site stats
बाह्रखरी :: Baahrakhari
खेल
विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा उनले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट गरे । उनले तिहारलगत्तै पुरस्कार प्रदान गरिने जानकारी गराए ।

Argakhachi Cement Island Ad

उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही तीन लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।

प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ । पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बंगलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गरे । अब सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न उनले आग्रह गरे ।

“विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेन्जिङ नोर्गे पनि एकैपटकमा नभई आठौँपटकमा सर्वाेच्च शिखर सगरमाथा पुुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुपर्छ,’’ उनले भने ।

प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका निम्ति सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए ।

त्यस अवसरमा खेलाडीहरूले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आउँदा दिनमा पूर्वाधार विकासमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकामा खुसी व्यक्त गरेका थिए । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्