
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५, बबियामा सात वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ गरिएका व्यक्तिमाथि अनुसन्धान थालिएको छ । घटनामा उनको संलग्नता भए/नभएको विषयमा सूक्ष्म ढंगले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
स्थानीय अक्षय सरदार र उनकी श्रीमती कामविशेषले भारत र माइतीतर्फ गएका बेला बालिका आत्तिकाको शव घरबाट केही पर फेला परेको थियो । छोराछोरी हजुरआमालाई जिम्मा लगाएर सरदार दम्पती घरबाहिर गएका थिए ।
गएको शुक्रबार (असार १३) राति उनी आफ्ना दिदी र भाइसँगै काका अनिष सरदारसित सुतेकी थिइन् । तर, आत्तिकाको शव शनिबार (असार १४) फेला परेको थियो । उनको काका अनिषलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी कोपिला चुँडालले बालिकाको शव बिहान करिब ५ बजे घरदेखि झन्डै १०० मिटर पर दुर्गा आधारभूत विद्यालयछेउको बाटोमा भेटिएको बताइन् । बालिका बेपत्ता भएको जानकारी प्रहरीलाई उनकी हजुरआमाले राति ३ बजेतिर गराएकी थिइन् । त्यसपछि खोजी थालिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्याको आशंका गरिएको छ । अनुहार, घाँटीसहित शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ ।
विराटनगरस्थित कोसी अस्पतालमा फरेन्सिक विशेषज्ञ डा. दीक्षान्त पोखरेलको टोलीले शवको पोस्टमार्टम गरेको छ । प्रारम्भिक रिपोर्ट निष्कर्षमा नपुगेको भन्दै थप परीक्षणका निम्ति नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ ।
बालिकाका काका अनिषले त्यस दिन मदिरा सेवन गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ । घटनास्थल र प्रमाणका आधारमा उनीप्रति शंका बलियो रहेको प्रहरी स्रोतको भनाइ छ । त्यही आधारमा अनुसन्धान अघि बढाइएको छ ।