site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
हिमालपारि के छ ?- ३

चौथो दिन

बिहान होटलको ब्रेकफास्टमा पश्चिमा गोरेहरू पनि प्रशस्त देखिन्थे । यसबाट सिगात्से सहर पर्यटनको हिसाबले महत्त्वपूर्ण बन्दै रहेछ भन्ने बुझियो । कतै यसले नेपालको सगरमाथा हेर्न आउने विदेशी पर्यटकलाई प्रभाव त पार्दैन भनेर मन झसंग पनि भयो । जे होस्, आजको हाम्रो लक्ष्य एभरेस्ट बेस क्याम्प जाने थियो ।

हुन त हामीले नेपालमै पर्ने हिमालको दक्षिणतिरको एभरेस्ट बेस क्याम्प पनि कहिल्यै टेकेका थिएनौ । नेपालकै नदेखी हामी भोटपट्टिको एभरेस्ट बेस क्याम्प जाँदै थियौँ । त्यसको लागि छुट्टै पास लिनुपर्ने भएकोले बिहानै ब्रेकफास्ट गरेपछि हामी दुई साथी डा. महेश भट्टराई र म छेवाङसित (गाइड) सहरमा भएको अध्यागमन कार्यालयतिर गयौँ ।

Dabur Nepal
NIC Asia

ट्याक्सी पाइने हुनाले अध्यागमन कार्यालय पुग्न समय लागेन । गाइडले बिहान ९:४५ मै अफिस खुल्छ भनेका हुनाले हामी ९:३० बजे नै त्यहाँ पुगिसकेका थियौँ । तर १०:१५ अगाडि कार्यालय नखुल्ने जानकारी पाएपछि हामी सडकपारिको तिबेतियन चिया पसलमा चिया खान गयौँ र तीन कप दूध चिया मगायौँ । चिया त आयो, हेर्दा मीठो होलाजस्तो पनि थियो तर यस्सो चुस्की के लगाएको थिएँ चिया त चौँरी चौँरी गन्हायो । मैले पिउन सकिन र छोडिदिएँ । डा. महेशले पनि आधा गिलास चिया त्यसै छोडिदिए ।

अध्यागमन कार्यालय खुलेपछि हामीले त्यहाँ गएर अनुमति लिने प्रक्रिया पूरा गर्‍यौँ । हाम्रो समूहबाट एकजनाले सहीछाप गर्नुपर्ने भएकोले डा. महेशले यो काम पूरा गरे । यसरी ११ बजेतिर सबै काम सकेर हामी होटल फर्कियौँ र सबै साथीहरू होटलबाट चेकआउट भएर बसमा चढ्यौँ ।

बस होटलबाट बाहिर बजारमा निस्केपछि एक ठाउँमा हामीले अक्सिजनको १८ वटा जति सानो ट्युबवाला सिलिन्डर खरिद गर्‍यौँ । कसैलाई अक्सिजन कम भएर आपतकालीन अवस्था आएमा यो ट्युबबाट १५ मिनेटजति अक्सिजन दिन मिल्थ्यो । त्यसो त हरेक बिहान यात्रा गर्नु अगाडि हामी सबैले अक्सिमिटरबाट आफ्नो अक्सिजन लेभल जाँच्ने गरेका थियौँ ।

अक्सिजन लेभल त सबैको अलि कम थियो तर त्यो उचाइमा त्यसलाई हामीले साधारण मानेर यात्रा गरिरहेका थियौँ । अब भने बस एभरेस्ट बेस क्याम्पलाई गन्तव्य बनाएर राजमार्गमा हुइँकिदै थियो ।

बीच बाटोमा लार्चे भन्ने ठाउँमा दिउसो दुई बजेतिर हामीले लन्च गर्‍यौँ र अगाडि बढ्यौँ । भोटमा बाढी, पहिरोको समस्या कम हुनाले राजमार्ग सलल बगेको थियो । फेरि चीन सरकारले समयमै मर्मत संभार गर्ने भएकोले बस यात्रामा हामीलाई त्यति समस्या थिएन । बस अब पहाड माथि चढ्न थाल्यो ।

एभरेस्ट बेस क्याम्प पुग्न ५ हजार २२० मिटर उचाइमा रहेको ग्यात्सो ला पास पार गर्नुपर्ने हुँदा हामी त्यतै गइरहेका थियौँ । बेलुका ५ बजेतिर हामी ग्यात्सो ला पास पुग्यौँ । बस एकछिन रोकियो र हामी बसबाट झरेर फोटो खिच्न थाल्यौँ ।

हल्का हुस्सु लागेको थियो त्यसैले हामीले सगरमाथाको उत्तरी टाकुराको ( तिब्बती भाषामा चोमोलोङ्मा) आकर्षक दृश्य हेर्न पाएनौ । केही बेर बिसाएपछि हामी फेरि बस चढ्यौँ ।

बस अब पहाडको खोंच हुँदै ओरालो झर्न थाल्यो । हिमाली भूगोलको यो यात्रा हाम्रो लागि निकै रोचक थियो । त्यसमा पनि नेपाली सीमा नजिकको चिनियाँ भूमिमा सगरमाथा हेर्न जाँदै थियौँ हामी ।

केहीबेरको यात्रापछि बेलुका सात बजेतिर हामी हाम्रो बास बस्ने ठाउँ ‘टिङ्री रूफ अफ द वर्ल्ड ग्य्रान्ड होटल’ पुग्यौँ । यो होटल ४ हजार २०० मिटरको उचाइमा रहेको थियो । यस होटलमा संसारको सबैभन्दा उचाइमा रहेको टेस्ला गाडी चार्ज गर्ने चार्जिङ स्टेसन पनि रहेछ । आजको २८० किमीको यात्राले हामी सबै थाकिसकेका थियौँ ।

होटलमा 'चेक इन' गरेपछि भान्से नेपालको रामेछापका रहेछन् भन्ने थाहा भयो । हामीले उनलाई लोकल कुखुरा पाइन्छ भनेर सोध्यौँ । पाइन त पाइन्छ तर अलि टाढा पाइन्छ र अली महँगो पर्छ भन्नर जवाफ दिए । जति परे पनि ल्याएर पकाइदिनुहोस् भनेर हामीले अनुरोध गर्‍यौँ र उनले सहमति जनाए । नभन्दै बेलुका ‘डिनर’मा नेपाली खाना र लोकल कुखुराको झोल सहितको मासु तयार थियो । हामी सबैले लोकल कुखुराको झोल थप्दै मीठो मानेर ‘डिनर’ खायौँ ।

पाचौँ दिन

बिहानै पौनेसात बजे हामी होटलको रेस्टुराँमा झर्‍यौँ र ‘टी ब्याग’ वाला चिया पियौँ । ‘ब्रेकफास्ट’ पोकामा तयार थियो बाटोमा खानको लागि । मलाई थोरै ‘अल्टिच्युड सिकनेस’ थियो र टाउको पनि हल्का दुखिराखेको थियो । त्यसैले मैले बिस्कुट खाएर सिटामोल लिएँ ।

हामी ७ बजे सय किमी परको एभरेस्ट बेस क्याम्पको लागि बसबाट प्रस्थान गर्‍यौँ । बाहिर अँध्यारो नै थियो । बाटोमा दुई ठाउँमा सुरक्षा जाँचपछि हामी पुन: पहाडको उकालो चढ्न थाल्यौँ । हाम्रो यात्रा गाउ ला पासतिर जाँदै थियो । आकाशमा बादल भएकोले हिमाली दृश्य देखिएको थिएन ।

नभए हामीले गाउ ला पासको ५ हजार १९८ मिटर उचाइबाट सगरमाथासहित आठहजार मिटरभन्दा अग्ला पाँच हिमालको दर्शन गर्न पाउथ्यौँ । हामीलाई यो मौका गुमेकोमा खल्लो लागेको थियो । पास पार गरेर हामी फेरि बाइरोडको सात घुम्ती र बाह्र घुम्ती जस्तै मोडहरू पार गरेर तल झर्न थाल्यौँ ।

हामीमध्ये एकजना साथी सुन्दर पाण्डे ‘हाइवे’ इञ्जिनियरिङ पढेकोले ऊसित एकछिन ‘हेयर पिन बेन्ड’को बारेमा छलफल पनि भयो ।  छलफल गर्दा गर्दै बस बेसी झरिसकेछ । केहीबेर यात्रा गरेपछि हाम्रो बस एउटा ठाउँमा पुगेर रोकियो ।

त्यहाँ अरू पनि धेरै गाडीहरू रोकिएका थिए । गाइडले हामीलाई यो स्थानभन्दा अगाडिको यात्रा चीन सरकारले तोकेको बसमा मात्र गर्न पाइन्छ भनेपछि आफूले ‘रिजर्भ’ गरेको बस छाडेर हामी सुरक्षा जाँच पार गर्दै चीन सरकारले तोकेको बसमा गएर बस्यौँ र बेसक्याम्पको यात्रा अगाडि बढायौँ । बस उपत्यका र पहाडको खोंचबाट बेसक्याप तर्फ दौडिरहेको थियो । बाटोमा ठाउँ ठाउँमा भेडीखर्कहरू देखिन्थे ।

हामी केहीबेरपछि बेसक्याम्पको फेदीमा पुग्यौँ र बसबाट झर्‍यौँ । बेसक्याम्पको उचाइ ५ हजार १५० मिटर रहेछ । हामी बिस्तारै बेसक्याम्पको दक्षिणतिर सगरमाथाको फेदीतर्फ पाइला बढाउन थाल्यौँ । धेरै पर पुग्न सकिँदैन थियो ।

किनभने बीचमा केही गहिरो ठाउँमा दक्षिणबाट उत्तरतिर हिमालको फेदीबाट झरेको एउटा खोला बगिरहेको थियो । हामीले त्यहाँका दृश्यहरूलाई आफ्नो मोबाइलको क्यामेरामा कैद गर्‍यौँ । दुर्भाग्य, सगरमाथालाई बादलले छोपेको थियो । हामी अलि निराश बन्यौ । केही क्षणमा बादल अलि उघ्रिँदै गयो र सगरमाथाको टुप्पो नदेखिएपनि अरू भाग देखिन थाल्यो । हामी त्यसैमा रमाउन थाल्यौँ ।

संपूर्णरूपमा बादल नउघारिएपनि हामीले सगरमाथाको केही भाग दृश्यावलोकन गर्न पायौँ र मध्यान्ह १२ बजेतिर बेसक्याम्पबाट बस चढेर फर्कियौँ । चीन सरकारको बसले हामीलाई अघि बस फेरेको स्थानमा ल्याएर छोडिदियो । त्यहाँ कफी पसल पनि भेटिएकोले हामी सबैले कफी पियौँ र त्यसपछि आफ्नै ‘रिजर्भ’ बसमा गएर बस्यौँ ।

वास्तवमा आज हामीले होटलबाट ल्याएको पोके ‘ब्रेकफास्ट’ खान बिर्सिएका थियौँ र बस चढ्नेबित्तिकै त्यही पोकामा भएको खाना खान थाल्यौँ । बसले आफ्नो गति लिन थाल्यो । हाम्रो यात्रा नयाँ बाटो समातेर बेसक्याम्पबाट सय किमी पर रहेको पुरानो टिङ्ग्री बजारतिर उन्मुख थियो ।

पुरानो टिङ्ग्री बजारको माउन्ट कैलास होटल सामु बस रोकियो । यात्राको पाचौं दिनदेखि हामी सबै शाकाहारी भएका थियौँ र उक्त होटलमा हामीले शाकाहारी लन्च गर्‍यौँ । तीजको दिन परेकोले भाउजुहरूले फलफूल र चोखो खानेकुरा मात्र खानुभयो । अब हाम्रो गन्तव्य सागातर्फ थियो ।

सागा भनेको त्यही ठाउँ हो जहाँ रसुवाबाट केरूङ भएर आउने यात्रुहरू भेट हुन्छन् । पुरानो टिङ्ग्रीबाट सागाको दूरी २९० किमी रहेछ । नेपालको हिमालको पारी तिब्बती पठारमा हाम्रो पूर्वपश्चिमको महेन्द्र राजमार्गजस्तै बाटोमा हाम्रो बस दौड्न थाल्यो ।

Everest-Base-Camp-1729479493.jpeg
 

लगभग १९० किमी पार गरेपछि न्यालम आइपुग्यो जहाँबाट खासा जानलाई बाटो छुट्टिने रहेछ । सरदर ४ हजार ६०० मी. उचाइमा हाम्रो बस राजमार्गमा दौडिरहेको थियो । बसको दक्षिणतिर झ्यालबाट नेपालका हिमालहरू देखिएका थिए । अथाह जमिन भएको, पर परसम्म फैलिएको समथर भूमि भएको उपत्यका, दक्षिणतिर देखिने हिमाल पनि थुम्काजस्तो मात्र लाग्ने त्यो दृश्य अति नै मनमोहक थियो । बसको गतिसँगै मैदानमा देखिने घोडा, भेडा, च्याङ्रा, गाइ र चौँरी चरेको मनोहर दुनियाँ सायद यही भोटमा मात्र होला कि भन्ने सोच्दै म निरन्तर झ्यालबाट बाहिर देखिने दृश्य हेरिरहेको थिएँ ।

न्यालमबाट ६५ किमी कटेपछि हामी फेरि लालुङ ला पासको शिखरमा पुग्यौँ । यसको उचाइ ५ हजार ०५० मिटर रहेछ । दक्षिणतिर बादलले च्यादर ओढेको र ठाउँ ठाउँमा च्यादरमा प्वाल परेजस्तो दृश्यमा आकर्षक लाङटाङ हिमालको शृंखला देखिएको थियो । यसरी दिनभरको अनवरत यात्रापछि हामी बेलुका ८ बजेतिर सागा आइपुग्यौँ ।

सागा पनि ब्रह्मपुत्र नदीको किनारामा रहेको सानो सहर थियो । सागा प्रवेश गर्नुपूर्व पनि एउटा सुरक्षा चौकीमा गाइडले सरकारी प्रक्रिया पूरा गरे र हामी होटल डोल्जौ शिखामा बास बस्न पुग्यौँ । आजबाट हाम्रो खाना नेपालबाट खानाको सामग्रीसमेत बोकेर आएका कुक भाइहरूले बनाउने जिम्मा थियो । त्यही होटलमा बेलुका हामी नेपाली खाना खाएर सुत्ने तयारी गर्दा रातको ११ बजेसकेको थियो । यसरी हाम्रो आजसम्मको पर्यटकीय यात्रा भोलिबाट धार्मिक यात्रामा रूपान्तरण हुँदै थियो ।क्रमशः

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro