site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दीपकराज गिरीलाई सन्तोष सेनको प्रश्न– २० करोड कमाउँदा सिनेमा उद्योगलाई के गर्नुभयो ?

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले आफूलाई ‘साइबर सेना’को कमान्डर प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । उनले निर्माता तथा कलाकार दीपकराज गिरी र पत्रकार प्रकाश सुवेदीलाई आफूलाई ‘साइबर सेना’ अथवा ‘साइबर स्याल’ प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन् । 

उनीमाथि ‘१२ गाउँ’को पक्षमा लागेर ‘छक्का पञ्जा–५’विरुद्ध 'साइबर सेना' प्रयोग गरेको आरोप लागेपछि आज सामाजिक सञ्जालमा एक भिडियोमार्फत सन्तोषले प्रमाण पुर्‍याएर मात्रै बोल्न आग्रह गरेका हुन् ।

“मैले कसरी साइबर सेना वा साइबर स्याल प्रयोग गरेँ ? फोन, म्यासेज वा अरू कुनै तरिकाबाट ?,” उनले प्रश्न गरेका छन्, “सम्बन्धित ठाउँमा जाऊँ, अहिलेको डिजिटल युगमा सबै थाहा भइहाल्छ ।” 

साइबर सेनाको कमान्डर भएको आरोप लागेपछि त्यसले आफूलाई तनाव दिएको उनको भनाइ छ । “मैले घरघर गएर दर्शकलाई १२ गाउँ हेर्नू, छक्का पञ्जा नहेर्नू भनेँ ? कि कसरी भनेँ ? दर्शकले फरक टेस्ट चाहेका थिए । १२ गाउँ हेर्न आए । ती दर्शक हाम्रा लागि भगवान् हो भनेर धन्यवाद दिने कि आरोप लगाउने हो ?,” सन्तोष भन्छन्, “तपाईंहरूले मलाई होइन, ती दर्शकलाई गाली गर्नु भएको हो, आरोप लगाउनु भएको हो । जसलाई सम्मान गर्नुपर्ने हो, उसैलाई गाली गरिहरनु भएको छ ।” 

आफू हरेक चलचित्रकर्मीको चलचित्र चलोस् भनेर चाहने र शुभकामना दिने निर्माता भएको उनी बताउँछन् । ‘छक्का पञ्जा–५’ पनि चलोस् भन्ने चाहना भएको व्यक्ति आफू भएको उनको भनाइ छ ।

“प्रकाश दाइले सुनेको र दीपक दाइले देखेको साइबर सेना को हो ? त्यसको जरासम्म पुगेर पत्ता लगाऔँ, यसरी दर्शकलाई बारम्बार गाली नगरौँ,” उनले भनेका छन्, “यो दर्शकको अपमान हो, सिनेमा उद्योगका लागि घाटा हो । दर्शक हाम्रो देउता हो, उसलाई साइबर स्याल र साइबर सेना भन्न मिल्दैन ।” 

यद्यपि, आउँदो आफ्नो चलचित्र ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’मा रहेकाले केही बढी पोस्ट भने यसको गरेको उनी बताउँछन् । आफ्नो सिनेमाको हिरो संसारकै टप होस् भन्ने चाहना राख्नु आफ्नो गल्ती नभएको उनको भनाइ छ । 

रिलिज अगाडिदेखि नै सामाजिक सञ्जालमा ‘छक्का पञ्जा–५’लाई बहिष्कार गरौँ, यो पटक ‘१२ गाउँ’ हेरौँ भन्ने पोस्ट र कमेन्टहरू आइरहेका थिए । यसलाई ‘छक्का पञ्जा–५’को टिमले साइबर सेनाको आक्रमण भनेको थियो । 

“एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड बनाउँदैमा सिनेमा इन्डस्ट्री धानिँदैन,” उनले भनेका छन्, “घाटामा जाने सिनेमाको पनि यो चलचित्र उद्योगलाई अगाडि बढाउन उत्तिकै हात छ ।” 

उनले दीपकराज गिरीको ब्यानरले सय करोड ग्रस कलेक्सन गरे पनि चलचित्र उद्योगका लागि अपेक्षित काम नगरेको आरोप लगाएका छन् ।

“तपाईंले ठूलो क्यानभासमा सक्षम डाइरेक्टर राखेर समीर भट्ट र प्रदीप खड्कजस्ता सक्षम एक्टरलाई खेलाएर चलचित्र बनाएर नेटफ्लिक्समा रिलिज होस् भन्ने चाहना राख्नुपर्थ्यो,” उनी अगाडि थप्छन्, “अनि नेपाली चलचित्र उद्योग अगाडि बढ्थ्यो । हामी अंकगणितमा मात्रै सीमित भयौँ । कति थोरै लगानी गरेर कति धेरै कमाउने भन्ने सोच्नुभयो । यसले व्यक्तिगतरूपमा तपाईंलाई फाइदा भयो । तर, इन्डस्ट्रीलाई फाइदा भएन ।” 

उनले मनमा तुष राखेर बाहिर मिठो नबोल्न सुझाव पनि दिएका छन् । उनले समीर भट्टको उदयलाई काठमाडौं महानगरपालिकामा बालेन शाहको उदयसँग तुलना गरेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro