नेपाली साहित्यमा काव्य र गैरआख्यान दुवै विधामा बराबरी हैसियत राखेर साहित्य सिर्जना गर्न सक्ने सर्जक हुन्, डा. दामोदर पुडासैनी ‘किशोर’ । उनले नेपाली साहित्यको भण्डारमा हालसम्म ११ वटा गद्य कविता र सातवटा नियात्रासंग्रहका कृति प्रस्तुत गरिसकेका छन् ।
यहाँ चर्चा गर्न लागिएको काव्यकृति हो, उनको हालै प्रकाशित ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ । यो कवितासंग्रहकोे शीर्षकले नै यसभित्रका कविताहरू के कस्ता होलान् भन्ने पाठकमा उत्सुकता जगाउँछ ।
‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कवितासंग्रहमा ५३ वटा गद्य कविता समावेश छ । यी कविताहरू प्रायः अमेरिकाको भावभूमि र स्थानविशेषसँग सम्बन्धित छन् ।
लेखकले सन् २००६ देखि २०२३ सम्म गरी पाँचपटक अमेरिकाका न्युयोर्क, वासिङगटन डीसी, भर्जिनिया, ओक्लाहोमा, टेक्सास, एरिजोना, क्यालिफोर्निया, नेभादा (लस भेगास), मेरिल्यान्ड, इलियोनोय र शिकागो राज्यका विभिन्न सहरहरूको भ्रमण गरिसकेका छन् ।
तिनै राज्यमा रहँदा, बस्दा र भ्रमण गर्दाका अनेक अनुभव र अनुभूतिलाई डा. पुडासैनीले काव्यको रूपमा अभिव्यक्त गरेका छन् । विभिन्न समयमा भ्रमण गर्दाको संस्मरणका क्षणहरूमा उनी कहिले शिकागोका सुनसान सडक नियाल्छन्, कहिले स्ट्याचु अफ लिबर्टी र क्यापिटल हिलका मस्तुलहरू हल्लिरहेको अनुभव गर्छन् । उनका कविता पढ्दा यो कतै यात्रा अनुभूति त होइन ? भन्ने प्रश्न पाठकको मनमा उब्जिन्छ ।
कविले जीवन र जगत्सँग सम्बन्धित विषयबाट अलग भएर काव्य सिर्जना गर्न सक्दैन । यदि, गरेछ भने त्यो केवल कोरा कल्पना मात्रै हुन्छ र त्यसले पाठकको मनमा खासै असर गर्न सक्तैन ।
कवि पुडासैनीकोे काव्यिक क्षमताले देखाउँछ उनको कल्पना केवल कोरा नभएर जीवनका अनुभव र अनुभूतिको मिश्रण भएर बगेको छ कविताहरूमा । अमेरिकाको जीवन र त्यससँग सम्बन्धित अनेक सामाजिक विकृति, बेथिति, विसंगतिका साथै आधुनिकता र प्रविधिबाट सम्पन्न देशमा पनि जीवन सहज छैन र हुँदो रहेनछ भन्ने यथार्थ काव्यमार्पmत अभिव्यक्त गरेका छन् ।
संग्रहका अधिकांश कविताहरूमा अमेरिकी परिवेश, त्यहाँको हावा, पानी, माटो, प्रकृति, प्रविधि, विकास र जनजीवन छ ।
जीवन कसैको पनि सहज तरिकाबाट चलिरहेको हुँदैन । त्यसमा पनि विदेशी भूमिमा बाँच्नको निम्ति गर्नुपर्ने संघर्षको कथा निकै पीडायादी हुन्छ नै ।
कवि डा. पुडासैनीले तिनै पीडालाई यसरी कवितामा अभिव्यक्त गरेका छन्–
भयानक आँधी चलिरहेछ
म हिँडिरहेछु हिपहप गाउँदै
खुला मैदानमा
(अमेरिकन एक्सप्रेस, पृष्ठ – २)
आधुनिक विकास र प्रविधिमा चुर्लुम्म डुबेको देश अमेरिका २४ घण्टा विद्युतीय तरंगभित्र खेलिरहेको हुन्छ, चम्किरहेको हुन्छ र हराइरहेको हुन्छ । त्यस्तो अवस्थामा एउटा देशभक्त नेपालीले सपनामै भए पनि सगरमाथा उचालिरहेको हुन्छ । तिनै भावलाई कविले यसरी व्यक्त गरेका छन्–
पातालमा,
विद्युतीय तरंगहरूको होली चलेको छ
...
म भने
तिनै तरंग र वेग समातेर
एउटा सगरमाथा उचालिरहेछु ।
(पातालमा उचालेको सगरमाथा, पृष्ठ – ९)
‘ब्रेकिङ न्युज’ कवितामा कविले एकातिर रुस र युक्रेनको र अर्कोतिर इजरायल र हमासको युद्धले जुन भयावह स्थिति ल्याएको छ – त्यसको उल्लेख गरेका छन् ।
विश्वलाई युद्धमा धकेल्ने जुन राष्ट्रहरू छन्, तिनको उद्देश्य भनेको आफ्ना हतियार बेच्ने र स्वार्थ पूरा गर्ने मात्रै हो । यस्तो विषय, परिस्थितिमा एउटा कवि मन युद्धको त्रासदीबाट अछुतो रहन सत्तैmन । सायद त्यसैले होला, कवि डा. पुडासैनी युद्धको विरोधमा कवितामार्पmत आफ्नो आवाज यसरी गुन्जाउँछन्–
छिः कस्तो घिनलाग्दो छ समय
मान्छे मार्नको लागि
रातोदिन लागिरहेछ मान्छे ।
(बिग बेनको तरंग, पृष्ठ – १५)
पुस्तकको शीर्षक बनेको कविता ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ मा कवि डा. पुडासैनीले एउटी नारी पात्रको कथाव्यथालाई बडो मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।
जब एउटी नारीको जीवन एक्लो हुन्छ, तब संघर्षको पहाड अग्लिन थाल्छ । एउटी नारीले पटकपटकको बिहे अनि सम्बन्धविच्छेदपश्चात् भोग्नुपरेकोे त्रासदी र त्यसले ल्याएको संघर्ष थेग्न कडा मिहिनेत गर्नैपर्दछ ।
स्ट्रीट अर्थात् सडक वा भनौँ गल्ली नै किन नहोस्, हरेक स्वास्नीमान्छेको जीवनमा सबै कुरा प्राप्त गर्ने भनेको त्यही गल्ली नै हो । जहाँ उसले जीवनका अनेक आशा, उमंग र प्राप्तिहरू खोज्नेक्रममा भौँतारिरहनुपर्ने हुन्छ ।
यही सत्यलाई कवि डा. पुडासैनी यसरी प्रस्तुत गर्दछन्–
मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छेले
बैलाई छामिरहन्छे र सबैलाई छोडिरहन्छे
घरीघरी बात मार्न आइरहन्छन् यादहरू र सपनाहरूले
जीवनको आशा, उमंग र प्राप्ति
स्ट्रीटबाहेक अरू केही छैन, छँदैछैन
मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छेको
स्ट्रीटमा कुद्दाकुद्दै
बिर्संदै गइरहेछे जीवनका रंगीन धर्साहरू
स्ट्रीटमा कुदिरहेकी एक्ली स्वास्नीमान्छे ।
(मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे, पृष्ठ – १८)
कवि डा. पुडासैनीको यो काव्यकृति अमेरिका विशेष भएर आएको छ । उनले अमेरिकी जीवन र जगत्लाई नै कविताको विषयहरू चयन गरेका छन् ।
प्रायः सबै कविताहरूमा अमेरिकी जीवन, विकास, प्राकृतिक र सांस्कृतिक सम्पदा अनि आधुनिकताको झलक स्पष्ट रूपमा प्रस्तुत भएको पाइन्छ । उनका कविता पढ्दा कुनै काव्यिक यात्रा वर्णन पढिरहेको भान हुन्छ ।
यसमा कवितामा यात्रा संस्मरण अदृश्य तर बलियो रूपमा पाइन्छ । यो कविताले कवि डा. पुडासैनीलाई एउटा अब्बल नियात्री कविका रूपमा उभ्याउन सफल भएको छ ।
कविताका प्रत्येक शीर्षक नियात्राको शीर्षकजस्तो लाग्छ । यिनै शीर्षकहरूमा कविले नियात्रा पनि लेख्न सक्थे । तर, नियात्रा नलेखेर यसपटक भने कविता लेखेका छन् । र, एउटा नियात्रामा पाइने स्वाद र सन्तुष्टि यी कविताबाट दिन सक्षम पनि भएका छन् ।