाए । सर्भ गरे । अमेरिकाका विभिन्न स्थानमा रहेका ठूलाठूला रेष्टुरेन्टमा सेफ भएर काम गरे । संसार घुमे । त्यति सबै गर्दा पनि उनी सन्तुष्ट थिएनन् ।
विक्रममा एउटा फिरन्ते व्यक्तिको चरित्र लुकेर बसेको थियो । “म सेफ नभएको भए हिमाल आरोहण गर्ने व्यक्ति हुन्थेँ,” दरबारमार्गको एक रेष्टुराँमा उनी आफैँलाई नियाल्ने प्रयास गर्दै थिए । उनमा घुमफिर, ट्रेकिङ, हाइकिङ र माउन्टेन क्लाइम्बिङको रहर थियो । अलि पैसा कमाएपछि उनले आफ्नो व्यस्तताका बीच समय निकाल्दै नेपालका विभिन्न स्थानमा घुम्न थाले ।
त्यही घुमघाम, अध्ययन–अध्यापन र पेसाले उनलाई नेपाली खानेकुरा, नेपाली स्वाद र विभिन्न जातजाती र भुगोलमा रहेका समुदायको गोप्य भान्साको गोप्य मरमसला र पाककलाको उत्खनन् गर्ने उत्साह जगायो । प्रतिफलस्वरुप दशौँ वर्षको मिहिनेतपछि संसारभर नै नेपाली स्वाद फैलाउने कफि टेबल बुकको रूपमा जन्मियो ‘द मिस्टिक किचन्स अफ नेपाल’ ।
यो पुस्तकमा नेपाली खाना सम्बन्धि सम्पूर्ण जानकारी पाइन्छ । कुन खाना कसरी बनाउने, त्यसमा कति क्यालोरी हुन्छ, कसरी खाने, कुन समयमा खाने र के सँग खाने ? सम्पूर्ण जानकारी छ । यो किताब केवल एक कुक बुक हो । नेपाली खानाको इन्साइक्लोपेडिया नै हो ।
नेपालमा पाइने मसलाहरू के–के हुन्, खानेकुरा पकाउने भाँडा कस्ता–कस्ता हुन्छन्, काट्ने औजार के–के हुन्, नेपाली भान्सामा पकाइने सागसब्जी के–के हुन्, अन्नहरू के–के हुन् जस्ता कुराहरू मिहिन ढंगले अध्ययन गरेर जानकारी दिइएको छ । यस्तो पुस्तक लेख्न कलिनरी आर्टस्का एक अत्यन्त विद्वान सेफले बाहेक अरुलाई असम्भवप्राय भने हुन्छ । वैद्यले खानेकुरा पकाउने मात्र होइन कतिपय सब्जी काट्ने तरिका समेत सिकाएका छन् ।
बेसारले खानेकुरामा कस्तो असर पार्छ, बेसार किन्दा के कुरामा ध्यान दिने वा त्यसलाई कसरी लामो समयसम्म बिग्रन नदिने भन्ने ज्ञान पुस्तकले पस्किएको छ । यस्तो ज्ञान ज्वानो, अमचूर, अदुवा, हमला, दालचिनी, धनिया, हिंग, अलैची, जीरा, इमली, जाइफल, अलौंजी, कुसुम, केसर, खुर्सानी सबैथोकको विषयमा छ ।
मोमो वा ममको विषयमा लेख्दा यो खाना कहाँबाट आयो, कति प्रकारका मोमो हुन्छन्, कहाँ–कस्तो मोमो खाइन्छ भन्ने जानकारी मात्र होइन मोमो बनाउँदा पिठोलाई कसरी बेर्नुपर्छ भन्ने चित्रसमेत समावेश गरिएको छ । यही कुरा चाहे बारामा होस् वा यमरी वा अन्य कुनै खानेकुरा, सबैमा त्यो खानेकुराका बारेमा बढीभन्दा बढी जानकारी यो पुस्तकमा उपलब्ध छ ।
पुस्तकमा नेवारी खानाको विषयमा अलिक बेसी पानाहरू समर्पित छ किनभने नेवारी भान्सा निकै समृद्ध छ । वैद्य नेवारी समुदायका व्यक्ति हुन् । तर, पूर्व, पश्चिम, सुदूरपश्चिम, मधेस सबै स्थानमा कुन–कुन खाना पाइन्छ, तिनको विशेषता के के हो र कसरी पकाउनु पर्छ भन्ने पूरा जानकारी वैद्यले आफ्नो पुस्तकमा समावेश गरेका छन् ।
नेपाली भान्साको विषयमा कहिल्यै जानकारी नभएको कुनै पनि व्यक्तिले यो पुस्तकको अद्योपान्त अध्ययन गर्यो भने नेपाली खाना, नेपाली खानाको इतिहास, खाना खाइने भुगोल, खानाको राम्रो–नराम्रो असर र खाने तरिकाको विषयमा विज्ञ बन्न सक्छ ।
अंग्रेजी भाषामा लेखिएको वैद्यको यो पुस्तकले नेपालको सगरमाथा, गौतम बुद्ध, सीता जस्तै नेपालको भान्सालाई पनि विश्व विख्यात बनाउन ठूलो सहयोग पुर्याउने विश्वास गर्न सकिन्छ ।