site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अकासिएको हवाई भाडा घटाउन सरकार असफल, यात्रुले तेब्बरसम्म भाडा तिर्दैछन् 
फाइल तस्बिर

काठमाडौं । कात्तिक २३ गतेदेखि १० घण्टा विमानस्थल बन्द छ । मुख्य विमानस्थल १० घण्टा बन्द भएपछि यात्रुहरूले दोब्बर–तेब्बर तिरेर यात्रा गर्न बाध्य छन् । विमानस्थल बन्द गरेर ३० प्रतिशत उडान कटौतीपछि हवाई भाडा अकासिएको हो । 

कम गर्न सकिने अवस्थामा पनि १० घण्टा विमानस्थल बन्द गरेको र यात्रुहरूले तेब्बर भाडा तिर्नु परेपछि सरकारको चर्को आलोचना भइरहेको छ ।  चौतर्फी दबाब र आलोचनापछि भाडादर नियन्त्रण गर्न नेपाल नागरिक उड्ड्यन प्राधिकरणले अग्रिम टिकट खरिद ‘टु बी अनाउन्स्ड–टीबीए’ खारेज गर्‍यो । 

टीबीए खारेजीपछि भाडादर कुनै फरक छैन । टीबीएमा यात्रुको नाम पछि राख्ने सर्तमा ठूलो मात्रामा टिकट किनेर कालोबजारी गरेको आशंकामा टीबीए खारेज गरेको थियो । 

Dabur Nepal
NIC Asia

टीबीए खारेज गरेपछि यसले हवाई टिकटको मूल्य पहिलेकै तुलनामा आउने भनिए पनि त्यसले कुनै प्रभाव परेको छैन । यात्रुहरूले दोब्बर–तेब्बर मूल्यमा टिकट काटिरहेका छन् । ‘फेयर रेट’मा कुनै टिकट उपलब्ध नभएको उनीहरूको गुनासो छ । 

टीबीएकै कारण कालोबजारी भएको आशंकामा क्यानले कदम चाल्यो । तर भाडादरमा कुनै कमी आएको छैन ।  काठमाडौंबाट दिल्ली जानुपरेको खण्डमा टिकट उपलब्ध हुँदैन । दुई सातापछिको टिकटका लागि आधा लाख बढी खर्च गर्नुपर्ने बाध्यता छ ।

हवाई टिकटको मूल्य अकासिएको र यसले विशेषगरी श्रमका लागि विदेशिनेहरू मर्कामा परेको सांसद राजेन्द्र बजगाई बताउँछन् । 

“क्यानको अदूरदर्शी निर्णयका कारण श्रमिकहरू मर्कामा परेका छन्,” उनले भने, “बन्दै गर्न नपर्ने वा कम गर्न सक्ने अवस्था रहेको विमानस्थल १० घण्टा बन्द गरेको छ । यसमा सरकार समेत रमिते छ ।”

टीबीए खारेजपछि टिकट नियमित हुने भनिएको टिकट पाइएको छैन । 

यसअघि शनिबार बसेको क्यान, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरूका प्रतिनिधिको बैठकमा हवाई भाडा भएको अप्रत्याशित वृद्धि रोक्न एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार खारेज गरेको थियो ।  

उक्त बैठकमा एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौताबमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरी हवाई भाडादर कायम गर्ने सहमति भएको थियो ।

बैठकले हवाइ टिकटको मूल्यसूची तोक्ने, सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमामात्रै गर्ने र हवाइ भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुने समेत निर्णय समेत गर्‍यो । 

सरकार र क्यानले सो निर्णय गरेपनि त्यसमा व्यवसायीहरूले सहमति नहुँदा अकासिएको भाडा दरमा कुनै कमी भएको छैन ।  मुख्य विमानस्थल १०–१० घण्टा बन्द गरेर फ्लाइट कटौती गरेपछि त्यसले नेपालको उडान क्षेत्र नै तहसनहस पारेको व्यवसायीहरूको आरोप छ । 

पर्यटकीय सिजनमै भाडाको दर तेब्बर भएको र फ्लाइट समेत नपाएपछि पर्यटकहरू नेपाल आउनु भन्दा अर्कै गन्तव्य छान्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । 

यसले समग्रमै नेपालको पर्यटन क्षेत्रमा असर पार्ने उनीहरूको भनाइ छ । वैदेशिक रोजगार व्यवसायी संघका मेघनाथ भुर्तेलका अनुसार, सरकारले टीबीए खारेज गरे पनि त्यसले फ्लाइट टिकटमा केही पनि थपघट नभएको बताउँछ । 

“३५–४० हजारमा हामीले उडाइरहेका श्रमिकहरूले १ लाख माथि तिर्नुपरेको छ,” उनी भन्छन्, “४० हजारमा खोज्दा टिकट पाइँदैन । तर, एक लाख तिर्छु भने जत्ति पनि पाइन्छ ।”

टीबीए खारेज भन्दा पनि फ्लाइट संख्या थपेर नियमित उडान गर्न दिए टिकट सस्तिने उनको भनाइ छ । 

सरकारले टीबीए खारेज गरे पनि रेट नघटेको नेपाल एशोशिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाटा) का सचिव विष्णु घिमिरे बताउँछन् ।

“टीबीए खारेज स्वागतयोग्य कदम हो । पर्टटकीय सिजन र हाम्रो चाडपर्व पनि भर्खर सकिएको र फ्लाइट कटअफ भएका कारण पनि भाडादर उच्च भएको हो,” उनले भने, “यो महिनाभरी यस्तै हुन्छ । डिसेम्बरपछि केही घट्ने देखिन्छ ।”

घिमिरेका अनुसार, काठमाडौंबाट दुवई जाने भाडा झन्डै दोब्बरदेखि तेब्बर पुगेको छ ।  क्यानले टीबीए खारेज गरेपछि भाडादर उच्च भएको गुनासो आइरहेको प्रवक्ता हंसराज पाण्डे नै स्वीर्काछन् । 

“हामीले पनि कसरी हुन्छ भाडादर कम हुन्छ भनी अध्ययन गरिरहेका छौं,” उनले भने, “नेपालीहरूलाई त भनेर र नियमअनुसार लिउँ भनेर कम गर्न सकिएला । तर, खुला बजार र माग र पूर्तिको आधारमा चल्ने भएको हुँदा हामी पनि अध्ययनमै छौं ।”

भाडा कम गर्न क्यानले उडान सम्झौता भएका मुलुकसँग पनि कुरा गरिरहेको उनको भनाइ छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro