site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विमानलाई बमले उडाउने झुटो धम्कीले पैदा गरेको डर ! एयरलाइन्सलाई कति नोक्सान ?

काठमाडौं । सामाजिक सञ्जालमा पोष्ट गरिएको एउटा भडियोमा गर्मी पहिरनका यात्रुहरू एयर इन्डियाको विमानबाट ओर्लिरहेको देखिन्थे, गत साता । तर उनीहरू यस्तो ठाउँमा ओर्लिएका थिए, जहाँ चिसो हावा चलिरहेको थियो । यो दृश्य क्यानडाको सुदूर सहर इकालुइटको थियो ।

मुम्बईबाट शिकागो गइरहेको बोइङ ७७७ विमानमा २११ यात्रु सवार थिए । बमको धम्कीका कारण अक्टोबर १५ गते बिहान यो विमानको रुट परिवर्तन गरिएको थियो ।

विमानमा सवार हरित सचदेवाले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्, “हामी बिहान ५ बजेदेखि २०० यात्रु विमानस्थलमा अलपत्र परेका छौं । के भइरहेको छ वा के गर्ने भन्ने हामीलाई थाहा छैन । हामी पूर्ण रूपमा फँसेका छौ ।”

Dabur Nepal
NIC Asia

उनले विमानस्थलका कर्मचारीको प्रशंसा गर्दै एयर इन्डियाले यात्रुहरूलाई पर्याप्त जानकारी नदिएको आरोप लगाएका थिए ।

सचदेवाले सामाजिक सञ्जालमा गरेको पोष्टले यात्रुहरूको निराशा र चिन्ता झल्काउँथ्यो । केही घण्टापछि क्यानाडाली वायुसेनाको विमानले उनीहरूलाई इकालुइटबाट शिकागो पुर्‍याएको थियो । 

एयर इन्डियाले ‘अनलाइन पोस्ट गरिएको सुरक्षा खतरा’ को कारण उडानलाई इक्लुइटमा डाइभर्ट गरिएको जनाएको थियो । यो यसकारण गरिएको थियो कि कसैले उक्त एयर इन्डियाको विमानमा बम रहेको र सबै यात्रुलाई उडाइदिने सूचना दिएको थियो । तर यो धम्की गलत थियो, झुटो थियो ।

पछिल्ला केही दिनयता भारतीय एयरलाइन्सलाई लक्षित गरी विमानमा बम राखेको धम्की दिने क्रम बढेको छ । यस्ता धम्कीले उडान अवरुद्ध भएका छन्, उडान ‘डाइभर्ट’ गर्नुपरेको छ । धम्कीले विमानको आवागमनमा अवरोध सिर्जना गरेको छ र यात्रुले सास्ती खेप्नु परेको छ ।

यो वर्ष भारतीय एयरलाइन्सलाई लक्षित गरी धेरै भुटा धम्कीहरू आए । गतसाता मात्रै कम्तीमा ३० वटा यस्ता धम्की आएका थिए । धम्कीका कारण विमानले आफ्नो रुट परिवर्तनदेखि उडान रद्दसम्म गर्नुपरेको थियो । यस्ता धम्कीका कारण कयौं उडान समयमा हुन सकेनन्, डिले भए ।

यस वर्षको जुनमा एकै दिनमा ४१ वटा विमानस्थलले इमेल मार्फत ‘बमले उडाउने’ झूटा धम्की पाएका थिए । त्यसपछि सुरक्षा बढाइएको थियो ।

सन् २०१४ देखि २०१७ सम्म भारतका विभिन्न विमानस्थलमा बम राखिएको हल्लाका कारण १२० अलर्ट जारी गरिएको थियो । तीमध्ये झन्डै आधा दिल्ली र मुम्बईजस्ता ठूला विमानस्थललाई लक्षित गरिएका थिए । तर यसवर्ष यस्तो धम्की आउने क्रम वृद्धि भएको छ । 

“भारतीय एयरलाइन्सलाई लक्षित गरीएका हालैका घटनाहरूलाई लिएर म चिन्तित छु । यसले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूलाई असर गरिरहेको छ । यस्ता गैरकानूनी कार्यहरू गम्भीर चिन्ताको विषय हुन् । म देशको उड्डयन क्षेत्रको सञ्चालन र सुरक्षामा छेडछाड गर्ने प्रयासको निन्दा गर्दछु,” भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री के राममोहन नायूले भने ।

यस्तो किन भइरहेको छ ?

विज्ञहरूका अनुसार एयरलाइन्सलाई लक्षित गरी प्रवाह गरिने झूटा बमका धम्कीहरू प्रायः ध्यान आकर्षित गर्न, मानसिक स्वास्थ्यका कारण तथा मजाकको रूपमा दुर्भावना फैलाउने उद्देश्यले गरिन्छ । सन् २०१८ मा इन्डोनेसियामा एक विमानको उडान यात्रुहरूले बमको बारेमा मजाक गरेको कारण रोकिएको थियो ।

यस्ता झुटा धम्कीका लागि कयौं पटक विमानमा सवार यात्रुहरू पनि दोषी रहेको पाइएको छ । गत वर्ष, दरभंगा विमानस्थलमा ‘चेक–इन’ गर्न नभ्याएपछि एक यात्रुले बमको अफवाह फैलाएर स्पाइस जेटको उडान ‘डिले’ (ढिलाइ) गर्ने प्रयास गरेका थिए ।

भारत विश्वमा सबैभन्दा तीव्र गतिमा बढीरहेको उड्डयन बजार हो । यहाँ यस्ता हल्लाले ठूलो हानि गर्छ । 

भारतको नागरिक उड्डयन मन्त्रालयका अनुसार गत वर्ष भारतमा १५ करोडभन्दा बढी यात्रुले आन्तरिक उडान गरेका थिए । ३३ अन्तर्राष्ट्रिय विमानस्थलसहित भारतका १५० भन्दा बढी विमानस्थलबाट दैनिक ३ हजारभन्दा बढी उडानहरू अवतरण वा प्रस्थान गर्छन् ।

गत हप्ता झुटा धम्की आउने क्रम उच्च विन्दुमा पुगेको थियो । यस अवधिमा अक्टोबर १४ एकै दिनमा ४ लाख ८४ हजार २६३ यात्रुले भारतीय एयरलाइन्सको प्रयोग गरेका थिए । 

सेरियम नामक कन्सल्टेन्सीका रोब मोरिसका अनुसार, भारतमा ७०० भन्दा कम व्यवसायिक यात्रुवाहक विमान छन् र १ हजार ७०० भन्दा बढी विमान अर्डर गरिएको अवस्था छ । “यसले भारतलाई सबैभन्दा तीव्र गतिमा बढिरहेको व्यावसायिक विमान बजार बनाउँछ,” मोरिस भन्छन् ।

कुनै पनि एयरलाइन्सले बमको धम्की तथा चेतावनी प्राप्त गर्दा परिणाम गम्भीर हुने गर्छ । यस्तो अवस्थामा यदि विमान आकाशमा छ भने नजिकैको विमानस्थलमा डाइभर्ट गर्नुपर्छ । यस्तै कारण गतहप्ता एयर इन्डियाको उडान क्यानडातर्फ डाइभर्ट गरिएको थियो भने सेप्टेम्बरमा मुम्बईबाट फ्रान्कफर्ट उडेको भिस्टाराको विमान टर्कीतिर डाइभर्ट गरिएको थियो ।

कतिपय अवस्थामा यस्ता धम्की आएपछि सम्बन्धित विमानलाई एस्कर्ट गर्न लडाकु विमानको समेत प्रयोग गरिन्छ । गत हप्ता एयर इन्डियाको हिथ्रो र सिंगापुरको लागि उडेको दुई विमानमा यस्तै गरिएको थियो ।

धम्कीपछि जब विमान अवतरण हुन्छ र यात्रुहरू ओर्लिन्छन् तब विमानमा रहेका सबै सामान, कार्गो र खानाको जाँच गरिन्छ । यो प्रक्रिया सकिन धेरै घण्टा लाग्न सक्छ । त्यसपछि चालक दलले ड्युटी आवरको सिमाका कारण उडान जारी राख्न सक्दैनन् । जसका कारण पूरै चालक दल परिवर्तन गर्नुपर्ने हुन्छ, जसले गर्दा उडानमा थप ढिलाइ हुन्छ ।

“यसका कारण लागत बढ्छ । हरेक डाइभर्सन वा रुट परिवर्तन वा ढिलो उडानमा धेरै खर्च हुन्छ । विमान ग्राउन्डेड भएपछि यो घाटाको सम्झौता बन्छ । ढिलो भएर उडान रद्द भयो भने सबै समय तालिका बिग्रन्छ,” उड्डयन विशेषज्ञ सिद्धार्थ कपुर भन्छन् । 

सामाजिक सञ्जालमा अज्ञात खाताहरूबाट बमको धम्की आउने क्रम नाटकीय रुपमा वृद्धि हुँदा अपराधीको पहिचान गर्ने कार्य जटिल बन्दै गएको छ । विशेषगरी जब इमेलहरू सिँधै एयरलाइन्सहरूमा पठाइन्छ यो जटिल बन्छ । यी धम्कीहरू पछाडिको उद्देश्य स्पष्ट हुँदैन र तिनीहरूको पछाडि एक व्यक्ति वा समूह छ भन्ने पनि थाहा हुँदैन ।

गत हप्ता यस्तै धम्की दिने सामाजिक सञ्जाल एकाउन्ट बनाएको आरोपमा एक १७ वर्षीय युवालाई पक्राउ गरिएको थियो । उनले किन यस्तो गरे भन्ने खुलेको छैन । तर ती युवाले चार उडानलाई लक्षित गरेको अनुमान गरिएको छ, जसमध्ये तीन अन्तर्राष्ट्रिय उडान थिए । जसका कारण दुई उडान ढिला भएको र एउटाको रुट परिवर्तन गरिएको थियो । एउटा उडान भने रद्द गर्नुपरेको थियो ।

कम्प्युटरहरूको आईपी एड्रेस ट्रेस गरेपछि अनुसन्धानकर्ताहरूले लन्डन र जर्मनीबाट त्यस्ता केही धम्कीहरू आएको हुनसक्ने शंका गरेका थिए । तर यस्ता धम्कीहरू ट्रयाक गर्नु ठूलो चुनौतीपूर्ण काम हो ।
 
भारतीय कानुनले विमानस्थलको सुरक्षा वा सेवामा बाधा पु¥याउनेलाई आजीवन कारावासको व्यवस्था गरेको छ । तर यो नक्कली कलहरूको लागि ठूलो सजाय हुनसक्छ जुन अदालतलाई स्वीकार्य नहुन पनि सक्छ । प्राप्त जानकारीअनुसार भारत सरकारले यस्ता अपराधीलाई ‘नो फ्लाई लिस्ट’मा राख्ने र यस्ता घटनामा पाँच वर्षसम्म जेल सजाय हुने गरी नयाँ कानुन ल्याउने तयारी गरिरहेको छ ।

समाधान जे भए पनि यस्ता झूटा धम्कीहरूले विमानमा सवार यात्रुहरूलाई भने त्रसित बनाउँछन् । धम्कीकै कारण मानिसहरूले धेरै समस्याको सामना गर्नुपरेको हुन्छ । 
(बीबीसीबाट भावानुवाद)  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro