आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका अनुसार सिंहदरबार वैद्यखाना ‘घाटेमधौरु’ तुल्य भएको छ । आयुर्वेद चिकित्साका जनक मानिने धन्वन्तरीको जन्मजयन्तिका अवसरमा पत्रकार सम्मेलनै गरेर विभागले अहिलेको दुर्दशाको खुलासा गरेको हो ।
सभवतः विश्वकै पुराना औषधि उत्पादकमध्येको एउटा हुनसक्ने इतिहास भएको यो वैद्यखाना अब कानुनी अवस्थामा परिवर्तन नगर्ने हो भने चलाउन नसकिने निष्कर्षमा सरकारमा पुगेको देखिन्छ । राजा प्रताप मल्लका शासनकालमा सुरु भएको मानिने वैद्यखाना राणाकालदेखि सिंहदरबारमा चलाइएको छ ।
वैद्यखाना चल्नै नसक्ने अवस्थाको मुख्य दोष भने स्थानीय तहमा उठाइने करलाई दिइएको छ । वैद्यखानाको अधोगति भने स्थानीय करको बिगबिगीभन्दा धेरै पहिलेदेखि नै सुरु भइसकेको थियो । सरकारले नीतिगतरूपमा जे लेखे पनि व्यवहारमा वैद्यखाना सधैँ नै उपेक्षित रहेको देखिन्छ ।
आधुनिक चिकित्सा पद्धति (एलोपेथी)को प्रभाव विस्तारसँगै आयुर्वेदलगायत परम्परागत उपचार प्रणालीहरू विश्वभर उपेक्षित भएका छन् । श्रुतिस्मृति परम्परामा मात्र निरन्तर रहेका कतिपय उपचार पद्धतिहरू त लोप नै भए होलान् । आयुर्वेद अपेक्षाकृत विकसित पद्धति भए पनि प्रतिस्पर्धामा टिक्न सकेन ।
यसैले नेपालजस्तो परम्परागत चिकित्सा पद्धति व्यापक भएको मुलुकमा समेत राज्यले नै आयुर्वेदको उपेक्षा गर्न थाल्यो । पाश्चात्य चिकित्सामा भएको प्रगति तथा विस्तारका कारण आयुर्वेद चिकित्साको पठनपाठन र अभ्यास दुवै ओझेलमा परे । सम्भवतः अहिलेको अवस्था राज्यको त्यही अदूरदर्शिताको परिणाम हो ।
आधुनिक चिकित्सा पद्धतिमा जोड दिने विश्व स्वास्थ्य संगठनले समेत महत्त्व दिन थालेका समयमा आयुर्वेद परम्पराको राम्रै जग बसेको नेपालमा एउटा सिंहदरबार वैद्यखानाको यस्तो दुर्दशा हुनुको कारण स्थानीय तहले लगाएको जडिबुटी करमात्र पक्कै होइन । वैद्यखानालाई ुघाटेमधौरुु बनाउनेमा यसैका हर्ताकर्ता मुख्य कारक देखिन्छन् ।
सिंहदरबार वैद्यखानामात्र होइन सबैजसो सरकारी स्वामित्वका उद्योग व्यवसाय सार्वजनिक संस्थानमा देखिने रोगबाट ग्रस्त हुनथालेका थिए । त्यतिबेला यस्तो लक्षण दुनियाँका अरू मुलुकमा पनि देखिएको हो । दूरदर्शी शासकहरूले अरूलाई स्वामित्व सुम्पेर भए पनि उद्योग बचाए । नेपालजस्तो मुलुकमा छेपाराले घोचो चेपेजस्तो गर्दागर्दै उद्योगलाई नै घाटेमधौरु बनाए ।
अब पनि कारिन्दाहरूले हाँक्ने अड्डा बनाइराख्ने हो भने सिंहदरबार वैद्यखानामात्र होइन अरू उद्योग पनि घाटमै पुग्ने हुन् । वैद्यखानालाई आयुर्वेदी औषधिको अनुसन्धानमा लगाएर राज्यले पर्याप्त बजेट दिने र उत्पादन एकाइको व्यवस्थापन निजी क्षेत्रलाई सुम्पने हो घाटेमधौरु बौरिन सक्ने देखिन्छ । आफूले राम्रो गर्नसक्ने क्षेत्रमा ध्यान दिनु बुद्धिमानी मानिन्छ । दुर्भाग्य, हाम्रा शासकहरूमा यसैको अभाव छ ।