site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक दर्जन उद्योगले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता तिरे
फाइल तस्बिर

काठमाडौं । राजनीतिक शरणमा परेर बक्यौता नतिर्ने पक्षमा रहेका उद्योगीहरू पटक–पटक लाइन काटिन थालेपछि महसुल तिर्न थालेका छन् । यसअघि पनि लाइन काटिने र जोडिने गर्दा उत्पादन प्रभावित भएको भन्दै करिब एक दर्जन व्यापारीले महसुल बुझाएका हुन् । 

प्राधिकरणले असोज २४ गते ४९ उद्योगलाई कात्तिक ८ सम्म महसुल नतिरे लाइन काट्ने चेतावनी दिएको थियो । तर, बलियो सरकार रहेको र लाइन काट्न नसक्ने अड्कल गर्दै बक्यौता बुझाएका थिएनन् ।

प्राधिकरणले ८ गते बेलुका नै बक्यौता रहेका उद्योगहरूको लाइन काट्न थालेपछि एक दर्जन उद्योगीले बक्यौतावापतको किस्ता बुझाएका हुन् । बक्यौता बुझाउनेमा झण्डै १२ करोड बक्यौता भएको सर्वोत्तम सिमेन्ट समेत छ । 

Argakhachi Cement Island Ad

उद्योगीहरूले क्रमशः रोल्पा सिमेन्ट, सम्राट सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, नेशनल रबर इन्डष्ट्रिज, नारायण रबर उद्योग र एजी हेल्थ इन्डस्ट्रिज बिहीबार किस्ता बुझाएका नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

रोल्पा सिमेन्टको ९९ लाख १२ हजार, सम्राट सिमेन्टको तीन करोड ७७ लाख ७३ हजार, शुभश्री अग्नि सिमेन्टको ९८ लाख ८१ हजार, नेशनल रबर इन्डस्ट्रिजको ५९ हजार, नारायण रबर उद्योगको १० लाख ५६ हजार र एजी हेल्थ इन्डस्ट्रिजको ७६ हजार बक्यौता थियो ।

यीमध्ये केही उद्योगले पूर्ण रुपमा बक्यौता बुझाएका छन् भने केही पहिलो किस्ता तिरेका प्राधिकरणका ग्राहक तथा निर्देशनालय प्रमुख मनोज सिलवालले जनाकारी दिए । 

शुक्रबार जीबी टेक्सटाइल पहिलो र जीबी टेक्सटाइल दोस्रो पनि किस्ता बुझाएका छन् । जीबी टेक्सटाइल पहिलोको ३५ लाख ३७ हजार र दोस्रोको १४ लाख ११ हजार बक्यौता थियो । 

आइतबार सर्वाेत्तम सिमेन्ट, विनायक स्पात र नव नेपाल प्लास्टिकले पनि बक्यौताको पहिलो किस्ता बुझाएका छन् । सर्वोत्तम सिमेन्टको ११ करोड ९६ लाख ३६ लाख विनायक स्पातको सात लाख ५२ हजार तथा नव नेपाल प्लास्टिकको दुई लाख पाँच हजार बक्यौता थियो । 

यस्तै सोमबार शुभ लक्ष्मी पोलिमर्सले पनि पहिलो किस्ता तिरेको प्राधिकरणले जनाएको छ । शुभ लक्ष्मीको तीन लाख ७८ हजार बढी बक्यौता रहेको थियो ।  एक दर्जन व्यवसायी किस्तामा आएको र अन्य पनि आउने क्रममा रहेको हुँदा समस्या क्रमशः समाधानतर्फ गएको प्रमुख सिलवालले जानकारी दिए । 

“उद्योगीहरू क्रमशः किस्ता तिर्न आउनुभएको छ । यो निकै सकारात्मक छ । अब विस्तारै अन्य उद्योगीहरू पनि आउनु होला,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्