site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तिहारमा कात्तिक १६ गते के गर्ने ?
फाइल तस्बिर ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले यमपञ्चक अर्थात् तिहार पर्व जहिल्यै पाँच दिनको हुने र यो वर्ष त्यो भोलि (बुधबार)देखि सुरु हुने स्पष्ट पारेको छ । समितिका अनुसार आज धन्तेरस पर्व हो । तर, यो छुट्टै पर्व भएको र तिहारसँग यसको खासै सम्बन्ध नहुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए । यमपञ्चकका पाँच दिनको कर्म भोलिदेखि सुरु हुने उनले जानकारी दिए ।

समितिका तर्फबाट ढुंगेलले सोमबार (हिजो) जारी गरेको विज्ञप्तिमा कात्तिक १६ गते औँसी तिथि उल्लेख छ । त्यो दिन अरू केही कर्म उल्लेख छैन । त्यो दिन साँझ बत्ती बाल्ने, देउसीभैलो खेल्ने कार्य गरिने उनले बताए । यो वर्ष भाइटीकाको शुभसाइत कात्तिक १८ गते बिहान ११ः३७ बजे रहेको समितिले जनाएको छ । यसै विषयमा हामीले ढुंगेललाई गरेका केही प्रश्न र उनको जवाफको सम्पादित अंश :

यो वर्ष तिहार कहिलेदेखि हो ?
तिहार भनेको, पञ्चक भनेको पाँच दिन हुन्छ । कहिले पाँच दिनमा तिथिहरू ६ दिनको पर्छ, कहिले चार दिनमा सिद्धिन्छ । पाँचवटा तिथि हो । घट्ने र बढ्ने क्रमले पाँचवटा तिथिभित्रका कर्म कुनै दुई दिन जान्छ । कुनै कर्म एकैदिन दुइटा गर्नुपर्ने हुन्छ ।

कहिले खाली रहेर एक दिन खप्टियो, अर्को दिन खाली रहन्छ । तर, पाँचवटा दिनको पाँचवटा तिथिको कर्महरू यही बेलामा गरिन्छ । यमपञ्चकको पाँच दिनको कर्महरू भोलि (बुधबार)बाट सुरु हुन्छ ।

धन्तेरस त आजै भन्नुभएको छ नि ?
धन्तेरस भनेको त यो तिथिको छुट्टै, यमपञ्चकभित्र आएन त्रयोदशी । यमपञ्चकको तिथि त हो, तर त्रयोदशी तिथि उदय भएको हुँदैन । यो साँझमा त्रयोदशी परेको दिनमा गरिन्छ । यो आरम्भको कुराहरू हो । शुद्ध यमपञ्चकको कर्महरू, कागतिहारदेखिको कुराहरू उदयकालमा तिथिमा गएपछि मात्रै हुन्छ ।

त्रयोदशी तिथिको साँझलाई धन्तेरस भनिन्छ । यो तिहारको अघिल्लो दिन हो । तिहारसँग जोडिरहनु परेन ।

यमपञ्चक के हो त ?
तिथिको हिसाबले त त्रयोदशी, चतुर्दशी, औँसी, परेवा र द्वितीया हो । तर, पञ्चक तिथि शुद्ध भएर आउनचाहिँ सूर्योदयकालमा आएर सुरु हुनुपर्‍यो । सूर्योदयकालमा त्रयोदशी तिथि त भोलि (कात्तिक १४) मात्रै आउँछ, जुन दिन आयो त्यही दिन कागतिहार हुन्छ र पहिलो पर्व कागतिहार हुन्छ । त्यसैले भोलिदेखि सुरु हुने भयो यमपञ्चक ।

कात्तिक १६ गते खाली देखियो नि !
कात्तिक १६ गते औँसीको दिन त सधैँ औँसीमा पर्ने कर्महरू हुन्छ । औँसीको दिनमा साँझ बत्ती बाल्नु परिहाल्यो । पाँचै दिन यमराजका नाममा बत्ती बाल्ने चलन छ । त्यो कुराहरू गर्नु परिहाल्यो । देउसीभैलोको कुराहरू औँसीको दिन पनि भइहाल्छ ।

औँसीमा गाईतिहार हुन्थ्यो होइन ?
लक्ष्मीपूजा र गाईपूजा कर्म औँसीमा हुने सम्भावना हुन्थ्यो । औँसी तिथि थोरै भएको हुनाले त्यो दिन (कात्तिक १६) राति–साँझमा औँसी परेन । त्यो अघिल्लो दिनमा परेको हुनाले कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन (कात्तिक १५) पर्‍यो ।

त्यस्तै अब परेवा तिथिचाहिँ भोलिपल्ट गएको हुनाले गाईपूजा भोलिपल्ट (कात्तिक १७) पर्‍यो । त्यसो भएको हुनाले एक दिन दुइटा पर्व गयो र त्यो दिन (कात्तिक १६) खाली देखिएको हो ।

कात्तिक १६ गते पनि तिहार त तिहार भइहाल्यो । गाईपूजाचाहिँ त्यो दिन भएन । गाईतिहार परेवाको दिन हुन्छ ।

साँझमा र अर्धरात्रिकालमा जुन दिन औँसी पर्छ त्यो दिन लक्ष्मीपूजा गर्नुपर्छ । औँसीको र परेवा तिथिको सन्धिमा गाईपूजा गर्नुपर्छ । गाईपूजा गर्न परेवा तिथि लाग्नुपर्छ । त्यसो भएकाले परेवा तिथि भोलिपल्ट लाग्यो, साँझमा औँसी अघिल्लो दिन पर्‍यो । त्यस्तो कारणले गर्दा १६ गते खाली भयो ।

asdfag-1730199592.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro