केहीअघि सुनेको थिएँ,
चिना हराएको मान्छे
के साँच्चै चिना हराउँदैमा
भाग्य नै हराउने हो र ?
के नियतिले क्षमतालाई डोराउन सक्छ र ?
क्षमता हेर्न अझै क्षमतावान् हुन पर्दैन र ?
कठै, क्षमता हेर्ने तिम्रा आँखा
केमा रनभुल्ल भए ?
त्यो दृष्टिदोषलाई
कसले पो पखाल्न सक्छ र ?
निष्ठा, ज्ञान, क्षमताको भार तराजुमा हल्का भयो
ती भारी हुने सामान नै क्षमताका मापक भए ।
हुन त स–साना गुटको रुझान,
लोभीपापीको गठबन्धन,
सकेसम्मको कन्फ्युजन
त्यै कन्फ्युजनमा सबैले खेल्दा रहेछन् ।
नेतृत्व वर्गको ३६० डिग्री मूल्यांकन
चस्माको नम्बर बढाउनुभन्दा
कानको फुकाइमा बढी भरपर्दो रहेछ ।
के गर्नु ?
पार्टी त गुट, उपगुटमै चल्दै
नेतृत्व वर्ग सबैलाई छल्दै
दोष सबै अरूलाई
राज्यशक्ति आफ्नैलाई ।
क्षमताभन्दा हैसियत हेर्दा रहेछन्
हैसियतको आफ्नौ छ मूल्यांकन
हैसियतको त्यै परिभाषामा अटाउनुपर्ने रहेछ ।
त्यसैले यो चिना हराएको मान्छे हैन
राज्यले नपत्याएको मान्छे पक्कै हो !