site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेस प्लेन्सको प्रदक्षिणा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बस्तीका म्यापल र ओक वृक्षका पातहरू हल्का गतिमा चलिरहेको वायुको स्पर्शले मग्न झुलिरहेका थिए । अघिल्लो दिनको जस्तो बदलीको उदास बिहान थिएन ।

बिहानी घामको चमक वातावरणमा निर्बाध फैलिरहेको थियो । डेस प्लेन्सस्थित विष्णु फुयालजीको निजी आवासमा हामीले आतिथ्यपूर्ण वास पाएका थियौँ । यो हामी फर्किने दिनको बिहानको मनोरम क्षण थियो ।

म झ्यालबाट बाहिरका दृश्यहरू हेर्दै गम्दै थिएँ, ‘डेस प्लेन्समा चार दिन बसियो, तर यसैको सेरोफेरो घुमफिर नगरी फर्किन लागियो ।’

KFC Island Ad
Dabur Nepal
NIC Asia

फर्किने यो चौथो दिनको पूरै दिनभरिको समय पनि हामीसँग बाँकी थियो । हामी साँझ मात्र बोस्टनतर्फ फिर्ती उड्दै थियौँ । त्यस दिनभरको केही घण्टा हामी शिकागो विश्वविद्यालय सरसर्ती घुम्न उपयोग गर्नेवाला थियौँ । यसको लागि भान्जा विश्वले हामीलाई शिकागो विश्वविद्यालय लाँदै थिए ।

तर, डेस प्लेन्स घुम्ने कुरो यो तालिकाभित्र परेको थिएन । मैले शर्मिला बहिनीलाई सुनाएको थिएँ, ‘...झन् डेस प्लेन्सचाहिँ घुम्दै नघुमी फर्किन लागियो बहिनी !’

Royal Enfield Island Ad

शर्मिलाको सहज जवाफ थियो, ‘यही त हो नि दाइ डेस प्लेन्स, यहाँ के छ र ! त्यै धमिलो डेस प्लेन्स खोलो हो, त्यो के हेर्नु ? अरू के छ र हेर्ने ठाउँ यहाँ ! म त केही देख्दिनँ ।’

शर्मिलाले यस्तो जे भने पनि डेस प्लेन्सबारे मेरो जिज्ञासा सेलाउन सकेको थिएन । कम्तीमा एउटा सहरसँग आफ्नो इतिहास र प्रकृतिको केही न केही विशेष धरोहर त हुन्छ नै । यै विचारमा म सोच्दो थिएँ, ‘त्यस्तै केही विशेष डेस प्लेन्ससँग पनि हुनुपर्छ अवश्य ।’

वास्तवमा, प्रकृतिको धरोहरका रूपमा हजारौँ वा अनन्त वर्षदेखि धर्तीको नदीको रूपमा साक्षी र साथी बनेर बगिरहेको डेस प्लेन्स खोलो त डेस प्लेन्स सहरसँग थियो नै ।

त्यही खोलाकै नामले नामांकित भएको सहर हो, डेस प्लेन्स । आफ्नो धर्तीमा बगिरहेको खोलाकै नामले नामांकित विश्वका केही सहरमध्ये डेस प्लेन्स पनि एक त हो नै । कत्ति नै होलान् र आफ्नै खोलाको नामले चिनिने विश्वमा सहरहरू ? न्युयोर्कको हडसन, काएरोको नाइल, लन्डनको थेम्स, पेरिसको सिन, रोमको टिबर, गोहाटीको ब्रह्मपुत्र, दिल्लीको यमुना, बनारसको गंगा, अयोध्याको सरयु महानदीहरू ती सहरको मध्य र छेउ हुँदै बग्छन् ।

तथापि, किन हो यी सब नदीहरू ती सहरहरूको नाम बन्न सकेनन् । जबकि, यी सब नदी, महानदीहरू ती महानगरजत्तिकै विश्वप्रसिद्ध हुन् । र, तिनको शोभा बढाउँदै अविरल प्रवाहित भइरहन्छन् ।

तर, ती महानदीहरूविपरीत डेस प्लेन्सले आफ्नो नामको सहर पाएको छ । त्यसकारण डेस प्लेन्स मेरा लागि झन् चासोको सहर भइरहेको थियो । पचास माइल परको छिमेकी विसकिन्सन राज्यबाट बगेर शिकागो पस्ने डेस प्लेन्स शिकागोको अन्य सहर र भूमि हुँदै डेढ सय माइलको परिक्रमा भ्रमण पूरा गरेर सागरमा लीन हुन पुग्छ ।

हरेक नदी र खोलाको विश्रामस्थल महासागर नै हो, डेस प्लेन्स अपवादको किन हुन्थ्यो ?

हरसमय, हरघडी, हरपल, हरऋतु सदाबहार मटमैलो पानी मात्र बग्ने धमिलो खोलो डेस प्लेन्सलाई आएको दिनदेखि विष्णुजीको घरबाट अन्यत्रको यात्रामा निस्कँदा र फर्किंदा कारको झ्यालबाट हरेक मोड र मार्गको छेउमा दायाँ, बायाँ वृक्षहरूलाई लस्कर लगाएर बगिरहेको देखेको थिएँ ।

वर्षा र बाढीले गर्दा धमिलो बग्ने खोलाहरूको पानीझैँ निरन्तर त्यसरी धमिलो बग्ने विशेषताको डेस प्लेन्सजस्तो यसपूर्व मैले अर्को कुनै नदी देखेको, जानेको थिइनँ ।

धमिलो, मैलो, माटेपानी बग्ने खोलाको नाम बोकेको डेस प्लेन्स सहर भने उज्यालो र सुकिलो छ । मूल निवासी जर्मन, फ्रेन्च र अन्य युरोपियन आप्रवासीले जितेको डेस प्लेन्ससँग वन, ताल, थुप्रै आधुनिक उद्यानहरू र सुन्दर आवासगृहहरू छन् ।

घुम्ने क्रममा ओहोरदोहोर गर्दा विष्णुजीको कारको झ्यालबाट सहज रूपमा देखिएका दृश्यहरू थिए ती । विशेष डेस प्लेन्स नै घुम्ने उद्देश्यमा पुगिएको थलो र दृश्यहरू थिएनन् ती ।

म डेस प्लेन्स नै हेर्ने लक्ष्यमा निस्कन चाहन्थेँ । जुन सहरमा बसेको हो त्यसकै प्रदक्षिणा नगरी के फर्कनु ? यस्तो यात्रा अपुरो नै मानिनेछ । त्यसैले सरसर्ती नै किन नहोस्, डेस प्लेन्स घुमिछाड्ने धुनपक्कडमा थिएँ म ।

बिहानको नौ बजेको समय थियो त्यो । विष्णुजी आफ्नो अफिस हिँडिसक्नुभएको थियो । विष्णुजी न्याभिगेसन इन्जिनियर हुनुहुन्छ र शिकागोस्थित एक ख्यातनाम न्याभिगेसन कम्पनीमा काम गर्नुहुन्छ ।

शर्मिला पनि आफ्नो काम गर्ने ठाउँ शिशु स्याहार केन्द्रमा जाने तरखर गर्दै थिइन् । म डेस प्लेन्स घुम्ने आफ्नो चाह हुटहुटीको शैलीमा त्यसरी दोहोर्‍याइरहेको थिएँ । मेरी श्रीमती मीना मेरो कुरोमा ओठ बन्द सम्मति व्यक्त गरिरहेकी थिइन् ।

त्यसकारण आफ्नो काममा हिँड्न लागेकी शर्मिलाले विश्वदीपलाई आधा अंग्रे्रेजी र आधा नेपालीमा अह्राइन्, ‘बिफोर शिकागो युनिभर्सिटी मामामाइजूलाई डेस प्लेन्सको पनि चक्कर लगाइदे बेटा ।’

विश्वले आज्ञावत् भनेको थियो, ‘ओके मम । नो प्रोब्लेम ।’

शिकागो युनिभर्सिटी हेर्न हामी घरबाट एघार बजे निस्केनेवाला थियौँ । तर, डेस प्लेन्स पनि घुम्ने मेरो जोडले गर्दा यो तालिकामा डेस प्लेन्सको प्रदक्षिणा पनि थपियो र हामी घरका उघ्रिएका झ्यालढोकाहरू थुनथान गरेर साढे नौ बजे नै निस्क्यौँ ।

दुई कार अट्ने आफ्नो घरको ग्यारेजबाट विश्वले नयाँ मोडेलको आफ्नो रातो रङको चिल्लो टोयटा क्यामेरी कार झिक्यो । त्यसको पछिल्लो सिटमा मीनाको बसाइ भयो । म अघिल्लो सिटमा विराजित भएँ । त्यसपछि विश्वले कार सडकतिर सोझ्याएको थियो ।

विश्व हामीसँग कहिले अमेरिकनाइज नेपालीमा, कहिले अंग्र्रेजीमा बोल्थ्यो । काठमाडौंको मूलपानीमा जन्मेको हो विश्व । ऊ दश वर्षको उमेरमा बाबुआमासँग अमेरिका आएको थियो । अहिले ऊ स्नातक भइसकेको छ । र, काममा व्यस्त हुन थालेको छ ।

त्यो दिन उसको छुट्टीको दिन थियो । त्यसकारण ऊ हामी पाहुनालाई घुमाउन, डुलाउन खटिएको थियो । घरमा करकापलेबाहेक विश्वलाई उसको मातृभाषा नेपाली अन्यत्र कतै बोल्नु पर्दैन । त्यसकारण उसको जिब्रोबाट नेपाली लबज खस्किएर अमेरिकन खैरेको जस्तै भइसकेको छ ।

तथापि, नेपाली संवादमा ऊ पूरै कमजोर भइसकेको थिएन । तर, बानी र अप्ठेरोले गर्दा ऊ हामीसँग पनि अंग्रे्रेजी नै बोल्न खोज्थ्यो । बोली, वचन, लवाइ र हिँडाइमा पूर्णतः अमेरिकन भएको उसको खानाको रुचि भने नेपाली दालभात, तिहुनतरकारीबाट पर हटेको रहेनछ ।

यसबारे ऊ हामीलाई भनिरहेको थियो, ‘खानामा म नेपाली, इन्डियन स्पाइसी खाना नै मन पराउँछु ।’

ऊ एकाग्र मुद्रामा कार कुदाइरहेको थियो । म बीचबीचमा बोलिरहेको थिएँ ।

उसको कार हँकाइ आमअमेरिकी युवाहरूको भन्दा सचेत, भद्र र सुरक्षित थियो । अन्यथा, हिपहप र र्‍याप संस्कृतिले क्य्रापच्याप पारेका आजका अमेरिकी युवाहरूको जस्तो उसको पनि कार हँकाइ डाङडुङे शैलीकै हुन्थ्यो ।

वास्तवमा, सडक दुर्घटनाको सालबसालीको अमेरिकी आँकडाले अन्य उमेर समूहभन्दा अठारदेखि पच्चिसवर्षे उमेर समूहका उत्ताउला युवा ड्राइभरहरू नै बढी दुर्घटनामा परेको देखाउँछ । ऊ पनि यै उमेर समूहभित्रको चालकमा पर्छ ।

तर, उसको कार हँकाइ त्यस्तो उग्र शैलीको प्रभावमा थिएन । ऊ एकदम भद्रतासाथ आफूलाई मिठो लाग्ने कार्लोस सानटानाको पुरानो गीत ‘मारिया मारिया...’ सुन्दै कार चलाइरहेको थियो ।

म उसलाई भन्दै थिएँ, ‘तिमी एकदम राम्रो तरिकाले हाँक्ने सेफ ड्राइभर रहेछौ भान्जा ! म एकदम सुरक्षित महसुस गरिरहेछु ।’

उसले खुसी हुँदै भनिहाल्यो, ‘ओ, थ्यांक यु मामा !’

यै मौका ताकेर मैले उसलाई फेरि भनेको थिएँ, ‘हैन भान्जा, यहाँ डेस प्लेन्समा केही न केही ऐतिहासिक वा महत्त्वका जान्ने, बुझ्ने कुरा त होलान् नि ! पहिले त्यतैतिर लैजाऊ न हामीलाई ।’

मेरो यो आग्रह सुन्नासाथ हठात् प्रकटतः केही सम्झेझैँ गरेर उसले भन्यो, ‘मामा, हजुरलाई म्याकडोनाल्ड फास्टफुड सप (रेस्टुराँ)को सुरुआत यही डेस प्लेन्सबाट भएको हो भन्ने थाहा छ ?’

‘छैन त !’ 

‘ओके ! वास्तवमा म्याकडोनाल्ड फ्रेन्चाइज ब्रान्ड फास्टफुड सपको सुरुआत यै डेस प्लेन्सबाट भएको हो । हेर्ने हो त मामा म्याकडोनाल्डको त्यो पहिलो फास्टफुड सप ?’

नहेर्ने कुरै थिएन । मैले हेर्न चाहेको यस्तै ऐतिहासिक स्थापत्य र प्रकृतिविशेष वा यस्तै केही थियो । मैले उत्सुकताका साथ उसलाई आफ्नो चाह भनिहालेंँ, ‘मैले यस्तै खास कुरा हेर्न खोजेको हुँ भान्जा ।’

मेरो जवाफ कानमा थाप्दै उसले कारको गति बढाउन थाल्यो ।

वास्तवमा, अमेरिकीहरूलाई फास्टफुड र विविधस्तरका कफी संस्कृतिले गाँज्ने भूमिका म्याकडोनाल्डजस्ता कर्पोरेट फास्टफुड चेन नै हुन् ।

अझ म्याकडोनाल्डभन्दा पछिल्लो पुस्ताको डन्किन डोनटले त आफ्नो प्रचारको प्रमुख नारा नै ‘अमेरिका रन्स अन डन्किन’ भन्ने उराल्ने गर्छ । खासमा डन्किन डोनटको यो प्रचारात्मक नारा शतप्रतिशत नै यथार्थ साबित भइसकेको छ ।

किनभने, अमेरिकी नगरका हरेक कुना, हरेक बसबिसौनी, ट्रेनबिसौनी, सबवे, सपिङ मलहरू, ग्यास स्टेसनहरू, राजमार्गका आराम केन्द्रहरू, एयरपोर्टहरू र अन्य बजारक्षेत्रमा खुलेका म्याकडोनाल्ड, डन्किन डोनट, स्टारबक, सबवे, टाको बेल, केएफसी, बर्गर किङ, विन्डी, डेन्जेलोजस्ता कर्पोरेट फास्टफुड चेनहरू आमअमेरिकीहरूको कफी, ब्रेकफास्ट र लन्च, डिनरको केन्द्र भइसकेका छन् ।

यी फास्टफुड सपबिनाको अमेरिकी जीवनको अब कल्पना नै गर्न सकिन्न । आमअमेरिकी जीवनको दैनिकीको सुरुआत नै यी फास्टफुड रेस्टुंरेन्टहरूको कफी र ब्रेकफास्टबाट सुरु हुन्छ । बिहानको झिसमिसेदेखि नै यी फास्टफुड पसलहरूका पार्किङ लटहरूमा ग्राहकहरूको कार खचाखच भरिएको हुन्छ । यो क्रम रातको दोस्रो, तेस्रो प्रहरसम्म चलिरहन्छ ।

अझ कतिपय व्यस्त स्थानका फास्टफुड सप चौबिसै घण्टा खुल्ने गर्छन् । त्यसकारण सहज बोलीमा भन्न सकिन्छ, ‘अमेरिका रन्स अन फास्टफुड स्टल ।’

अमेरिकीहरूलाई यसरी फास्टफुड केन्द्रप्रति उल्का अभ्यस्त र अम्मली बनाउने सुरुआती श्रेय त म्याकडोनाल्डलाई नै जान्छ । डेस प्लेन्स सहरको त्यो सानो ठाउँमा सन् १९५५ मा कागजको कप र मिल्कसेक मिक्चर मेसिनको व्यापारी रे क्रोकले स्थापना गरेको त्यो म्याकडोनाल्ड आजको अत्याधुनिक प्रविधिका सम्पर्क माध्यमहरूको सूत्रले साँघुरिँदै गएको समकालीन विश्वको हरेक कुनाकाप्चामा पुगिसकेको छ ।

वास्तवमा, क्यालिफोर्नियाका डिक म्याकडोनाल्ड र म्याक म्याकडोनाल्डले सुरु गरेको फास्टफुड ड्राइभ इन रेस्टुराँको एजेन्सी किनेर रे क्रोकले सुरु गरेको म्याकडोनाल्डको युरोप र अमेरिकीजगत्मा संस्कृति नै बनिसकेको छ ।

विश्वका सातै महादेशको भूमिमा फैलिएको म्याकडोनाल्डको फ्रेन्च फ्राइ, बर्गर, स्यान्डविच, क्वाटर पोंडर, चिकेन नगेटलगायत तयारी परिकारका स्वाद चीन, भारतदेखि पेरुसम्मका करोडौँ जिब्रामा हरदिन पुग्ने गर्छ ।

विश्वभर लगभग एकतीस, बत्तिस हजार स्टल संख्यामा फैलिएको म्याकडोनाल्डलाई कुल चार लाख सत्तरी हजारजति कर्मचारीले सञ्चालन गर्छन् ।

स्टल र कर्मचारीहरूको यो संख्यामा दश प्रतिशतका दरले सालाना बढ्दो पनि छ । लभगभग बाइस हजार मिलियन डलरको सालाना बिक्री हुने यो विश्वजाल कर्पोरेटको सुरुआत भएको भूमि डेस प्लेन्सको एनलि स्ट्रिटस्थित रे क्रोकले स्थापना गरेको त्यस पहिलो म्याकडोनाल्डको स्टलसामुन्ने लगभग दश मिनेटभित्र विश्वले हामीलाई पुर्‍याएको थियो ।

विश्वले आफ्नो कार हाल सञ्चालनमा रहेको नयाँ म्याकडोनाल्डको पार्किङ लटमा छिराएर बिसाएको थियो । त्यसपछि उसले हामीलाई त्यसको सिधा सडकपारिपट्टि चार सय नम्बर घरठेगान भएको म्याकडोनाल्डको त्यस ऐतिहासिक धरोहरमा पुर्‍याएको थियो, जहाँ पार्किङ लट समेत भएको बाउन्न वर्ष पुरानो पहिलो म्याकडोनाल्डलाई हुबहु जस्ताको तस्तै सुरक्षित राखिएको देखियो ।

म्युजियमको रूपमा संरक्षण गरिएको म्याकडोनाल्डको त्यो आदिस्वरूपलाई हामीले फुटपाथमै उभिएर हेर्नुपरेको थियो । किनभने, फलामे डन्डीका चारफुटे बारले घेरेर तालाबन्द रूपमा सुरक्षित राखिएको म्याकडोनाल्डको यो स्टललाई भित्रै पुगेर हेर्न सकिएन ।

म्याकडोनाल्डको यो म्युजियम वार्षिक रूपमा आउने मेमोरियल डे र लेबोर डेबीच पर्ने बिहीबार, शुक्रबार र शनिबार गरी वर्षमा जम्मा तीन दिन मात्र सार्वजनिक अवलोकनका लागि खोलिने रहेछ ।

तर, म्याकडोनाल्डको यो प्रथम स्वरूपको हरेक वस्तु र त्यसले सुरुमा प्रयोग गरेको कफीमेकर, मिल्कोसेकरदेखिका पकाउन प्रयोग गर्ने गरेका भाँडाकुँडाहरू बाहिर सडक र फुटपाथमै उभिएर पनि हेर्नदेख्न सकिने दृश्यमान स्थितिमा राखिएको थियो ।

त्यसकारण कम्पाउन्डभित्र पस्न नपाए पनि ती उपकरण र आदिम्याकडोनाल्डको त्यो चिटिक्को भुइँतले स्टलको ती सम्पूर्ण भौतिक स्वरूप हामी बाहिर साइडवाकमै उभिएर हेर्न सकिरहेका थियौँ । स्टलबाहिर राखिएको त्यसको मेनु बोर्ड पढ्दै हामी चकित भइरहेको थियौँ ।

त्यस मेनु बोर्डमा ह्यामबर्गरको दश सेन्ट, चिजबर्गरको उन्नाइस सेन्ट, फ्रेन्च फ्राइ एक भाँडाको दश सेन्ट, कफी, मिल्कसेकको दश सेन्ट लेखिएको देखियो । उन्नाइस सेन्टभन्दा माथिको मूल्य लेखिएको त्यो मेनुमा कुनै पकवान र पेय थिएनन् ।

अहिलेको म्याकडोनाल्डको सानो कपको कफी मात्रको पनि पौने दुई डलर पर्छ । सानो आकारको ह्यामबर्गरकै ६ डलर पर्छ । सबभन्दा सानो भाँडोमा लिने हो भने फ्रेन्च फ्राइकै अढाई डलर पर्छ । हालको म्याकडोनाल्डको मेनु र प्रथम म्याकडोनाल्डको त्यो मेनुमा अंकित मूल्य दाँजेर हेर्ने हो भने अमेरिकी मुद्रास्फीतिको गति राम्रोसँग बुझ्न सकिन्छ ।

अबको अमेरिकामा दशपन्ध्र सेन्टमा पाइने चिज खोज्न गाह्रो छ । विभिन्न व्यापारिक स्थानहरूमा केटाकेटी लोभ्याउन राखिएका पिपलमेन्ट झर्ने भेन्डिङ मेसिनभित्र पच्चिस सेन्टको सुकी ढ्याक (क्वाटर) नछिराई केटाकेटीहरू त्यसबाट गेडी पिपलमेन्ट समेत निकाल्न सक्तैनन् ।

तर, त्यस बेला उन्नाइस, बीस सेन्ट लिएर म्याकडोनाल्डभित्र सानसँग छिरेपछि एउटा वयस्क पेट मजाले अघाउँदो रहेछ । अहिले म्याकडोनाल्डभित्र छिर्ने उही आकारको पेट अघाउन दश डलर खर्च गर्नुपर्छ । कहाँ दश, बीस सेन्ट र कहाँ दश डलर !

बाउन्न वर्षबीचको मूल्यको यो भयानक अन्तर केलाउने हो भने अमेरिकी मुद्रास्फीतिको स्थिरताको धाक लाउनेहरूलाई त्यसले लोप्पा ख्वाउँछ । त्यसकारण आदिम्याकडोनाल्डको त्यो ऐतिहासिक मेनु मलाई हाल अमेरिकी बजारमा अचाक्लीसँग कुदिरहेको महँगीको माइलेज देखाउने माइलमिटर लागेको थियो ।

विश्व त त्यो मेनु हेर्दै छक पर्दै भनिरहेको थियो, ‘एमेजिङ !’

आफ्नो इतिहासको धरोहर पूर्णतः साबुत राख्दै त्यसलाई म्युजियमको मान्यता दिएर म्याकडोनाल्डले डेस प्लेन्स सहरको त्यो एनलि मार्गलाई पर्यटकीय र अवलोकनीय बनाएको छ ।

आफ्नो संस्थापक स्वर्गीय रे क्रोकको सम्मानमा समर्पित र संरक्षित गरिएको म्याकडोनाल्डको त्यो धरोहर हेर्न थुप्रै जिज्ञासु पर्यटक रमाउँदै पुग्दा रहेछन् ।

मार्चको त्यो शीतल बिहान पनि थुप्रै घुमन्ते त्यहाँ पुगेका थिए । ती सब कुनै ठूलै ऐतिहासिक धरोहरसँग साक्षात्कार हुन पाएझैँ विश्वव्यापी जालको म्याकडोनाल्डको त्यो बाउन्नवर्षे आदिस्वरूप हेरेर खुब रमाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro