काठमाडौं । त्रिमूर्ति निकेतनमा ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती सम्पन्न भएको छ । प्रमुख अतिथि गीता खत्री, त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसाई तथा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थीले संचारग्रामस्थित महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गरे ।
उक्त अवसरमा त्यहीँ अवस्थित कविशिरोमणि लेखनाथ पौड्याल र साहित्यकार बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गरियो ।
काठमाडौंमा निकेतनद्वारा आयोजित काव्य सभामा कृष्ण बाउसे, ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत, रश्मि रिमाललगायतका कविले कविता वाचन गरे ।
कार्यक्रममा प्रमुख अतिथि खत्री, प्रसाई, अवस्थी सहित कलाकार मदनदास श्रेष्ठ र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।