
काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे सरकार, संसदीय समितिसहित सरोकारवालाबीच आन्तरिक छलफल भइरहेको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विवादित दफामाथि आन्तरिक छलफल थालिएको जानकारी दिए ।
उनका अनुसार, सहमति जुटाएर भोलि (शनिबार) समितिको बैठक बोलाउने तयारी छ । “विधेयकमाथि आन्तरिक छलफल भइरहेको छ । विवादित दफामा सहमति जुट्न सकेको छैन । यदि, सहमति जुटेको खण्डमा भोलि समितिको बैठक बोलाउने तयारी हो,” उनले बाह्रखरीसित भने ।
गत असार १६ गते सोमबार अन्तिम सहमति जुटाउन समितिको बैठक बसेको थियो । तर, शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग वार्ता नमिलेको बताएपछि विधेयक रोकिएको थियो ।
विशेषगरी, पदपूर्तिको विषयमा सहमति जुट्न सकेको छैन । संसदीय समितिले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति गरे पनि शिक्षकहरूले ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुलाबाट पदपूर्ति गर्नुपर्ने अडान राखेका छन् ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले असार २३ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा विधेयक पेस हुने आफूहर अपेक्षा गरिएको बताइन् ।
“प्रक्रियागत विषयका कारण केही ढिला भएको छ । त्यसैले हामी पर्ख र हेरको अवस्थामा छौँ । मन्त्रालय, समितिका पदाधिकारी र शिक्षकहरूबीच आन्तरिक छलफल भइरहेको छ । १–२ दिनमा समितिबाट पारित भई २३ गतेको प्रतिनिधिसभामा पेस हुनेमा आशावादी छौँ,” उनले भनिन् ।