अमर अधिकारी
गाउँमा निर्मलले तरकारी खेतीका साथै बाख्राहरू पनि पालेका थिए । ऋतुअनुसार उत्पादित विभिन्न किसिमका तरकारी उनले नजिकैको बजारमा लगेर बिक्री गर्दथे । गोठमा एक हल गोरु पनि भएकाले बारीमा मलको अभाव हुँदैनथ्यो । कृषि प्राविधिकको सल्लाह बमोजिम उनले तरकारीका बोट वरिपरि थोरैथोरै रासायनिक मल पनि प्रयोग गर्दथे ।
एकहल गोरु र बाख्राको मलले उनको सानो आकारको तरकारी खेतीमा राम्रैसँग सघाउ पुगेको थियो । गाउँमा कतिपयका घरहरूमा वाईफाई जोडेको हुँदा किशोर किशोरीदेखि अधबैँसेसम्मका मान्छेहरू फेसबुक र युट्युबमा रमाउन थालिसकेका थिए ।
कोही कमेडी हेरेर र सुनेर हाँसिरहेका हुन्थे भने कोही फेसबुकमा नचिनेकालाई पनि अन्धाधुन्ध साथी बनाइरहेका थिए । निर्मलकी श्रीमतीले पनि घरमा वाईफाई जोड्ने कुरा उठाइन् ।
निर्मललले तरकारी खेतीका लागि लगानी, आम्दानी अनि खर्चको हिसाब गरिरहँदा श्रीमतीको प्रस्ताव स्विकार गर्ने मनस्थितिमा थिएनन् । श्रीमतीले कर गरेपछि निर्मलले एउटा ठुलो खालको सप्रिएको बोको बिक्री गर्ने सोचे ।
केही दिनपछि निर्मलले एउटा बोको बेचेर वाईफाई जोड्ने कामका लागि प्राविधिकलाई फोन गरेर बोलाए । छोराछोरी पनि ‘हामीले मोबाइल चलाउन पाउने भयौँ’ भनेर मख्ख परे ।
वाईफाई जोडेर मात्र के हुन्थ्यो ? स्मार्ट फोन अर्थात् बहुउपयोगी मोबाइल पनि किन्नुपर्ने भएपछि निर्मल निराश भए । पहिलेदेखि चलाउँदैआएको साधारण मोबाइलले फेसबुक चलाउन, युटुबमा भिडियोहरू हेर्ने कुरै भएन ।
स्मार्ट फोन किन्न अरू पनि खसी–बोका बेच्नुपर्ने अवस्था आयो । खसी बोका बेचेर निर्मलले श्रीमती र छोराका लागि नयाँ मोबाइल किनिदिए ।
मोबाइलकर्म सुरु भएपछि परिवारबाट निर्मललाई सघाउने फुर्सद नहुने भयो । फलस्वरुप तरकारी खेतीमा उत्पादन कम हुनथाल्यो । निर्मलका छोराछोरीसँगै श्रीमती पनि फेसबुक युट्युबमा जम्नथालेपछि उनको कृषि व्यवसायमा धक्का पुग्दैगयो । मोबाइलको लतले घरमा खाना पनि समयमा नपाक्ने भयो ! छोराछोरीका गृहकार्य नसकिँदा र विद्यालय समयमा नपुग्दा तिनको पठन मनोविज्ञान नै बिग्रन थाल्यो ।
निर्मललाई भने चिन्ताले खाँदै गयो !