site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कलाकार श्रीमान् बगलीमारा

मोहनराज शर्मा
टन्न भरिएको बस । अरूसँगै झप्पु सिं पनि गुन्द्रुकझैँ खाँदिएका छन् । एक्कासि उनको पेन्टको देब्रे गोजी सगबगाउन थाल्दछ, कहिले यता र कहिले उता । उनी झस्किन्छन् ।

दाहिने हातले दरोसँग बसको रेलिङ समाती देब्रे हातलाई गोजीतर्फ लम्काउँछन् । आफ्नो गोजीभित्र अर्काको हात फेला पर्छ, बगलीमाराको छट्टू हात । त्यसलाई च्याप्पै समाती हातधनीतर्फ मुन्टो फर्काएर हेर्छन्, ऊ रती हरेस नखाई खिसिक्क हाँसिदिन्छ ।

झप्पु सिं– नकच्चरा, यस्तो कुकर्म गरेर पनि कसरी बङ्गारा ङिच्च्याउन सकेको होला ?

बगलीमारा– ए, मिस्टर ! म नकच्चरा होइन, बगलीमारा हुँ । बगली मार्नु ‘कुकर्म’ होइन ‘कला’ हो ।

झ.– नापियो, बगली मार्नु पनि कहीँ कला हुन्छ ?

बग.– सुटुक्क सयौँ गोजी कतर्ने यस कैँचीलाई छोएर भन्छु, बगली मार्नु कला हो, कला हो, कला हो । आजको नयाँ कुरो होइन, अरस्तुका गुरु प्लेटोका पालादेखि नै चौर्यको गन्ती कलाभित्र हुन थालेको हो ।

झ. प्लेटोका पालादेखि ?

बग.– यी, ब्लेड समोतेको छु, झूटो बोल्दिनँ । कलासमीक्षाका प्रथम आचार्य प्लेटोले कलालाई दुई भागमा बाँडेका छन्, एउटा ‘ललित कला’ र अर्को ‘उपयोगी कला’ । बगलीमारकला दोस्रो प्रकारको कला हो ।

झ. कसरी ?

बग.– प्लेटोकै मतमा उपयोगी कलाको मुख्य विशेषता हो ‘आर्जन’ । जसरी सिकर्मी र डकर्मीले आफ्ना सीपद्वारा आर्जन गर्छन्, त्यसै गरी बगलीमाराले पनि आफ्ना सीपद्वारा आर्जन गर्छ ।

झ.– सिकर्मी र डकर्मीले आफ्ना सीपद्वारा आर्जन गर्छन्, तर रगत–पसिना बगाएर । तिमीहरूचाहिँ...।

बग.– ...भयो, भयो ! यहीँनेर धेरैले कुरो बुझेका छैनन्, तपाईंले पनि बुझेको रै’नछ । वास्तवमा यो भूल स्वयं प्लेटोबाट पनि भएको छ ।

झ.– प्लेटोबाट के भूल भएको छ ?

बग.– उपयोगी कलाको लक्षण विचार्दा उनले यसको आर्जनपक्ष मात्र हेरे । यस साँघुरो हेराइले गर्दा उनले के विचार्न सकेनन् भने कुनैकुनै उपयोगी कला पनि ललित कला हुन सक्छ ।

झ.– असम्भव ! उपयोगी कलालाई प्लेटोले ‘निम्न श्रेणी’ को बताएका छन्, यो ‘उत्तम श्रेणी’को ललित कलाका हाराहारी कसरी पुग्न सक्छ ?

बग.– पुग्न सक्छ ! हाम्रै बगलीमार कलालाई हेर्नोस् । आर्जनपक्ष हेर्दा यो उपयोगी कला हो, तर यसमा अरू जम्मै लक्षण ललित कलाकै छन् ।

झ.– यसमा ललित कलाको के लक्षण छ र ?

बग.– उपयोगी कला ‘शारीरिक श्रमप्रधान’ हुन्छ, जस्तै– सिकर्मी र डकर्मीको काम । यसका विपरीत ललित कला ‘बौद्धिक श्रमप्रधान’ हुन्छ, जस्तै– साहित्य, सङ्गीत र चित्रकला । हाम्रो कला शारीरिक श्रमप्रधान नभएर बौद्धिक श्रमप्रधान हो । यसैले हामीले सिकर्मी–डकर्मीझैँ रगतपसिना बगाएर मिहिनेत गरिरहनु पर्दैन ।

झ.– गजपको तर्क दियौ ! आफ्ना कुरालाई अझै प्रस्ट पारेर भन त !

बग.– सुन्नोस्, बुझ्नोस् र गुन्नोस् । ललित कलालाई ललित कला किन भनिन्छ ? जबाफ सोझो छ, “त्यसमा बौद्धिकता हुन्छ । हाम्रो कलामा पनि बुद्धिकै खाँचो पर्छ । यसमा पोख्त हुन र सफलता हासिल गर्न बुद्धि खर्च गर्नुपर्छ, सिकर्मी र डकर्मीझैँ रगतपसिना चुहाएर मात्र केही हुन्न । साँच्चै भन्छु, एउटा महाकाव्य रच्न जति बुद्धि खियाउनुपर्छ, त्यति नै बुद्धि एउटा बगली मार्न पनि खियाउनुपर्छ ।

झ.– त्यसो भए तिमीहरू पनि आफूलाई बुद्धिजीवी नै भन्छौ होला ?

बग.– निस्सै !

झ.– आम्मै हामी त एउटै वर्गका रहेछौँ ! एउटा बुद्धिजीवीले अर्को बुद्धिजीवीसँग के झगडा गर्नु !

बग.– त्यसो भए मेरो हात छाड्नोस् । लौत, बिदा !

झप्पु सिंले उसको हात छाडे । हात फुक्का हुनासाथ त्यस बुद्धिजीवीले अर्को बसयात्रीका बगलीमा खण्डकाव्य रच्न थाल्यो ।

यी कुराहरू लेखिसकेपछि निन्याउरो मुख लगाएर मैले भनेँ, “श्रीमान्, अब केही दिन अन्तर्वार्ताको क्रम टुट्ने भयो !”
“किन, मोराशज्यू !” उनले निकै चाख लिएर सोधे ।

“मेरी श्रीमती सुत्केरी हुने भएकी छ !” मैले अलिक लजाएरै भनेँ ।

“अनि ?” उनले छोटो प्रश्न गरे ।

“उसैलाई स्याहार्नु छ !” म कपाल कन्याउन थालेँ ।

“तथास्तु !” उनले अभयमुद्रामा हात देखाए ।

मैले झट्ट दुवै हात जोडेँ र बिदा लिएँ ।
(शर्माको व्यंग्यकृति ‘इन्टरभ्यु स्पेसलिस्ट मि. झप्पु सिं, डबल एम्.ए.’ बाट)

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro