site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
झिलिमिली बत्तीको आयात ५८.९ प्रतिशतले घट्यो

काठमाडौं । तिहारमा घर सजाउन प्रयोग हुने झिलिमिली बत्तीको आयात घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस्ता बत्तीको व्यापार आधाले घटेको हो ।

गत आर्थिक वर्ष २०८०/०८१ को तीन महिना अर्थात् असोज मसान्तसम्ममा साना झिलिमिली बत्ती मात्रै ९ करोड ८४ लाख रुपैयाँको आयात भएको थियो । यस अवधिमा सात लाख ७८ हजार ५८२ पिस आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।

चालु आर्थिक वर्षमा यस्ता बत्तीको आयात ५८.९ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ को असोज मसान्तसम्ममा चार करोड ७४ लाख रुपैयाँको तीन लाख १९ हजार ८४२ पिस घर तथा रुखमा लगाइने झिलिमिली बत्ती भित्र्याइएको छ ।

तिहारमा बिक्री हुने विभिन्न किसिमका बत्तीहरूको व्यापार झन्डै आधाले घटेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले गत वर्ष ४५ करोड रुपैयाँभन्दा बढीको बत्तीहरू आयात गरिएकोमा यस वर्ष त्यसको आधा मात्रै भित्र्याइएको बताए ।

“गत वर्ष आयात भएकोमा करिब ४० प्रतिशत सामान स्कटमै छ । यकिन तथ्यांक नभए पनि यस वर्ष २०–२५ करोड आयात भएको अनुमान छ,” अध्यक्ष देवकोटाले भने ।

युवाहरू विदेशिनु, नयाँ भवन तथा घर कम बन्नु र आर्थिक शिथिलताका कारण व्यापार घटेको उनको भनाइ छ । यस वर्ष भारतबाट आउने सामान आइपुगेको र बाटोको समस्या हुँदा केरुङ र तातोपानीबाट आउने सामानमा ढिलाइ भएको उनले बताए ।

भन्सार विभागको तथ्यांकअनुसार तिहारमा खासगरी भाइटिकामा प्रयोग हुने सामानको आयात भने समग्रमा बढ्दो छ ।

विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म ३२ करोड रुपैयाँको नरिवल आयात भएको छ । करिब २६ करोड रुपैयाँको काजु, १८ करोड ६० लाख रुपैयाँको बदाम तथा अलमण्ड र २० करोड ९८ लाख रुपैयाँको ओखर आयात भएको छ ।

यस्तै, एक करोड ४५ लाख रुपैयाँको पिस्ता, २१ करोड ६२ लाख रुपैयाँको सुपारी, एक करोड ३० लाख रुपैयाँको खजुर तथा छोकडा र दुई करोड ६५ लाख  रुपैयाँको अंजिर आयात भएको छ । असोज मसान्तसम्म १० करोड ६२ लाख रुपैयाँको किसमिस आयात भएको भन्सार विभागले जनाएको छ । तीन महिनामा एक अर्ब ३० करोड रुपैयाँभन्दा बढीका यी सामग्री आयात भएको भन्सार विभागको तथ्यांक छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro