site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दिल्ली उडानकै भाडा एक लाख ३० हजार ! देश छाड्दा पनि सरकारकै मार खेप्नुपर्ने !

काठमाडौं । नेपालबाट तत्काल छिमेकी राष्ट्र भारत जानुपर्‍यो भने के गर्ने ? भन्नुहोला जहाजको टिकट काट्ने अनि जाने । 

तर, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कात्तिक २३ गते देखि १० घण्टा विमानस्थल बन्द गर्ने निर्णयसँगै दिल्लीलगायतका अन्तर्राष्ट्रिय गन्तव्य पुग्न कि त महँगो टिकट काट्नुपर्छ अन्यथा हवाइ यात्राको विकल्प खोज्नुपर्छ ।

भोलि बिहीबार दिल्ली जानु परेको खण्डमा सामान्य दरका कुनै टिकट छैनन् । बिजनेश क्लासको टिकटको ३ सिटमात्रै देखिन्छ । जसको मूल्य एक लाख ३० हजार छ । 

Dabur Nepal
NIC Asia

दिल्लीमात्रै होइन, विदेश जाँदा वा नेपाल भित्रिँदा महँगो मूल्यको टिकट लिनैपर्ने परिस्थिति सिर्जना हुँदै छ  । प्राधिकरणको ‘गलत अडान’ का कारण यो समस्या भए पनि सरकारसमेत रमिते बनेको छ ।

सरकारले समस्या समाधान गर्न कुनै पहल नगरेको गुनासो छ । यही मौकामा अन्तर्राष्ट्रिय विमान कम्पनीका जीएसएले समेत यात्रुलाई मर्का पार्ने काम गरेको व्यवसायी प्रज्ञान न्यौपाने बताउँछन् ।

न्यौपाने म्यानपावर व्यवसायी हुन् । “यसको मार चौतर्फी परेको छ । हामीले कसरी काम गर्ने भन्ने प्रश्न आइसक्यो । घाटाको व्यापार त कसैले गर्न सक्दैन तर सरकारले पनि ध्यान दिने ठाउँमा त दिनुप¥यो नि !,” उनले भने, “यहाँका जीएसले पनि अनलाइन बुक गरेर टिकट आफैँ राखेका छन् । थोरैमात्रै देखाउँछन् । त्यसैले यात्रुलाई समस्या परेको हो ।”

उनका अनुसार, साउदी, दुवईलगायतका देशमा नेपाली कामदार पठाउँदा उनीहरूको टिकट केही दिनअघिसम्म ३५ देखि ४२ हजार रूपैयाँमा पाइन्थ्यो, अब कम्तीमा पनि एकलाख रुपैयाँ पर्छ ।

“मैले नै अक्टोबर ३० तारिखमा ३० हजारमा पठाएको हुँ, पर्सीको लागि टिकट खोजेको एक लाखरुपैयाँ भनेको छ, यस्तो अवस्थामा कसरी पठाउने ?,” उनको प्रश्न छ ।

उनका अनुसार, यसरी कामका लागि दैनिक एक हजारको हाराहारीमा नेपाली बाहिरिन्छन् । आउनेको संख्या र आउने–जाने गर्नेको संख्याका कारण पनि हवाइ यात्रुको संख्या ठूलो हुने गरेको छ ।

नेपालको विमानस्थलले धान्न नसक्ने अवस्थामा नेपालबाट श्रम स्वीकृति लिएका कामदारलाई भारतको बाटो तेस्रो देशमा पठाउन सकिने व्यवस्था गर्न उनले माग गरे । “श्रम स्वीकृति लिएको प्रमाण भएपछि भारतबाट जान सुविधा भए पनि हुन्थ्यो, त्यो पनि सरकारले दिँदैन,” उनले भने, “यही अवस्था कायम रहेमा वैदेशिक रोजगारीमा पठाउनै सकिँदैन ।”

कात्तिक २३ गतेदेखि ‘ट्याक्सी वे’ विस्तार गर्न देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल दिनको दश घन्टा बन्द गर्ने निर्णयसँगै विदेशी गन्तव्यको हवाइ भाडाले आकाश छोएको हो । 

महँगो मूल्यमा पनि टिकट पाइँदैन । दिल्लीमात्रै होइन नेपालबाट जाने अधिकांश जहाजको टिकट पाउनु ‘भाग्यमानी’ हुनुपर्ने अवस्था छ । एक महिनासम्म नर्मल रेटमा कुनै जहाजको टिकट पाइँदैन । 

नेपालको प्रमुख पर्यटकीय सिजन कात्तिक मंसिर हो । यतिबेला विश्वभरबाट विदेशी पर्यटक नेपाल आउने गर्छन् । नेपाल आउने तर्खरमा रहेका कतिपय पर्यटकले हवाइ भाडा र टिकट नपाएकै कारण आफ्नो भ्रमण रद्द गरेका पर्यटन व्यवसायीहरू बताउँछन् । 

सरकारले जबर्जस्ती अन्य दुई विमानस्थल सञ्चालनका लागि काठमाडौंको विमानस्थल १० घण्टा बन्द गर्न लागेको भन्दै केही सांसदहरूले नै चर्को विरोध गरिराखेका छन् । 

संसदीय समितिमा समेत यसको चर्को विरोध हुँदा पनि मर्मत समय घटाउन सरकारले कुनै चासो दिएको छैन । विमानस्थल बन्द भएकै कारण नेपालबाट मुख्यगरी खाडी लगायतका राष्ट्र जाने यात्रुहरू पीडित हुनेछन् । 

कांग्रेस सांसद राजेन्द्र बजगाइँले सरकारले प्राधिकरणका महानिर्देशक परिवर्तन नगरेसम्म नेपालको हवाइ क्षेत्र सुधार नहुने भन्दै स्टाटस राखेका छन् । “के प्रधानमन्त्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकलाई बर्खास्त गर्न सक्नुहुन्छ ? के संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्रीलाई उच्च गतिशीलताका साथ कुनै व्यक्तिले बदल्न सकिन्छ ?,” उनले लेखेका छन् । 

उनी लेख्छन्, “दुवई जाने हवाई भाडा ७०–८० हजार पर्न सुरू भैसक्यो । देश छोड्ने मजदुरलाई पनि मार्दै पठाइरहन्छौँ ! गैरजिम्मेवार उड्डयन मन्त्रालयको कारणले आगामी पाँच महिना लाखौँ हवाइ यात्रुको बेहाल हुनेछ । आगामी दुईवर्ष नेपालको हवाइ टिकट वितरण बिक्रीमा गम्भीर धक्का लाग्नेछ । ख्यातिप्राप्त उड्डयन कम्पनीहरूको टिकट बिक्री र विश्वनीयतामा आँच आइसकेको अवस्था छ । नेपालस्थित कूटनीतिक नियोगहरू एक कर्मचारी एक बाटो बिराएको मन्त्रीसँग निराश छन् ।”

मुख्य विमानस्थल १० घण्टा बन्द हुने भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र क्यानको चर्को आलोचना भइरहेको छ । तर, सरकार र क्यान यसमा तलमाथि गर्ने पक्षमा देखिँदैन ।
 
क्यानका प्रवक्ता हंसराज पाण्डे विन्टर सेड्युलसम्म पनि अवस्था उस्तै रहेमात्रै १० घण्टा बन्द गर्ने निर्णय पुनरवलोकन गर्ने बताउँछन् । “विन्टर सेड्युल आइसकेको छ । भैरहवा र पोखरा पनि नजाने र उडान कटौती हुने अवस्था आए त्यसपछि रिभ्यू हुन्छ,” उनी भन्छन् । 

विमानस्थल १० घण्टा बन्द गर्नाले पर्यटनमा असर पुग्ने भन्दै कतिपयले यसको समय फेरबदलको पनि माग गरिहरेका छन् । ८ घण्टामा पनि काम गर्न सकिने अवस्था रहेको र यसले उडान पनि प्रभावित नहुने र भन्दै समयतालिका फेरबदल गर्न माग गरेका छन् ।

मन्त्रालय भने विमानस्थलको काम जसरी पनि सक्नुपर्ने अवस्था रहेको र विकल्पमा भैरहवा र पोखरा विमानस्थल देखाउँछ ।  भैरहवा र पोखरा सञ्चालन गर्न मन्त्रालयले आर्कषक प्याकेज समेत ल्याएको भन्दै विमानस्थल स्तरोन्नति अनिवार्य रहेको मन्त्री बद्री पाण्डे बताउँछन् । स्तरोन्नतिपछि विमानस्थलको क्षमता बढ्ने बताउँछन् ।

नागरिक उड्डयन प्राधिकरणकाअनुसार कात्तिक  २३ गतेबाट काम सुरु भएर चैत १८ गते (२०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१) सक्ने योजना छ । 

मुख्य पर्यटकीय मौसममा विमानस्थल १० घण्टा बन्द गर्ने र यसको विकल्पको रुपमा भैरहवा र पोखरा विमानस्थल दिँदा विमान कम्पनीहरूले उडान नै नगर्ने हो कि भन्नेसमेत चिन्ता छ । 

तर, सरकार जसरी पनि विमानस्थल बन्द गरेर ३० प्रतिशत उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पठाउन चाहन्छ । हालसम्म जम्मा तीन वटा जहाजमात्रै भैरहवा गएका छन् ।

निर्माण सकिएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान नभएपछि गौतमबुद्ध तथा पोखरा विमानस्थलमा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले २७ वटा कार्ययोजना ल्याएको थियो ।
 
मन्त्रिपरिषदले साउन २८ गते पोखरा र भैरहवा विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न २७ बुँदे कार्ययोजना पास गरेको थियो । तर, अझै पनि अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरू त्यसमा आकर्षित भएका छैनन् ।

के भन्छन् महानिर्देशक ?

गर्मी याममा काम गर्न नसकिने, त्यसैबेला मनसुन पनि हुने भएकाले यो समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको दाबी छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महानिर्देशक अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताएका छन् ।
क्यानको यो निर्णयले चालु आर्थिक वर्षको आयमा पनि २ अर्ब नोक्सान पर्ने देखिएको छ ।

यस्तो छ महानिर्देशक अधिकारीको जवाफ–
जहाज ल्यान्ड भएपछि एप्रोनसम्म आउन हामीसँग समानान्तर ट्याक्सी वे नभएका कारणले गर्दा हामीले रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्छ । यो रनवेमा जहाजले बढी समय लिन्छ । यो ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वे मा निकालेर एप्रोनमा ल्याउछौँ । 
त्यो भएपछि रनवेको अकुपेन्सी टाइम घटने भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने हाम्रो फोरकाष्ट छ । अहिले गर्न लागेको ठ्याक्कै के हो भने प्यारालल ट्याक्सी वे बनाउने र त्यसलाई रन वे मा जोड्नुपर्‍यो । 
यो रनवेमा जोडने ठाउँमा हामीले खनेर टयाक्सी वेसम्म लिएर आउने हो । त्यहाँ हामीले खन्नु पर्‍यो । भोलिपल्ट फेरि बिहान फ्लाइट हुने बेलासम्म रन वेको दायाँबायाँ ७५ मिटर त फेरि सम्म जमिन नै देखाउनु पर्‍यो । भनेपछि खन्नुपर्‍यो । त्यसपछि माटो त्यहाँ फिल गर्नुपर्‍यो । बेस फिल गर्नुपर्‍यो । त्यसपछि पिच गर्नुपर्‍यो । 

pradip-adhikari-(2)-1730883197.jpg

भोलिपल्ट हामीले रन वे पनि क्लियर गर्नुपर्‍यो । होइन भने आईकाओको स्टान्डर्डभित्र नपर्ने भएकाले भोलिपल्ट हामीले एयरपोर्ट फेरि खोल्न सक्दैनौँ । त्यस कारण हामीलाई मिनिमम १० घण्टा चाहिन्छ भन्ने हाम्रो क्याल्कुलेशन हो । 
त्यो क्याल्कुलेशनअनुसार हामीले एयरपोर्ट ५ महिनाका लागि बन्द गरेको हो । यो १० घण्टा किन गर्नुभयो, ८ घण्टा किन गर्नुभएन ? भन्ने प्रश्न पनि छ । १० घण्टा बन्द गर्दा यो ५ महिनामा सकिन्छ । यो विन्टर सेडयुलमा सिध्याउने हाम्रो टार्गेट छ । यसलाई १० को ठाउँमा ८ घण्टा लिएर आयो भने के हुन्छ भने ७ महिना बढी जान्छ । यसले अर्को समर सेड्युललाई पनि असर गर्‍यो । 
नोभेम्बरको १५ दिन हामीलाई अलि बढी असर गर्छ नै । किनभने नोभेम्बरको २०/२५ सम्म हामी हाम्रो सिजन हो । त्यसपछि डिसेम्बर, जनवरी, फेब्रुअरी काठमाडौँ र तराइका अन्य विमानस्थलमा पनि हुस्सुका कारण धेरै फ्लाइट हुने होइन । मनसुनमा हामी यो काम गर्न सक्दैनौँ । 
यस कारण यो नै उपयुक्त समय हो भनेर हामीले १० घण्टा बन्द गरेर यो काम सकाउन लागेको हो । यो काम किन सकाउन लागेको हो भने यसले रन वेको क्षमता बढाउँछ । हामीले यो ५ महिनामा हाम्रो अनुमानित आयको २ अर्ब नेपाली रुपैयाँ गुमाउदैछौं । 
यो कुनै रणनीति पनि होइन, यो कुनै राजनीति पनि होइन । र, यो कसैलाई पेलेको पनि होइन । बनाउनैपर्ने भएकाले बनाउन लागिएको हो । यसपछि यसको क्षमता विस्तार हुन्छ । यसले एयरपोर्टको इफिसेन्सी बढी हुन्छ । यसले यो भन्दा बढी फ्लाइट गर्ने सम्भावना रहन्छ । 
त्यसैले हामीले भैरहवा पठाउनका लागि काठमाडौँ बन्द गर्‍यो भन्ने विषय यो त्यति म्याचिङ विषय होइन । यो विषय त हामीले ७/८ महिनादेखि एयरलाइन्सहरूसँग छलफल गरेर हामीले नो डाउन गरेर नै ६ महिना हुन लागि सक्यो । यो हाम्रो अगाडिकै योजना हो । 
भैरहवाको विषय त सरकारले निर्णय गरेको धेरै भएको छैन नि । त्यस कारण भैरहवा, पोखरामा प्याकेज दिएर अन्तर्राष्ट्रिय वायुयानलाई आकर्षित गर्ने एउटा प्याकेज हो । टीआइएमा चाँडै काम सिद्ध्याएर अर्को समर सेडयुलमा काठमाडौं विमानस्थलमा भइरहेको फ्लाइट नघट्ने गरी अर्को समय सेडयुलसम्म तयार गर्ने यो अर्को प्याकेज हो । यो छुट्टाछुट्टै प्याकेज हो । यसलाई हामीले यसरी बुझिदिनुपर्छ जस्तो लाग्छ मलाई ।
आन्तरिक उडान पनि कम्तीमा ३० प्रतिशत कटौती हुन्छ । तर डोमेस्टिक एयरलाइन्सँग पनि हामीले प्रशस्त छलफल गरेका छौँ । उहाँहरू एकदमै सकारात्मक हुन्छ । यो बनिसकेपछि एयरर्पोटको इफिसेन्सी नै अर्को हुन्छ नि । यो वर्षौंदेखि पाइलटले खोजेको कुरा हो नि । यो विषयमा उहाँहरूको पूर्ण समर्थन छ । तीनवटा अन्तर्राष्ट्रिय वायु यान उडान भर्ने प्रतिवद्धता आएको छ । भैरहवाबाट तीनवटा वायुयानले आफ्नो उडान निकट भविष्यमा नै सुरू गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro