काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशनले दोलखामा पूर्ण मर्मत गरेको गौरी शंकर बालगृहको भवन हस्तान्तरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत पुनर्निर्माण गरेपछि यसै कात्तिक २५ गते भवन हस्तान्तरण गरेको हो ।
भवन हस्तान्तरण कार्यक्रममा वर्ल्डलिंकका लेगेसी प्रोमोटर सेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्याय लगायतको उपस्थिति थियो ।
आफ्नो सम्बोधनमा अनुपा भण्डारी जालानले अन्य संघसंस्थाहरूसँग पनि गौरी शंकर बालगृहको सुधारमा थप योगदान गर्न आह्वान गर्दै बालकल्याणका लागि सक्रिय हुनुपर्ने बताइन् ।
कार्यक्रममा मेयर मानन्धरले पनि अन्य संस्थाहरूलाई यस प्रकारका सामाजिक दायित्वका कार्यहरूमा सक्रिय हुन प्रेरित गरेकोमा वर्ल्डलिंकलाई धन्यवाद व्यक्त गरे ।
वर्ल्डलिंकले २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको छाना चुहावट तथा भित्ताहरूको मर्मतसँगै झ्यालढोकाको मर्मत तथा रङरोगनलगायत तीनवटा शौचालय तथा तीनवटा स्नानगृहको समग्र पुनर्निर्माण र आश्रित १७ जना बालकका लागि कम्बल र स्टेसनरी प्रदान गरेको छ ।
यस परियोजनाले बालगृहका बच्चाहरूलाई अझ सुरक्षित र आरामदायक बसोबासको सुनिश्चितता दिएको छ, जसले उनीहरूको शिक्षा, स्वास्थ्य तथा मानसिक समग्र विकासलाई मद्दत पुर्याउने कम्पनीको विश्वास छ ।