काठमाडौं । केही महिना अघिससम्म गण्डकी प्रदेशसभामा राजीव गुरुङ (दीपक मनाङे) सत्ता जोगाउने र भत्काउने महत्वपूर्ण ‘फ्याक्टर’ थिए । उनीबेगर सत्ता असुरक्षित हुँदा महत्वपूर्ण मन्त्रालय र मन्त्री दिनुपर्ने बाध्यता थियो । जब नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन बन्यो, तब उनलाई ‘भाउ’ दिनुपर्ने अवस्था रहेन ।
अब त सर्वाेच्च अदालतको मंगलबारको आदेशसँगै उनको सांसद पद मात्रै गुमेन कि २० वर्ष पहिलेको अपराधको सजाय काट्न फेरि जेल जीवन बिताउनुपर्ने भएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला सदर गरेसँगै उनी जेल जीवन भोग्नुपर्ने अवस्थामा पुगेका हुन् ।
मनाङेसहितको समूहलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरिसकेको थियो । मनाङेकै समूहमा रहेर गुण्डागर्दीमा संलग्न काभ्रेका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई समेत ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
तर, मनाङेबाहेक उनीहरू पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए । उनीहरूलाई सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २०७४ माघ २ गते सफाइ दिएको थियो ।
मनाङेको हकमा जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योग मुद्दा नभई कुटपीट घटना ठहर गर्दै दुईवर्ष कैद सजाय तोक्यो । जिल्लाको फैसलाअनुसार उनी दुईवर्ष जेल जीवन भोगिसकेका छन् ।
२०६१ चैतमा पक्राउ परेका मनाङे २०६३ माघमा जेलमुक्त भएका थिए ।
मनाङे पछि राजनीतिमा प्रवेश गरे । मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् । यसअघिको कार्यकालसमेत मनाङेले एमालेको समर्थनमा सोही निर्वाचन क्षेत्रबाट जितेका थिए । उनी ७ पटक मन्त्रीसमेत भइसकेका छन् । ६ पल्ट मन्त्रालय सम्हाले पनि पछिल्लो समय भने उनलाई तोकिएको वन मन्त्रालय भने उनले सम्हालेनन् ।
यस्तो थियो घटना
उपत्यकामा २०६० देखि ७० को एक दशक गुण्डागर्दीको राज थियो । आपराधिक समूह निर्माण गरी व्यवसायीलाई धम्क्याएर रकम असुल गर्नेदेखि निर्माण व्यवसायी र रात्रीकालीन व्यवसायीबाट हप्ता असुलीको धन्दा चलेको थियो ।
यही अपराधिक समूहका एक नाइके थिए, दिपक मनाङे । उनको समूहमा सामेल हुन काठमाडौं आसपासका जिल्ला नुवाकोट, काभ्रेका युवाहरू आफैँ खोजेर आउँथे ।
मुख्यतः ठमेल र दरबारमार्ग क्षेत्रलाई आधार क्षेत्र बनाउँदै आपराधिक गतिविधिमा उनी सामेल थिए ।
उनका दाहिने हातजस्तै थिए, काभ्रेका गणेश लामा । हाल उनीसमेत कांग्रेसकै राजनीतिमा सक्रिय छन् । मनाङेकै समूहमा अर्का चर्चित गुण्डा नुवाकोटका कुमार श्रेष्ठ (घँैटे) पनि थिए ।
मनाङेले लामालाई बढी विश्वास गर्न थालेको र आफूलाई किनारा लगाउन खोजेको रिसमा घैँटेले त्यो समूह छाडेका थिए । घैँटे अर्का गुण्डा नाइके गोर्खाका मिलन गुरुङ उर्फ चक्रे मिलन समूहतिर लागे ।
२०६० सालमा काठमाडौंमा मुख्यतः चक्रे मिलन र दिपक मनाङेकै समूह चर्चामा थियो ।
यी दुई समूह आ–आफ्ना आधार क्षेत्रमा अरु गुण्डाको प्रवेशमा रोक लगाउँथे । आफ्नो आधार क्षेत्रमा मनाङेको समूहलाई देखेमा चक्रे मिलन समूहले कुटपिट गर्थे । मनाङेको क्षेत्रतर्फ चक्रे समूहका युवा देखेमा उनीहरूले कुटपिट गर्थे ।
चक्रे मिलन समूह मुख्यतः महाराजगञ्ज, बसपार्क र चक्रपथ क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी र हप्ता असुलीमा सक्रिय थिए । कुमार घैँटे चक्रे मिलन समूहमा लागेपछि त्यो समूह हौसिएको थियो ।
चक्रे समूहले जय नेपाल हलअगाडि दिपक मनाङेमाथि कुटपीट गर्यो । आफ्नो गुरुमाथि कुटपिट भएपछि मनाङे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामा चक्रे मिलनमाथि आक्रामण गर्ने योजनामा थिए । त्यसका लागि उनीहरू उपयुक्त समयको खोजीमा थिए ।
२०६१ साउन १० गते चक्रे मिलन पानीपोखरीस्थित चुफाङ रेष्टुरेन्टमा बसेको सूचना मनाङे समूहले पाए । त्यही सूचनापछि २० भन्दा बढी मोटरसाइकलमा मनाङेका युवा चक्रे मिलन बसेको रेष्टुरेन्ट पुगे । चक्रेसँग उनका केही सहयोगी थिए ।
मनाङेको समूहका केटाहरूले हेल्मेट प्रहार गरे । उनका समूहले प्रतिकारसमेत गर्न पाएनन् । चक्रेको हात छिनालियो ।
हाल सर्वोच्चबाट सफाइ पाएका मनाङे समूहका एक जनाले बाह्रखरीसँग भने, ‘‘हामी २०–२५ जना थियौं । अन्धाधुन्ध हानियो । २० वर्षको उमेरको कुरा, धेरै के गर्नु खुकुरी चाहिँ कसले प्रहार गरे । हामीले समेत चाल पाएनौं । घटनाको जिम्मा दिपक दाइले लिनुभएको हो ।’’
मनाङे समूहका युवाहरूको प्रहारबाट छिनालिएको हात पछि त्रिवि शिक्षण अस्पतालमा जोडिएको थियो । हाल चक्रेको उक्त हात राम्रोसँग चल्दैन । चक्रे आफैँ आपराधिक समूहका नाइके भएका कारण प्रहरीमा जाहेरी गरेनन् ।
उनकी श्रीमती इन्दिरा गुरुङले ०६१ साउन ११ गते हनुमानढोका प्रहरी कार्यालयमा दिएकी थिइन् । हाल चक्रे मिलनसमेत एमालेको राजनीतिमा सक्रिय छन् भने घैँटे प्रहरी इन्काउन्टरमा मारिसकेका छन् ।
त्यतिबेला प्रहरीले मनाङे समूहका पंकज सारु, राजु श्रष्ठ, संजिव डंगोल, साजन गुरुङ, रवि बस्नेत र मंगल श्रेष्ठलाई समेत प्रतिवादी बनाएको रेकर्ड प्रहरीमा छ । प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले अदालतको आदेश अनुसार प्रहरी अघि बढ्ने बताए ।
‘‘अदालतले दोषी ठहर गरेको भन्ने आएको छ । हामीलाई कार्यान्वयन गर्न आदेश आउनासाथ कानुनी दायरामा ल्याउँछौं,’’ डीआईजी कार्कीले भने । मनाङे सर्वोच्चको आदेशसँगै सम्पर्कबाहिर छन् ।